बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रवासमा नेपाली कलाकार

विदेशमा सांगीतिक कार्यक्रम : आयोजकको कमजोरी कि कलाकारमा समस्या ?

बिहीबार, १३ कात्तिक २०८२, २० : ४९
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • गायिका एलिना चौहानको अभिव्यक्तिले विदेशमा कलाकार र आयोजकबीचको सम्बन्धबारे प्रश्न उठाएको छ।
  • विभिन्न कलाकारहरूले विदेशमा हुने सांगीतिक कार्यक्रमका अनुभवहरू साझा गरेका छन्, कोही सकारात्मक त कोही नकारात्मक।
  • कलाकार र आयोजकबीचको सम्बन्धलाई व्यवस्थित गर्न सम्झौता र व्यावसायिक नैतिकता महत्त्वपूर्ण रहेको चर्चा छ।

काठमाडौँ । अमेरिकामा तीजअघि सुरु भएको सांगीतिक कार्यक्रम सकेर गायिका एलिना चौहानलगायत केही कलाकार तिहारपछि नेपाल फर्किए । 

तर उक्त लामो कार्यक्रमपछि गायिका चौहानले सामाजिक सञ्जाल लगायतमा दिएको अभिव्यक्तिले उनको चर्चा भइरहेको छ, उनको भनाइप्रति सकारात्मक, नकारात्मक दुवै टिप्पणी भइरहेका छन् । जसका कारण उनी यतिबेला सामाजिक सञ्जालमा ट्रेन्डिङमा छिन् । 

अमेरिकाबाट फर्केपछि उनले भनिन्, ‘कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो । एउटा कुरा स्पष्ट भन्न चाहन्छु, आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन । कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ । नराम्रा अनुभवले धेरै कुरा सिकायो–अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् ।’ 

उनको यो भनाइले विदेशमा हुने सांगीतिक कार्यक्रम, आयोजक र कलाकारबिचको सम्बन्धबारे थोरै भए पनि प्रस्ट्याउँछ । 

यो व्यक्तिगत अनुभवमा मात्र सीमित छैन, विदेशमा नेपाली कलाकारले कसरी काम गर्छन्, आयोजकले उनीहरूलाई कसरी व्यवहार गर्छन् र यी दुई पक्षबिचको सम्बन्ध कसरी व्यवस्थित हुनुपर्छ ? भन्ने प्रश्नसमेत उठ्छ । यसको पक्ष तथा विपक्षमा सामाजिक संजालमा ठुलाठुला बहस नै भइरहेका छन् ।

तर चर्चित गायक यम बरालको अनुभव एलिनाको भन्दा केही फरक र सकारात्मक छ । विदेश हुने गरेका सांगीतिक कार्यक्रममा आफूले भने त्यस्तो नमिठो अनुभव गर्नुनपरेको बताउँछन् । भन्छन्, ‘विदेश कार्यक्रमको मेरो एकदमै राम्रो सम्मानित र व्यवस्थित अनुभव छ ।’ उनी विवादको जड कलाकार स्वयंमा पनि हुन सक्ने तर्क राख्छन् ।

yam-baral

कलाकारले विदेश जानुअघि नै आयोजकसँग ‘एग्रिमेन्ट’मार्फत सबै कुरा स्पष्ट पार्नुपर्छ । पारिश्रमिक, कार्यक्रमको संख्या, बस्ने व्यवस्था, भ्रमण अवधिजस्ता कुराहरू नेपालबाटै स्पष्ट पारेर जाँदा गुनासोको सम्भावना कम हुने उनको बुझाइ छ । 

‘एलिनाको सन्दर्भमा आयोजकलाई जानकारी नदिई साइड प्रोग्राम गरेको भन्ने कुरा पनि आएको छ, त्यो हो भने कलाकारको त्रुटि हो,’ गायक बराल थप्छन्, ‘एउटा एग्रिमेन्टमा गएर अर्को प्रोग्राम गरेर उसै मुनाफा कमाउनु भनेको गतल हो ।’ 

यस्तो अवस्थामा आयोजकलाई केस पनि गर्न सकिने बरालको भनाइ छ । ‘यो कलाकारको इमानदारी र व्यावसायिक नैतिकतामाथि प्रश्न पनि हो,’ उनी थप्छन्, ‘कलाकारले आफ्नो अधिकार पाउन लड्नुपर्छ, कर्तव्य र जिम्मेवारीबाट पछि हट्न भने हुँदैन ।’

गायक तथा संगीतकार थानेश्वर गौतमको अनुभव पनि बरालकै जस्तो छ । अमेरिकाबाहेक ४० भन्दा बढी देशमा कार्यक्रम गरिसकेका गौतम अहिलेसम्म आयोजकको तर्फबाट तीतो अनुभव भोग्नुनपरेको बताउँछन् । मान्छेका स्वभावअनुसार स–साना तीतामीठा व्यवहार हुने र त्यसलाई ‘इस्यु’ बनाउन नहुने उनको धारणा छ । 

‘कार्यक्रम जानु अगाडि एग्रिमेन्ट महत्त्व छ,’ गौतम भन्छन्, ‘कलाकारहरूलाई आयोजकले फ्लाइट टिकटदेखि लिएर आउने–जाने, अनि बसाउने सबै व्यवस्था गरेको हुन्छ ।’ कतिपय कलाकारले भने देश हेरेर कम्प्रोमाइज पनि गर्ने गरेका उनको अनुभव छ । यद्यपि लामो कार्यक्रम नगर्न आयोजकलाई सुझाउँछन् ।

thanashor

‘लामो समय सँगै बस्दा एक–अर्काका गल्ती कमजोरीहरू थाहा हुन्छन्, जसले कचकच वा मनमुटाव हुन सक्छ,’ उनको बुझाइ छ । 

गायिका आस्था राउत भने एलिनाको असन्तुष्टिसँग सहमत छिन् । आयोजक र कलाकार दुवै पक्षका कमजोरीहरूलाई उनी औँल्याउँछिन् । यतिसम्म कि, नेपाल र विदेशका आयोजकले आफूलाई ‘पैसा नदिएको’सम्म उनीसँग अनुभव छ ।

सामाजिक सञ्जालमा यस्ता कुरा ल्याउनुभन्दा चुप बस्नु ठिक हुने उनको बुझाइ छ । अस्ट्रेलियामा तीन वटा कार्यक्रम भनी दुई वटा मात्र गराएर आधा पैसा दिएको तीतो अनुभव उनले रातोपाटीसँग सेयर गरिन् । 
‘कलाकार एउटा कन्ट्याक्टमा बाँधिएको मान्छे हो, त्यसैले आयोजकलाई अभिभावकको रूपमा हेर्नुपर्छ,’ राउत भन्छिन्, ‘लामो टुरमा होटलमै बस्नुपर्छ भन्ने हुँदैन, एउटा सुरक्षित ठाउँ भए पुग्छ ।’ 

विदेशमा रहेका नेपालीले गर्दा नै आफूहरूले कार्यक्रम गर्न पाउने भन्ने यथार्थलाई भुल्न नहुने उनी तर्क गछिन् । आफ्ना लागि विदेशका कार्यक्रम पैसाभन्दा पनि सम्बन्ध, पारदर्शिता, भाइचाराले महत्त्वपूर्ण हुने उनले बताइन् । कार्यक्रम अवधिभर अन्य कार्यक्रम गर्दा आयोजकलाई सोध्नुपर्ने आस्थाको धारणा छ ।

विदेशका कार्यक्रम नै किन ?

नेपाली कलाकार विदेश कार्यक्रममा जाने आम्दानीका लागि हो । स्वदेशका दर्जनौँ कार्यक्रमबाट नभएको लाभ विदेशस्थित एकै कार्यक्रमबाट उनीहरूले उठाउन सक्छन् । विदेश कार्यक्रम भएन भने नेपाली कलाकारलाई आर्थिक रूपमा टिक्न नै गाह्रो पर्ने गायक तथा संगीतकार थानेश्वर गौतम बताउँछन् । 

‘हामीले विदेश कार्यक्रममा पहिले हेर्ने भनेको आर्थिक लाभ नै हो,’ गौतम थप्छन्, ‘विदेशमा बस्ने नेपालीले कलाकारलाई सम्मान नै गरेर बोलाउँछन्, हाम्रो आगमनलाई उनीहरूले चाडबाड आएजस्तो मान्छन्, त्यसैले यो आर्थिक र भावनात्मक दुवै हिसाबले महत्त्वपूर्ण छ ।’

radhika-hamal

गायक बराल पनि विदेशका कार्यक्रमहरूबाटै धेरै कलाकारको आर्थिक स्थिति सुदृढ भएको स्विकार्छन् । ‘विदेशमा बसेको नेपालीले हामी कलाकारलाई यति धेरै चान्स र अवसर नदिने भए हाम्रो गाँस बास र कपास सुरक्षित हुँदैन,’ बराल भन्छन्, ‘स्वदेशका कार्यक्रम र गीतसंगीतको आम्दानीले नयाँ सिर्जना गर्न नै पुग्दैन ।’ 

तर नकारात्मक चर्चाले विदेशका आयोजकहरूलाई निरुत्साहित गर्न सक्ने बराल बताउँछन् । जसले गर्दा कलाकारहरूको अवसर घट्ने र आर्थिक रूपमा असुरक्षित हुने सम्भावना रहने उनको भनाइ छ । यसले नेपाली कलाकारिताको समग्र छविमा पनि नकारात्मक असर पार्ने हुँदा यसमा सजग हुन बराल सुझाउँछन् । 

असर कस्तो ?

विदेशमा हुने गरेका कार्यक्रम आम्दानीको मुख्य स्रोत त छँदै छ, कतिपयका लागि यो प्रतिष्ठा र सम्मान पनि हो । जब कार्यक्रमका विवाद र कटु अनुभवहरू बाहिर आउन थाल्छन्, तब यसले सम्पूर्ण क्षेत्रलाई नै सोच्न बाध्य पार्छ । यसले विवादित कलाकारलाई बढी असर पर्छ र त्यस्ता कलाकारहरू आर्थिक रूपमा असुरक्षित हुन पुग्छन् । 

यस विषयमा गायिका राउत थप्छिन्, ‘यसको एउटा फाइदा; कलाकार र आयोजक दुवैलाई सजग गराउँछ, अन्य कलाकारलाई केही असर परे पनि धेरै असर सम्बन्धित कलाकारलाई पर्छ ।’  यत्रो मिहिनेत गर्दा पनि यस्तो अवस्था आउँछ भन्ने कुराले आयोजकको मनोबलसमेत गिर्न सक्ने राउत तर्क गछिन् । ‘मैले धेरै खराब आयोजकहरू भेटेको छु,’ फेरि पनि राउत थप्छिन्, ‘ती समस्यालाई इन–पर्सन समाधान गरेको छु ।’ 

aasta-raut

तर लोक गायिका राधिका हमाल भने यस्ता घटनाले सबै कलाकारलाई असर पर्ने बताउँछिन् । ‘सबै आ–आफ्नो ठाउँमा ठिक हुनुहोला, मर्का मरेकोले समयमै र सम्बन्धित ठाउँमा भन्नुपर्छ; फेसबुकमा, सामाजिक सञ्जालमा बकबक गरेर केही हुँदैन,’ हमाल पनि सुझाउँछिन् । 

आयोजकसँगको विवाद र त्यहाँको कार्यक्रमपछिको अवस्थाबारे सामाजिक सञ्जालमा रिस पोख्दैमा कसैको गरिमा नबढ्ने उनको बुझाइ छ । 

‘आयोजकका पनि धेरै दुःख हुन्छन, विदेश लैजाँदा प्लेन लगायतमा धेरै खर्च छ,’ हमाल भन्छिन्, ‘लाखौँ घाटा बेहोरेर पनि कलाकारलाई माया गर्ने दर्शकसँग भेटाएको हुन्छ ।’ 

दर्शक र कलाकारको मध्यस्तकर्ता आयोजक नै भएकोले उनीहरूको पनि समस्या कलाकारले बुझ्नुपर्ने हमाल सुनाउँछिन् । ‘कलाकारहरू पनि संयमित हुनुपर्छ र साँच्चिकै समस्या परेको हो भने समयमै सम्बन्धित ठाउँमा भन्नुपर्छ,’ उनी भन्छिन् ।  

'ठुला कलाकार घमण्डी हुन्छन्, उनीहरूले खाडीमा जति सम्मान कतै पाउँदैनन'

यता नेपाली कलाकार लगेर दुबईमा कार्यक्रम गर्दै आएका भीम मल्ल ठकुरी भने फरक तर्क गर्छन् । 'नेपालका कलाकार ल्याउँदा खाडीमा कुनै समस्या हुँदैन, सम्झौता गरेर ल्याइन्छ, आयोजकले सम्झौताअनुसार रकममा कुनै भेदभाव गरिँदैन,' ठकुरी भन्छन्, 'कतिपय आयोजकले पैसा दिएको हुँदैन, समस्या त छ, तर नेपाली कलाकारले खाडीमा जति अन्त कतै इज्जत र सम्मान पाउँदैनन् ।'

बरु उनले यस्तो समस्या आउनुमा कलाकारकै कमजोरी रहेको बताउँछन् । 'खाडी र मध्यपूर्वका कार्यक्रममा कलाकारको पनि गल्ती हुन्छ, कतिपय कलाकारले हेप्छन्, युरोप अमेरिका जाँदा पनि त्यही पैसा, खाडी आउँदा पनि त्यही पैसा हुन्छ । युरोप अमेरिकातिर केके न पाइन्छ भनेर एप्लाई गर्छन्,' उनी अवस्थाबारे भन्छन् । 

bhim-thakuri

उनका अनुसार अमेरिका अस्ट्रेलियाजस्ता देशहरूमा कलाकारलाई होटलमा राख्दैनन्, घर अथवा भिलामै राख्छन् । तर आफूहरूले भने खाडीमा एकदमै सम्मान दिने गरेको र होटलमा पनि दुई–दुई वटा रुम दिएर राख्ने गरेको दाबी गरे । 'नेपालबाट ल्याइएका कलाकारलाई एकदमै सम्मान र इज्जत दिन्छौँ, खाडीको जति इज्जत कतै हुँदैन,' उनी बताउँछन् ।

नेपालमा चलेका र ठुला भनिएका धेरैजसो कलाकारलाई दुबई ल्याएको बताएका ठकुरीले धेरै कलाकारमा घमण्ड देखिने गरेको बताए । स्पोन्सरले कलाकारबाट अपेक्षा गरेका हुँदा कलाकारलाई खाडीका देशहरूमा निकै सम्मान मिल्ने उनले बताए । ‘तर कलाकारहरू नै स्पोन्सरहरूकहाँ जान नमान्ने, हामी जाँदैनौँ भन्छन्,’ ठकुरी थप्छन्, ‘चलेका कलारकामा धेरै घमण्ड छ, आयोजक र स्पोन्सरले धेरै खर्च गरेका हुन्छन्, तर उनीहरूले मान्दैनन् ।’ 

rems

युरोपेली देश माल्टास्थित एनआरएनएका अध्यक्ष रेम्स खनाल कलाकारको विषयमा अमेरिकामा  धेरै गुनासो आउने गरेको बताउँछन् । ‘आयोजकसँग कलाकारले राम्ररी एग्रिमेन्ट नगर्नु नै समस्या हो जस्तो लाग्छ । जे भनेर जाने हो, त्यहीअनुसार एग्रिमेन्ट गरेर जानुपर्छ’, उनी भन्छन् । हालै कलाकार एलिना चौहानले भनेजस्तो आयोजकले थर्काउने कार्य नै गरेको हो भने त्यो गलत भएको उनको भनाइ छ ।  तर, यूरोपमा हकमा कुनै समस्या नरहेको उनको दाबी छ । ‘हामीले लगेका कलाकारको हकमा त्यस्तो समस्या भएको छैन । कलाकार लगेपछि कसैले पनि समस्या निम्तिन दिनुहुन्न’, उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप