अमेरिका र चीनबिचको व्यापार युद्ध कम हुने आशा पलायो
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता सकारात्मक रह्यो, जसमा व्यापार सम्झौताको घोषणा भयो।
- चीनले दुर्लभ धातुको निर्यातमा लगाएको प्रतिबन्ध हटाउने र अमेरिकाले ट्यारिफ घटाउने सहमति भयो, जसले व्यापार युद्ध कम गर्ने आशा जगायो।
- फेन्टानिलको तस्करी रोक्न सी सहमत भएपछि ट्रम्पले चीनबाट आउने सामानमाथिको भन्सार महसुल घटाउन माने।
सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच दक्षिण कोरियामा भएको भेटवार्ता सकारात्मक रह्यो । वार्तापछि दुई पक्षले अमेरिकाले चीनबाट आउने सामानमाथि लगाइएका केही ट्यारिफ घटाउन र चीनले दुर्लभ बहुमूल्य धातुको निर्यातमा लगाइएका प्रतिबन्धहरू हटाउने सम्झौताको घोषणा गरेका छन् ।
यसले विश्वका दुई ठूला अर्थतन्त्रबिच चलिरहेको व्यापार युद्धको मार केही भएपनि कम हुने आशा पलाएको छ । सन २०१९ पछि ट्रम्प र सी पहिलो पटक आमने–सामने बसेर कुराकानी गरेका थिए । यो भेटघाट एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक)को शिखर सम्मेलनको छेको पारेर भएको थियो । दुवै पक्षले उत्कृष्ट निर्णय गरेको अनि सुरुमा सम्झौता एक वर्षको लागि भएको बताइएको छ ।
सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर चाँडै हुने ट्रम्पले बताए । आफ्ना प्रारम्भिक टिप्पणीहरूमा सी अलि तौलिएर बोलेका थिए । यो देखेर ट्रम्पले सी कठोर वार्ताकार भएको अनि यो राम्रो कुरा होइन भन्ने टिप्पणी दिएका थिए । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले भेटघाटमा दुई पक्षबिच गहन वार्ता भएको र समस्या समाधान गर्न सहमतिमा पुगिएको सीको भनाइ उद्धृत गर्दै समाचार दिएको थियो । यस क्रममा सीले प्रतिशोधको दुष्चक्रमा पर्नुको सट्टा सहयोगबाट ल्याइने दीर्घकालीन फाइदाहरूमा ध्यान केन्द्रित गर्न दुवै पक्षलाई आह्वान गरेको समाचारमा भनिएको थियो ।
व्यापार युद्धविराम अन्तर्गत चीनले दुर्लभ बहुमूल्य धातुमा आफ्नो नियोजित निर्यात नियन्त्रण खुकुलो बनाउने भएको छ । अमेरिकाले पनि चीनबाट आउने सामानहरूमा शतप्रतिशत ट्यारिफ लगाउने धम्की फिर्ता लिने ट्रम्पले बताएका छन् । शिखर सम्मेलनपछि बहुमूल्य दुर्लभ पृथ्वीको मुद्दा ‘सेटल’ भएको ट्रम्पले बताएका थिए । आफ्नो शब्दकोशबाट केही समयको लागि अब दुर्लभ बहुमूल्य धातु (रियल अर्थ मिनरल्स) भन्ने शब्द गायब हुने आशामा आफू रहेको एयर फोर्स वनमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भनेका थिए ।
इलेक्ट्रोनिक्सदेखि इलेक्ट्रिक कारसम्म अनि स्मार्टफोनदेखि लडाकु विमानहरूसम्मका सामान बनाउन चाहिने यी दुर्लभ बहुमूल्य धातु निर्यात गर्न विश्वका कुनै पनि कम्पनीले लाइसेन्स लिनु पर्ने व्यवस्था चीनले गर्न लागेको थियो । एक हिसाबले भन्दा एकाधिकार नै छ भन्दा पनि भयो । चीनको यो योजनाले विश्वको आपूर्ति शृङ्खलामा खलल उत्पन्न गर्ने थियो । यस्तोमा अमेरिकाले पनि यस्ता धातुमा चीनमाथिको निर्भरता कम गर्न हालैका दिनमा जापानलगायत कयौं देशसँग सम्झौता गरेको थियो ।
अमेरिकामा लागू औषध फेन्टानिलको तस्करी रोक्नका लागि कडा परिश्रम गर्न सी सहमत भएपछि ट्रम्पले चीनबाट आउने सामानमा लगाइएको अतिरिक्त भन्सार महसुल घटाउन माने । अमेरिकामा फेन्टानिलका कारण हुने मृत्यु रोक्न सीले कडा मेहनत गर्नेछन् भन्नेमा आफू विश्वस्त रहेको पनि ट्रम्पले बताए । चिनियाँ सामानमाथिको अन्य महसुल भने औसत ४७ प्रतिशतमा अपरिवर्तित रहने बताइएको छ । अमेरिकी उत्पादनहरूमा चीनको औसत कर ३२ प्रतिशत छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण