शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

शनिबार, १५ कात्तिक २०८२, ०३ : ४७
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • भोजपुरका सरमान गिरी व्यावसायिक चिया खेतीतर्फ आकर्षित भएका छन् र उनले ८० रोपनीमा खेती विस्तार गरेका छन्।
  • गिरीले २०७६ सालमा चिया उद्योग सञ्चालनमा ल्याए, जसले ग्रीन टि, कालो चिया र सिल्भर चिया उत्पादन गर्छ।
  • उनले कोशी प्रदेश सरकारबाट अनुदान प्राप्त गरेका छन् र वार्षिक २५ देखि ३० लाख आम्दानी गर्ने लक्ष्य राखेका छन्।

भोजपुर । भोजपुरमा अर्ग्यानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बनेका छन्  । 

उनले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गरेका छन् । विगतमा हातैले प्रशोधन गर्दै आउनु भएका उनले विसं २०७६ बाट गरस चिया उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लामा चियाको क्षेत्रमा यो पहिलो उद्योग हो । अर्ग्यानिक चिया उत्पादन गर्ने लक्ष्यले व्यावसायिक खेतीमा जुटेको उनको भनाइ छ ।

उद्योगबाट हरियो चिया (ग्रीन टि), कालो चिया र सिल्भर चिया उत्पादन गदै आएको उनले बताए । उद्योगले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्क प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ ।

व्यवसायी गिरीले उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट रु १७ लाख ५० हजार अनुदान प्राप्त गरेका छन् । उत्पादित चियाले उचित मूल्य प्राप्त गरेमा वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी लिने कुनै समस्या नरहेको उनको भनाइ छ ।

हाल ८० रोपनीमा फैलिएको खेतीलाई अझ विस्तार गर्ने तयारी भइरहेको छ । साथै, चिया बगान अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै गिरीले बगान परिसरभित्र ‘टेम्के फन पार्क तथा रिसोर्ट’समेत सञ्चालन गरेका छन् ।

व्यवसायी गिरीका अनुसार बगानमा महिनामा चार पटकसम्म चिया टिप्न सकिन्छ । उनले नर्सरी उत्पादनदेखि रोपण र प्रशोधनसम्मका सबै चरण आफैँ गर्दै आएका छन् । चिया खेती विस्तार गर्न इच्छुक अन्य किसानलाई उनले नियमित सल्लाह र प्राविधिक मार्गदर्शन दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप