पाेस्टमार्टम रिपोर्ट : जेनजी प्रदर्शनमा मारिएका ३४ जनाको कम्मरमाथि गोली प्रहार
सारांश
- भदौ २४ मा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १७ वर्षीया निकिता गौतमको मृत्यु भयो।
- त्रिवि शिक्षण अस्पतालमा जेनजी प्रदर्शनमा मारिएका ३४ जनाको पोस्टमार्टम गर्दा कम्मरमाथि गोली लागेको पुष्टि भयो।
- पोस्टमार्टम रिपोर्ट अनुसार, प्रदर्शनकारीहरूलाई 'हाई भेलोसिटी फायर आर्म'को गोली लागेको र १ मिटरभन्दा टाढाबाट गोली प्रहार गरिएको देखिन्छ।
काठमाडौँ । भदौ २४ मा भएको प्रदर्शनमा १७ वर्षीया निकिता गौतमलाई प्रहरीले प्रहार गरेको गोली लाग्यो ।
प्रहरीको गोलीबाट उनले ज्यान गुमाइन् । चितवनको कालिका–८ घर भएर काठमाडौँ बस्ने गौतमको त्रिवि शिक्षण अस्पतालमा पाेस्टमार्टम गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उनीजस्तै जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका ३४ जनाको पाेस्टमार्टम गरिएको छ ।
गोलीबाट मारिएकाहरू सबैको कम्मरमाथि गोली लागेको पोस्टमार्टमबाट थाहा भएको छ । काठमाडौँको बानेश्वर, कालीमाटी, महाराजगञ्ज र गौशाला क्षेत्रमा गोली प्रहारबाट मारिएका मध्ये ११ जनाको टाउकोमा गोली लागेको भेटिएको छ ।
१६ जनाको छातीमा, ४ जनाको पेटमा र ३ जनाको घाँटीमा गोली लागेको भेटिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले रातोपाटीलाई बताए ।
पाेस्टमार्टम रिपोर्ट अनुसार प्रदर्शनमा मृत्यु भएकाहरू सबैलाई ‘हाई भेलोसिटी फायर आर्म’ को गोली लागेको भेटिएको छ । फरेन्सिक विज्ञ डा. चौधरीले भने, ‘हाई भेलोसिटी फायर आर्मको बुलेटबाट मृत्यु भएको देखिन्छ ।’
उनका अनुसार उच्च गतिको बन्दुक ‘राइफल’को गोली लागेर ३४ जना प्रदर्शनकारीले ज्यान गुमाएका हुन् । हाई भेलोसिटी क्षमताको हतियारबाट प्रतिसेकेन्ड १ हजार मिटरभन्दा धेरै स्पिडमा बुलेट जान्छ । इन्सास र एसएलआर जस्ता हतियार हाई भेलोसिटीमा पर्छन् ।
त्रिवि शिक्षण अस्पतालमा जेनजी प्रदर्शनमा मृत्यु भएका ४९ जनाको पाेस्टमार्टम गरिएको छ । महाराजगञ्ज र कोटेश्वरमा मारिएका ३ जना प्रहरीको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ अर्थात बलियो चोटको कारण भएको पाेस्टमार्टम रिपोर्टमा उल्लेख छ ।
तिनैजनाको टाउको र छातीमा चोट लागेको भेटिएको छ । हायात होटलमा मृत्यु भएकी विदेशी महिलाको मृत्युको कारण पनि ‘ब्लन्ट फोर्स इन्जुरी’बाट भएको पोष्टमार्टमाबाट थाहा भएको छ ।
१ मिटर टाढाबाट प्रहार
फरेन्सिक जाँचमा संलग्न चिकित्सकले जेनजी प्रदर्शनमा गोली लागेर मृत्यु भएकाहरूको ‘वुण्ड ब्यालेष्टिक’ अर्थात व्यालेष्टिक घाउजाँच परीक्षण तथा विश्लेषण गरेका छन् । त्यसबाट शरीरमा गोलीको कस्तो चोट देखियो भन्नेबारे अध्ययन गरिन्छ ।
घाउको प्रकृति हेर्दा सबैलाई हाई भेलोसिटी हतियारले प्रहार गरेको भेटिएको छ । डा. गोपाल चौधरी भन्छन्, ‘सानो हतियारको चोट कुनै शवमा पनि भेटिएन ।’
घाउको प्रकृति विश्लेषण गरेर चिकित्सकहरूले ‘बुलेट फायर फर्म हाई भेलोसिटी’ भन्ने रिपोर्ट दिएका छन् ।
पाेस्टमार्टम रिपोर्ट अनुसार मृतकहरूलाई १ मिटरभन्दा परेको दुरीबाट गोली प्रहार गरेको भेटिएको छ । डा. चौधरी भन्छन्, ‘सबैलाई १ मिटर र त्यसभन्दा पनि परबाट गोली लागेको देखिन्छ ।’
भदौ २३ र २४ मा मृत्यु भएकाहरूको शवको पाेस्टमार्टम २७ गतेबाट परीक्षण सुरु गरिएको थियो । सबैको पाेस्टमार्टम सम्पन्न भएको डा. चौधरीले जानकारी दिए ।
जेनजी प्रदर्शनमा बौद्ध स्थित भाटभटेनीमा मृत भेटिएका ७ जनाको पहिचान खुलेको छैन । ७ वटा शवको पाेस्टमार्टम गर्न सम्भव नभएको डा. चौधरीले बताए ।
उनले भने, ‘७ जनाको शवको डिएनए परीक्षण गर्नुपर्ने अवस्था छ, हामीले ती शवको नमुना प्रहरीको ल्याबमा पठाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण