मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको सफल उद्धार

शनिबार, १५ कात्तिक २०८२, १० : ०४
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • सशस्त्र प्रहरीले हिमपातका कारण तिलिचो बेस क्याम्पमा फसेका ११ जना पर्यटकको उद्धार गरेको छ।
  • उद्धार गरिएका पर्यटकहरूमा घाइते, बालक र बिरामीहरू थिए, जसको अक्सिजनको मात्रा कम थियो।
  • सशस्त्र प्रहरीको माउन्टेन रेस्क्यू टिमले विशेष उपकरण प्रयोग गरी ९ घण्टाको यात्रापछि उद्धार गरेको हो।

काठमाडौँ । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यू टिमले सफलतापूर्वक उद्धार गरेको छ । 

सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार गरिएका पर्यटकहरूमा एकजना खुट्टामा चोट लागेका व्यक्ति, एकजना ९ वर्षीय बालक, एकजना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन् ।

सबैको अक्सिजन लेभल कम रहेको उनले बताए । उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै ९ घण्टाको यात्रापछि सम्पन्न भएको हो । पर्वतीय उद्धार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ । पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उक्त शिक्षालयमा यो आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू तालिम सञ्चालन गरिएको थियो । यस तालिमका क्रममा पर्वतीय उद्धार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले असाेज महिनाको अन्तिम सातामा चुलु फार इस्ट (६,०३८ मिटर) को सफल आरोहण गरेका थिए ।

यसले सशस्त्र प्रहरी बल्को माउन्टेन रेस्क्यूको क्षमता अभिवृद्धि गरेको छ र भविष्यमा यस्ता घटनाहरूमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको थापाले बताए । 

सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिने समेत जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप