आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मैथिली साहित्य समाज जनकपुरधामको १४१औँ मासिक कवि गोष्ठी सम्पन्न

शनिबार, १५ कात्तिक २०८२, २३ : १४
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • मैथिली साहित्य समाज जनकपुरधामले १४१औँ मासिक कवि गोष्ठी जनकपुरधाममा सम्पन्न गर्यो।
  • गोष्ठीमा कवि देबिकान्त मिश्र, विजय दत्त लगायतका स्रष्टाहरूले रचना वाचन गरे, जसमा सामाजिक विषयवस्तु समेटिएका थिए।
  • कार्यक्रममा प्रमुख अतिथि र अध्यक्षले मैथिली साहित्यको महत्वबारे बोले, र आगामी महिना १४२औँ गोष्ठी हुने घोषणा गरियो।

जनकपुरधाम । मिथिलाको समृद्ध साहित्यिक परम्परालाई निरन्तरता दिँदै मैथिली साहित्य समाज जनकपुरधामले आफ्नो १४१औँ मासिक कवि गोष्ठी भव्य रूपमा सम्पन्न गरेको छ। गोष्ठी मिथिला नाट्य कला परिषद् जनकपुरधामको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता कवि सितल झाले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ कवि, गीतकार तथा ज्योतिषविद् कालीकान्त झा तिर्सित रहेका थिए। कार्यक्रममा मैथिली साहित्यका अनुभवी र नवोदित दुवै कविहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

गोष्ठीमा कवि देबिकान्त मिश्र, विजय दत्त, काशीकान्त झा, कविता पोखरेल, किरण झा लगायत दर्जनौँ स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गरे। प्रस्तुत कविताहरूमा सामाजिक चेतना, वर्तमान राजनीतिक अवस्था, महिला सशक्तीकरण, पर्यावरण संरक्षण तथा मैथिली संस्कृतिको पहिचानजस्ता समसामयिक विषयवस्तुहरू समेटिएका थिए।

प्रमुख अतिथि झा तिर्सितले आफ्नो मन्तव्यमा भने, ‘मैथिली भाषा र साहित्यको गौरवमय परम्परालाई नयाँ पुस्ताले निरन्तरता दिइरहनु गर्वको विषय हो। कविहरूको कलम समाज परिवर्तनको शक्तिशाली माध्यम बन्न सक्छ।’

त्यस्तै, अध्यक्ष सितल झाले निरन्तर १४१ महिनासम्म अवरोधबिना गोष्ठी सञ्चालन गर्न पाएकोमा मैथिली साहित्य समाजका अध्यक्ष काशीकान्त झालाई धन्यवाद ज्ञापन गर्दै भने, ‘यो गोष्ठी केवल कविता वाचनको कार्यक्रम होइन, यो मिथिलाको साहित्यिक आन्दोलनको निरन्तर यात्रा हो।

कार्यक्रममा उपस्थित दर्शक र स्रष्टाहरूले कविहरूका रचनामा उत्साहजनक प्रतिक्रिया जनाए। गोष्ठीको अन्त्यमा समाजका पदाधिकारीहरूले सहभागी सबै कविहरूलाई धन्यवाद ज्ञापन गर्दै १४२औँ मासिक कवि गोष्ठी आगामी महिनामा आयोजना गर्ने घोषणा गरे।

मैथिली साहित्य समाजद्वारा आयोजना हुने यस्ता मासिक गोष्ठीहरूले मिथिलाञ्चलमा साहित्यिक चेतना र सांस्कृतिक एकता सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप