शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

जेनजी विद्रोह किन भयो ? अबको बाटो के हो?

शनिबार, १५ कात्तिक २०८२, २२ : १२
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • जेनजी विद्रोहका प्रतिनिधि र नागरिक अगुवाहरूबीच आगामी राजनीतिक निकासबारे अन्तर्क्रिया सम्पन्न भयो।
  • विभिन्न विश्लेषकहरूले जेनजी विद्रोहको कारण भ्रष्टाचार, कुशासन र नातावादलाई औंल्याएका छन्।
  • जेनजी नेताहरूले विद्रोहबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न सरकारसँग सम्झौताको आवश्यकता औंल्याए।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । जेनजी विद्रोहबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्ने र आगामी राजनीतिक निकासका सम्बन्धमा जेनजीका प्रतिनिधि तथा नागरिक अगुवाहरूबिच अन्तर्क्रिया सम्पन्न भएको छ। 'राजनीतिक संवाद थालनी' को आयोजनामा शनिबार काठमाडौँमा भएको कार्यक्रममा सहभागीहरूले जेनजी विद्रोह र त्यसपछिको बाटोबारे छलफल गरेका हुन्।

कार्यक्रममा विश्लेषक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले विगत ३५ वर्षदेखि दुई ठुला दल कांग्रेस र एमालेले तथा पछिल्लो २० वर्षदेखि विराट आन्दोलनबाट आएको माओवादी मिसिएर शासन चलाउँदै आएकाले समस्या देखिएको बताए। उनका अनुसार जेनजी विद्रोह हुनुका मुख्य कारणहरू भ्रष्टाचार, कुशासन र नातावाद हुन्।

WhatsApp Image 2025-11-01 at 21.39.23_3440fc38

‘समाजमा ज्वालामुखीको आगो बढिरहेकै थियो। युवा पुस्ताको समवेदना, आकाङ्क्षाको कुनै प्रवाह नगरीकन सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएकाले विस्फोट भयो। अहिले नभएको भए छ महिनापछि हुन्थ्यो। खड्गप्रसादले अहिले नै विस्फोट गराएकोमा इतिहासप्रति कृतज्ञ हुनुपर्छ,’ उनले भने।

प्रमुख तीन दलले आफ्ना नालायकी ढाकछोप गर्न जेनजी विद्रोहलाई विदेशीको षड्यन्त्र भएको भन्ने गरेको र अहिलेसम्म उनीहरूले कमजोरी स्वीकार नगरेकोमा उनले आक्रोश पोखे। संग्रौलाले भदौ २३ मा जेनजीमाथि चरम दमन भएपछि आक्रोशमा भोलिपल्ट विध्वंस मच्चिएको जिकिर गरे। 

जेनजी विद्रोहपछिको सङ्कट मोचन गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई बलियो बनाएर जानुको विकल्प नभएको उनको भनाइ छ। फागुन २१ मा निर्वाचन नभए फेरि राजावादी बलियो भएर आउन सक्नेतर्फ उनले सचेत गराए। अहिलेको समयको विवेकको नेतृत्व जेनजी नै भएकाले सम्पूर्ण भ्रम चिर्न उसैले पहल गर्नुपर्ने संग्रौलाले बताए।

विश्लेषक झलक सुवेदीले जेनजी विद्रोहले राजनीतिक दलहरूलाई धक्का दिए पनि उनीहरू रूपान्तरण हुनेमा विश्वास नलागेको बताए। सुवेदीले राजनीतिक सुधारका दुईवटा बाटो देखाए। उनले भने, ‘पहिलो पार्टीभित्रै छिरेर पुनर्संरचना गर्न सकिन्छ। त्यसका लागि थोरै पेशेवर कार्यकर्ता राखेर मोडर्न खालको पार्टी निर्माण गर्न सकिन्छ। दोस्रो जेनजी विद्रोहबाट समाज परिवर्तन भयो। त्यसपछि विभिन्न स्वार्थ समूहले खेल्न खोज्छन्। विद्रोहलाई खलनायकीकरण गर्न खोजिरहेका छन्। पार्टीको भूमिकालाई पनि खुम्च्याउन खोजिरहेका छन्। त्यसमा सचेत रहनुपर्छ। नयाँ अध्यायबाट पार्टी निर्माण गर्न सकिन्छ।’

अर्का विश्लेषक डा. भाष्कर गौतमले पुराना दलहरू भारदारी सभा जसरी अगाडि बढेकाले जेनजी विद्रोह भएको बताए। राजनीतिक दलहरू सिन्डिकेट प्रणालीबाट मुक्त भएर नेतृत्व हस्तान्तरण हुनुपर्नेमा उनले जोड दिए। ‘पुराना दलहरू भारदारी जसरी अगाडि बढे। पछिल्लो पुस्ता पनि पुरानै रोगको संस्करणमा अगाडि बढेको छ। सिन्डिकेटबाट मुक्त हुनुपर्छ। नेतृत्व हस्तान्तरण गर्नुपर्छ,’ उनले भने।

WhatsApp Image 2025-11-01 at 21.39.19_cd4d5796

विश्लेषक युग पाठकले २०६२/६३ पछि स्थायी राज्य ठानेका काठमाडौँवासीलाई संविधानसभाको संरचना मन नपरेको आरोप लगाए। गाउँगाउँका उत्पीडित व्यक्तिहरूले शासन गरेको मन नपराउनेहरूले पहिलेदेखि नै विद्रोहको तयारी गरेको पाठकको भनाइ छ। पछिल्लो समय कांग्रेस, एमाले र माओवादीमा वैचारिक समस्या देखिएकाले जेनजी विद्रोह भएको उनले जिकिर गरे। 

‘समाजको एउटा तप्कालाई भुइँमान्छेले शासन गरेको मन परेको थिएन। पछिल्लो समय कांग्रेस, एमाले र माओवादीमा वैचारिक समस्या देखियो। जहाँबाट उनीहरूले वैचारिक लिग छोड्यो, त्यहिँबाट जेनजी विद्रोह भयो,’ उनले भने। पाठकले जेनजी आन्दोलनलाई वैधानिकता दिनुपर्ने आवश्यकता रहेको धारणा राखे।

कार्यक्रममा जेनजी एलाइन्सका प्रतिनिधिहरू, विभिन्न वामपन्थी तथा प्रगतिशील युवाहरूले जेनजी विद्रोहबाट प्राप्त उपलब्धि र त्यसको संरक्षणबारे आ-आफ्ना धारणा राखेका थिए।

अखिल क्रान्तिकारीका पूर्व नेता प्रतीक कार्कीले जेनजी विद्रोहलाई नायक र खलनायक बनाएर प्राप्त उपलब्धिलाई मिल्काउन खोजिएकोतर्फ सचेत रहन आग्रह गरे। राजनीतिक दलहरूमा केन्द्रीकृत नेतृत्व प्रणालीका कारण समस्या देखिएको उनले बताए। कार्कीले भने, ‘राजनीतिक दलहरू केन्द्रीकृत भयो। नेतृत्वले भनेपछि सकियो। सामूहिक नेतृत्वसहित नयाँ संस्थागत पार्टी आवश्यक छ।’

प्रस्तावित राष्ट्रिय जेनजी पार्टीका संयोजक किरण विकले जहाँ जहाँ राज्यका निकायमा नागरिक ठोकिएका छन्, त्यहाँ त्यहाँ प्रतिरोध भएको स्पष्ट पारे। पुराना दलहरूले युवाहरूको भावना बुझेर काम गरेको भए त्यस दिन विद्रोह नै नहुने विकको तर्क छ। उनले कुनै एक उमेर समूह नभई सबैको सहमतिमा अगाडि बढ्नुपर्नेमा जोड दिए।

जेनजी नेता रिजन रानाले जेनजी विद्रोहपछि ढुक्क हुन नसकेको बताए। अहिले जेनजीले नै बनाएको सरकार भए पनि निर्वाचनपछि शक्ति हस्तान्तरण कसरी हुन्छ भन्नेमा आफूहरू ढुक्क हुन नसकेको धारणा राखे। ‘अहिले त हामीले नै बनाएको सरकार छ। तर प्रधानमन्त्रीलाई विद्रोहको उपलब्धि रक्षा गर्नभन्दा पनि आफ्नो 'इमेज ड्यामेज' हुन्छ कि भन्नेतर्फ चिन्तित देखिन्छ,’ उनले भने, ‘निर्वाचनपछि शक्ति हस्तान्तरण कसको हातमा हुन्छ भन्ने कुनै निश्चित छैन। त्यसपछि सत्तामा पुरानै दल फर्किएर आएमा के हुन्छ? सबैले भुईँ तहबाट नै सोच्नुपर्छ।’

कार्यक्रममा जेनजीका अन्य नेताहरू संसार अहमद, मनिका, नवीन तिवारी, अनुषा खनाल लगायतले जेनजी विद्रोहलाई संस्थागत रूपमा संरक्षण गर्ने गरी सरकारसँग सम्झौता गर्न लागिएको जानकारी दिए। जेनजी र सरकारबिच वैधानिक सम्झौता नभएमा प्राप्त उपलब्धि नै समाप्त हुने उनीहरूको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप