शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी जनप्रतिनिधि

जेनजी पुस्ताका वडा अध्यक्ष भन्छन्– भ्रष्टाचार नियन्त्रण र प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ

‘कतिपयले त आलोकाँचो ठानेर युवाको अवमूल्यन गर्छन्’
शुक्रबार, १४ कात्तिक २०८२, १८ : ००
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • कालिकोटका वडा अध्यक्ष प्रदीप बोहोराले २५ वर्षको उमेरमै जनप्रतिनिधिको जिम्मेवारी सम्हालेका छन्।
  • उनले जेनजी आन्दोलनका मागहरूलाई समर्थन गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
  • वडा अध्यक्ष बोहोराले आफ्नो वडामा विकासका विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेका छन्, जसमा सडक विस्तार, खानेपानी र बिजुली जडानलाई प्राथमिकता दिइएको छ।

सुर्खेत । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का वडा अध्यक्ष प्रदीप बोहोराले २५ वर्षको उमेरमै जनप्रतिनिधिको जिम्मेवारी सम्हाले । उमेरले जेनजी पुस्ताकै उनी औसतभन्दा चाँडै जनप्रतिनिधिको जिम्मेवारीमा आउँदा समाजले आलोकाँचो ठानेर अवमूल्यन गर्ने गरेको अनुभव सुनाउँछन् ।

बोहोरा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । यद्यपि उनी जेनजी पुस्ताले उठाएको ‘भ्रष्टाचार नियन्त्रण’को मागमा मात्र होइन, जेनजी आन्दोलनमा व्यापक दमन गरेको आरोपमा तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत अनुसन्धान हुनुपर्ने बताउँछन् ।

रातोपाटीसँग कुरा गर्दै उनले जेनजी आन्दोलनभित्र घुसपैठ गरी भएको आगजनी तथा ठुलो जनधनको क्षतिप्रति भने आफ्नो आफ्नो गम्भीर आपत्ति रहेको बताए । उनले भने, ‘जेनजी आन्दोलनले उठाएका जायज माग जस्तैः प्रदेश संरचनाको पुनरवलोकन र पुराना नेताहरूको सत्तामा निरन्तर पकड अन्त्य गर्ने पक्षमा म दृढ छु ।’

जेनजी आन्दोलन विशुद्ध नेपाली युवा पुस्ताले नै शान्तिपूर्ण रूपमा सञ्चालन गरेको वडा अध्यक्ष बोहोरा बताउँछन् । यद्यपि यसमा केही एनजीओ÷आईएनजीओका पात्र जोडिएका कारण शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ । ‘उनीहरूले आन्दोलनको बिचमा घुसपैठ गरी फाइदा उठाउन खोजेको देखिन्छ,’ उनले भने ।

यतिबेला ‘हामी जेनजी हौँ’ भन्दै विभिन्न स्वार्थ समूह सक्रिय भएको जिकिर गर्दै बोहोराले वास्तविक जेनजीहरू अझै पनि ओझेलमै रहेको दाबी गरे । वास्तविक जेनजी युवाहरूले परिवर्तन चाहेका र आफ्ना एजेन्डा सशक्त रूपमा उठाएको उनको भनाइ छ ।

photo (7)

‘जेनजी आन्दोलनका कारण दुई दिनमै भएको सत्ता परिवर्तन सायद इतिहासमै पहिलो हो । यद्यपि, यस आन्दोलनको मूल मर्म र भावनाभन्दा सरकार अलि बाहिर गएको देखिन्छ,’ वडा अध्यक्ष बोहोराले भने, ‘उदाहरणका लागि, भ्रष्टाचारीलाई कारबाही गर्ने एजेन्डा बोकेको आन्दोलनबाट बनेको सरकारले ४०–४२ दिन बितिसक्दा पनि एक जना भ्रष्टाचारी समात्न सकेको छैन । प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख वा प्रधानमन्त्री चुन्ने प्रक्रिया वर्तमान संविधान र आगामी फागुन २१ गतेको निर्वाचनबाट पनि सम्भव देखिँदैन । जेनजी आन्दोलनका यी दुवै माग अहिले थन्किएका छन् ।’

प्रदेश संरचना र जिल्ला समन्वय समितिको खारेजी संविधान संशोधनविना असम्भव रहेको बोहोराले बताए । पछिल्लो चरणका गतिविधिले जेनजी आन्दोलनबाट बनेको यो सरकार जेनजीको भावना र मागअनुसार काम गर्न नसकेको हो कि भन्ने आशंका पैदा गरेको उनको भनाइ छ । भूमि आयोगको खारेजी वा भ्रष्टाचारसम्बन्धी छानबिन आयोगका प्रतिवेदनहरू निष्क्रिय हुनुले सरकार सही दिशामा नरहेको महसुस भएको उनले प्रस्ट पारे ।

धेरैको बुझाइमा जेनजी आन्दोलन काठमाडौँमा मात्र सीमित छ भन्ने छ, तर प्रदेश राजधानीसम्म यसको प्रत्यक्ष प्रभाव छ भने गाउँघर र स्थानीय तहमा पनि अप्रत्यक्ष प्रभाव परेको बोहोराले बताए । ‘केही युवाले यसको नाममा अराजकता फैलाउन खोजे पनि हाम्रो स्थानीय तहमा जेनजी साथीहरूसँग छलफल गर्दा उनीहरूले आम जनसमुदायको सरोकार राख्ने मागहरू, जस्तै यातायातको पहुँच, विद्युतीकरण, सार्वजनिक सुशासन कायम गर्नुपर्ने जस्ता विषय उठाएका छन्,’ उनले भने, ‘हामीले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएका छौँ । यसको अर्थ जेनजी आन्दोलनको प्रभाव गाउँमा पनि फैलिएको छ, प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रूपमा ।’

जेनजी उमेर समूहकै वडा अध्यक्षको नाताले आफ्ना पुस्ताका युवाहरूसँग सहकार्य गरी उनीहरूका माग सम्बोधन गर्ने प्रयास गरेको बोहोराले बताए । ‘जेनजी युवाहरूले सकारात्मक ढंगले काम गर्न सचेत गराएका छन् । उनीहरूले गाउँपालिकामा तालाबन्दीको प्रयास गरे पनि हामीले काम गरेर देखाउने र सहकार्य गर्ने प्रस्ताव राख्यौँ । पछिल्लो समय जेनजी युवाहरूले सरसफाइ र श्रमदान जस्ता रचनात्मक कामहरूमा समेत संलग्नता देखाएका छन्, जुन निकै राम्रो पक्ष हो,’ उनले भने ।

  • आफ्नै दलमा टिकटका लागि संघर्ष

सुरुमा वडा अध्यक्ष पदका लागि उम्मेदवार बन्न उनले आफ्नै पार्टी (नेकपा एमाले)भित्र संघर्ष गरे । पार्टीका कतिपय नेताले आफूलाई उम्मेदवार बनाउन नपत्याएको उनको भनाइ छ ।

‘अन्तिम समयसम्म पनि मलाई टिकट दिइएन,’ उनले भने, ‘म गाउँ कमिटीको सचिव थिएँ तर पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवार भए पनि लड्ने सोचमा थिएँ ।’

मनोनयन दर्ताको अन्तिम समयमा मात्र पार्टीले विश्वास गरेर टिकट दिएको बोहोराको भनाइ छ । उनले भने, ‘नेताहरूले सानो बच्चाजस्तो भनेर टिकट नै दिन मानेका थिएनन् । गाउँ कमिटीको सचिव भइसकेको र सामाजिक गतिविधिमा लागेर धेरथोर जनसमर्थन बटुलिसकेको बुझेर अन्तिम समयमा बल्ल मलाई टिकट दिइयो ।’

४४२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा उनी निर्वाचित भए । समाजमा आफूजस्ता युवालाई हत्तपत्त नपत्याउने खालको प्रवृत्ति रहेको उनको अनुभव छ । उनले भने, ‘आफ्नो काम र समर्पणबाट यो धारणालाई गलत साबित गर्नुपर्छ भनेर लागिरहेको छु ।’

pradep bohora

नागरिकहरू सबै हिसाबले वडासँगै ठोक्किने भए पनि बजेट न्यून हुँदा सबै काम गर्न नसक्ने अवस्था रहेको बोहोराले सुनाए । स्रोत–साधनले भ्याएसम्म आफ्नो वडालाई नमुना बनाएर छाड्ने उनको अठोट छ ।

सडक, खानेपानी, बिजुलीजस्ता आधारभूत पूर्वाधारदेखि लिएर शिक्षा, स्वास्थ्य, सांस्कृतिक संरक्षण र सामाजिक रूपान्तरणसम्मका क्षेत्रमा उनले आफ्नो कार्यकाललाई केन्द्रित गरेका छन् । यद्यपि नमुना बनाउन भने अझै दुई वर्ष मेहनत गर्नुपर्ने उनको भनाइ छ । ‘बाटोघाटो, खानेपानी, सिँचाइ कुलो, पुलपुलेसो तथा धार्मिक रूपमा कुल देउताका मन्दिर निर्माणका माग धेरै आउँछन्,’ उनले भने । वडामा सर्वदलीय बैठक राखेर योजना प्राथमिकीकरण गर्ने उनको भनाइ छ ।

वर्षमा ८÷९ पटक सर्वदलीय बैठक राख्ने गरेको बोहोराले बताए । ५ लाखभन्दा तलका आयोजना टोल विकास संस्थामार्फत् कार्यान्वयन हुने गरेको उनी बताउँछन् ।

बोहोरासँग सानैदेखि सामाजिक क्रियाकलाप र अभियानमा संलग्न भएर काम गरेको अनुभव छ । विद्यालयमा पढ्दै गर्दा उनी तत्कालीन लालु गाउँ विकास समिति बाल क्लब सञ्जालका अध्यक्ष बने । त्यसपछि उनले जिल्ला बाल क्लब सञ्जालको कार्यवाहक अध्यक्षका रूपमा २ वर्ष काम गरे ।

केही दिनअघि एक कार्यक्रमको सिलसिलामा वीरेन्द्रनगरमा भेटिएका उनले बाल क्लबमार्फत विभिन्न सामाजिक रूढीवादी परम्परा, हानिकारक अभ्यासहरू र बालविवाह न्यूनीकरणका लागि सशक्त अभियान सञ्चालन गरेको अनुभवले पनि जनप्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गर्दा धेरै सहज भएको बताए ।

बोहोराले योगी नरहरिनाथको नामबाट काठमाडौँमा गठन गरिएको योगी नरहरिनाथ कला साहित्य प्रतिष्ठानको महासचिव भएरसमेत काम गरे । योगी नरहरिनाथको विचारलाई उनले वडा कार्यालयका भित्तामा लेखाएर प्रचार गरिरहेका छन् । ‘वडामा सेवा लिन आउने नागरिकले ती विचार वाणीबाट केही प्रेरणा लिन सकुन् भन्ने उद्देश्य हो,’ उनले भने ।

वडा कार्यालयबाट प्रदान गरिने सिफारिस लेख्ने, माइन्युट तयार पार्नेजस्ता कामसमेत आफैँले गर्दै आएको बोहोरा बताउँछन् ।

  • विकासको नयाँ मोडल

बोहोराले गाउँपालिकामै पहिलोपटक आफ्नो वडामा टोल विकास संस्था गठन गरी विकासको नयाँ मोडल कार्यान्वयनमा ल्याएका छन् ।

वडाको विकासका लागि नयाँ रणनीतिसहित वडाभित्र ८ वटा टोल विभाजन गरिएको उनले बताए । यसले विकास निर्माणका कार्यमा स्थानीय जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरी दिगो विकासको आधार तयार पारेको उनी बताउँछन् ।

वडामा अनलाइन नागरिकता सिफारिस र अनलाइन राजस्व सङ्कलन प्रणाली लागु गरी सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउने काम भएको बोहोराले बताए ।

टोल विकास संस्थाको क्षमता अभिवृद्धि गरेर संस्थागत विकास गरिने उनले बताए । ‘यही मार्फत् बाल विवाह निषेधित वडा यो वर्ष घोषणा हुँदैछ,’ उनले भने, ‘पूर्ण सरसफाइ उन्मुख वडा यसभन्दा अघि नै घोषणा भइसकेको छ ।’

photo (3)

गाउँपालिकामा झन्डै २४ हजार जनसंख्यामध्ये सबैभन्दा धेरै (५१ सय) जनसंख्या भएको वडा ९ नम्बर (बोहोराकै) हो, जहाँ ७४२ घरधुरी छन् । अहिले उनले आफ्नो वडाको भिलेज प्रोफाइल बनाइरहेका छन् । त्यो बनेपछि त्यसभित्रका तथ्य र तथ्यांकका आधारमा आगामी रणनीति बनाउने र सोही रणनीतिका आधारमा काम गर्ने उनको योजना छ ।

उनी दैनिक कामको विवरण सार्वजनिक गर्छन् । ‘यसले सुशासन र पारदर्शिताको नयाँ मापदण्ड स्थापित गर्छ,’ उनले भने, ‘जनताले जनप्रतिनिधिको गतिविधि पनि सजिलै बुझ्न पाउँछन् ।’

बोहोरा निर्वाचित भएर आउँदासम्म वडा कार्यालयको आफ्नै भवन थिएन । पुरानो एउटा कृषि सङ्कलन केन्द्रको भवनबाट सेवा प्रवाह भइरहेको थियो । ‘डेढ वर्षसम्म त्यही भवनबाट सेवा प्रवाह गर्दा निकै कठिन थियो,’ उनले भने, ‘पछि आफ्नै वडा कार्यालय बन्यो । आफ्नै कार्यालय भवन हुँदा सेवा प्रवाहमा धेरै सहज भएको छ ।’ प्रदेश सरकारको ५० लाख लागतमा उक्त भवन बनेको हो ।

बोहोरा निर्वाचित हुनुअघि वडामा जम्मा १.५० किलोमिटर मात्रै सडक सञ्जाल थियो । गाडी त गुडेकै थिएनन् । त्यो सडक पनि पहिला नै कर्णाली रोजगार कार्यक्रमबाट खनिएको थियो । बोहोराले भने, ‘म निर्वाचित भएर आउँदासम्म हाम्रो वडामा डोजर प्रवेश गरेको थिएन ।’

निर्वाचित भएको ३ वर्षभित्र वडामा सडक सञ्जाल निकै विस्तार भएको उनले सुनाए । उनका अनुसार ९ वटा सामुदायिक विद्यालयलाई सडकले छोएको छ । यस्तै, स्वास्थ्य संस्था र वडा कार्यालय पनि सडक सञ्जालसँग जोडिएका छन् ।

विशेषगरी सामाजिक गतिविधिलाई पहिलो प्राथमिकतामा राख्दै आएको बोहोराले बताए । शान्ति र सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

बोहोराका अनुसार उनी निर्वाचित हुँदा वडाका करिब ६० प्रतिशत घरमा मात्र धारा जडान थिए । सङ्घ, प्रदेश तथा विभिन्न साझेदारी संस्थाहरूसँगको समन्वयमा अहिले ९५ प्रतिशत घरमा धारा जडान गरिएको छ । दुई वर्षभित्र सम्पूर्ण घरमा खानेपानी पु¥याउने योजनासहित काम भइरहेको उनले सुनाए ।

यस्तै ४० प्रतिशत घरमा बिजुली बलेको छ । बाँकी घरमा पनि विद्युतीकरण विस्तारका लागि टेन्डर प्रक्रियामा रहेको उनले बताए । आफ्नो कार्यकालभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

  • ‘राजनीति पेसा होइन, सेवा हो’

बोहोराको व्यक्तिगत जीवन भने कष्टकर छ । विवाह गरेको डेढ वर्षमै उनकी पत्नी उर्मिला बिष्टलाई ब्रेन ट्युमर भयो । उनले श्रीमतीको उपचारका लागि निकै सङ्घर्ष गरे ।

बोहोराका अनुसार नेपालका विभिन्न ६ वटा अस्पताल र भारतको प्रख्यात मेदान्त मेडिसिटी अस्पतालमा समेत उपचार गराउँदा करिब ३० लाख रुपैयाँ खर्च भयो, जुन स्वदेश तथा विदेशबाट प्राप्त सहयोगबाट जुटेको थियो ।

‘दुर्भाग्यवस, सबै प्रयासका बाबजुद उर्मिलाको रोग निको हुन सकेन,’ उनले भने, ‘उर्मिला पूर्ण रूपमा दृष्टिविहीन भएकी छन् । उनको शरीरको बायाँ भाग चल्न छोडेको छ ।’

बिरामी पत्नीकै सहमतिमा उनले साली नाता पर्ने अर्की महिलासँग विवाह गरे, जसबाट हाल एक छोराको जन्म भयो ।

बोहोराले भने, ‘जस्तोसुकै परिस्थितिमा पनि सङ्घर्ष गर्नुपर्ने रहेछ, मैले राजनीतिलाई पेसा नभई सेवाका रूपमा लिन्छु ।’ उनी गाउँपालिकाको प्रवक्तासमेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप