बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मुख्यमन्त्रीसँगको अन्तर्वार्ता

'हतियार लुटिने र चौकी जलाइने अवस्थामा कसरी चुनाव हुन्छ भनेर प्रधानमन्त्रीलाई सोध्यौँ'

आइतबार, १६ कात्तिक २०८२, २१ : ०२
आइतबार, १६ कात्तिक २०८२

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलो पटक सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई बालुवाटारमा बोलाएर छलफल गरिन् । उक्त छलफलमा प्रदेशका समस्या, संघीय सरकारसँगको समन्वय र आसन्न निर्वाचनका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । बैठक सकिएलगत्तै हामीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफलका मुख्य विषयवस्तु के हुन् र प्रधानमन्त्रीले के भन्नुभयो भन्ने विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः 

प्रधानमन्त्रीज्यूसँगको आजको बैठकमा के–के कुराहरू भए ?

– आज हामी सातै प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री, अर्थमन्त्री र सञ्चारमन्त्री बसेर बालुवाटारमा मिटिङ भयो । चार बजे भनिएको थियो, पौने पाँचबाट सुरु भयो । त्यसमा पहिला हामीले आफ्ना कुराहरू राख्यौँ । 

hikmat-photo2

तपाईंहरूले के–के कुरा राख्नुभयो ? 

– हामीले मुख्यतयाः प्रदेश संरचनाप्रतिको तपाईंहरूको धारणा र दृष्टिकोण स्पष्ट भएन, त्यो स्पष्ट हुनुपर्‍यो भन्यौं । प्रदेश सरकार संविधान र कानुनअनुसार बनेको सरकार हो, यो अलगै सरकार हो । यहाँबाट पठाइएका कतिपय परिपत्रले हाम्रा कानुनहरूलाई ओभरल्याप गर्ने गरी पत्रहरू पठाएका छन् । यी पत्रहरूको बारेमा तपाईंहरूको धारणा के हो भन्दाखेरि उहाँहरूले ‘अस्पष्टता भएको भए स्पष्ट पार्छौं’ भन्नुभयो । 

उहाँहरूले भन्नुभयो, ‘यी तीन तह हुन्, हाम्रो युनिट होइन । केही कुराहरू अस्पष्ट भएका छन् भने प्रदेश कानुनअनुसार गर्ने कुरामा तपाईंहरूलाई हामीले रोक्न मिल्दैन, हामी रोक्दैनौं । त्यो कुरा स्पष्ट पारेर हामी पत्र पठाउँछौं ।’ त्यसैले, जुन पहिलाको खर्च कटौतीका कुराहरू थिए, त्यसमा खर्च कटौती हाम्रो पनि मुद्दा हो, हामी पनि गर्छौं, तर हाम्रा कानुनहरूमा तपाईंहरूको ओभरल्याप हुनुभएन, स्थानीय तहका कानुनमा तपाईंहरूको ओभरल्याप हुनुभएन भन्ने कुरा गर्दा त्यसमा उहाँहरू सहमत हुनुभयो र स्पष्ट पारेर पठाउँछौँ भन्नुभयो । 

बैठकमा निर्वाचनको विषयले कत्तिको प्राथमिकता पायो ?

– दोस्रो मुद्दा निर्वाचनकै थियो । समग्रमा निर्वाचनमा बढी केन्द्रित भइयो । उहाँहरूले निर्वाचनको कुरा राख्नुभयो । हामीले भन्यौँ, ‘निर्वाचन शान्तिपूर्ण ढंगले हुन्छ, भयरहित ढंगले हुन्छ, विश्वासिलो ढंगले हुन्छ र सुरक्षाको पूर्ण ग्यारेन्टीसहित हुन्छ भने निर्वाचनबाट दलहरू भाग्दैनन्, भाग्नु हुँदैन, हामी भाग्दैनौँ ।’ 

तर अहिले नेपालमा जुन घटना भदौ २३–२४ गते भयो, त्यो घटना नेपालको इतिहासमा यतिको विध्वंसात्मक, यतिको ठुलो दुर्घटना कहिल्यै भएको थिएन । सुरक्षाकर्मीहरूका हतियार लुटिएका छन्, ड्रेस लुटिएका छन्, मारिएका छन् । त्यसपछि चौकीहरूमा आगजनी गरिएका छन् । गाडीहरू, भेइकलहरू जलाइएका छन् । यो अवस्थामा भयरहित र शान्तिपूर्ण चुनाव हुने अवस्था छैन । अझ कतिपय साना हतियारका कारोबारीहरूले हतियारको कारोबार गरिरहेका सूचना पनि प्राप्त भएको छ । त्यसैले, भयरहित र सुरक्षित चुनाव गर्ने, शान्तिपूर्ण चुनाव गर्ने परिस्थिति नबन्दासम्म दलहरू चुनावमा जान सक्दैनन् । तपाईंले त्यो वातावरण बनाउनुस्, अनि मात्रै चुनाव हुन सक्छ, होइन भने अहिलेको अवस्थामा चुनाव हुने स्थिति छैन भन्यौँ हामीले । 

यहाँहरूको कुरा सुनिसकेपछि प्रधानमन्त्रीको प्रतिक्रिया के थियो ?

– उहाँले भन्नुभयो, ‘म सबै परिस्थिति बनाउँछु, कुरा ठीक हो तपाईंहरूले भनेको ।’ चौकीहरू पनि बन्ने क्रममा छन्, जनताले बनाइदिइरहेका छन्, कतिपय बनाइसके । अब १० प्रतिशत बाँकी छ । लुटिएका हतियारहरू बरामद गर्न र लुकेर बसेकाहरूलाई खोज्न हामी कारबाही गर्छौं, मान्छेहरू पक्रन्छौं, थुन्छौं, कानुनी कारबाही गर्छौं । त्यसपछि चुनावका लागि चाहिने अरू लजिस्टिक कुराहरू हामी जुटाउँछौं । तपाईंहरू दलहरू चुनावमा आउने स्थिति बनाइदिनुपर्‍यो, तपाईंहरूले सहयोग गर्नुपर्‍यो भन्नुभयो । हामीले भन्यौं, ‘यी सबै कुरा भयो भने दलहरू आफैं चुनावमा आइहाल्छन्, कन्भिन्स हुन्छन् । ८४ को चुनाव ८२ मा गर्ने मात्रै उद्देश्य राख्नुभएन, चुनाव गर्ने वातावरण बनाउनुपर्‍यो ।’ त्यसमा उहाँले ‘म यसको लागि पहल–कदमी गरिरहेको छु, गर्छु, तपाईंहरूलाई कमिटमेन्ट गरेँ’ भन्नुभयो । 

कोशी प्रदेशको मुख्यमन्त्रीको हिसाबले प्रदेशसँग सम्बन्धित कुनै विशेष कुराहरू पनि राख्नुभयो कि ?

– कोशी प्रदेशको कुरा के भयो भने, हामीले जस्तो अस्तिको बाढी र अहिले भर्खरै परेको पानीले भएको धानबालीको क्षति, बालीनालीको क्षतिको बारेमा कुरा उठायौँ । हामीले जनतालाई राहत दिनुपर्छ, चाहियो भन्दाखेरि अर्थमन्त्रीज्यूले त्यसमा ‘हामी यसको लागि व्यवस्था गर्न खोज्दैछौँ, तपाईंहरूसँग समन्वय गरेर गर्छौँ’ भन्नुभयो । अर्को, अस्ति इलामको बाढीपहिरोमा मान्छे मरे, त्यसको पुनर्निर्माणलगायत काममा हामी ध्यान दिइरहेका छौँ । प्रदेश सरकारले पठाएका योजनाहरूमा सहकार्य गरेर हामी अघि बढ्छौँ । मेचीमा ध्वस्त भएका संरचना बनाउने कुरामा हाम्रो सहयोग हुन्छ भनेर अर्थमन्त्रीले कमिटमेन्ट गर्नुभयो । त्यसमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई जिम्मा लगाउनुभयो । त्यो ढंगले कोशीका कुरा पनि मैले उठाएँ । अरू अब कर्मचारी व्यवस्थापन आदि–इत्यादिका कुरा थिए, ती कुराहरूको बारेमा जे चाहिने हो, संघीय सरकारले गर्ने कुरामा हामी गर्छौं भन्नुभयो । त्यति सैद्धान्तिक प्रतिबद्धता मात्रै लियौँ । 

hikmat-photo3

समग्रमा, संघीय सरकारका मन्त्रीहरूको मनोविज्ञान कस्तो पाउनुभयो ? उहाँहरू राजनीतिक भन्दा पनि प्राविधिक जस्तो भूमिकामा देखिनुभयो कि ? 

– हो, उहाँहरूले भन्नुभयो, ‘हामी भनेको राजनीतिक मान्छे होइनौं । हाम्रो उद्देश्य चुनाव गराउने मात्रै हो । चुनाव गराउनेसम्मका दिनदिनैका काम हामीले गर्नुपर्छ । यस कुरामा तपाईंहरूको साथ–सहयोग चाहियो,’ भनेर हामीसित आग्रह गर्नुभयो । हामीले पनि भन्यौं, ‘गरिने संवैधानिक, कानुनी प्रक्रियाअनुसार गरिने सबै कामहरूमा हाम्रो सहयोग हुन्छ । चुनावबाट हामी डराउने, भाग्ने कुरा होइन । तर चुनावको वातावरण बनाउने काम संघीय सरकार र तपाईंहरूको दायित्व हो, बनाउनुस् । दलहरूसितको छलफल, निरन्तर संवाद र छलफल होस् ।’

उहाँहरूको आत्मविश्वास, अर्थात् ‘कन्फिडेन्स लेभल’ चाहिँ कस्तो पाउनुभयो ? 

– त्यो कुरा त उहाँहरूले भन्नुभयो, तर यसो हेर्दाखेरी तयारी छैन । उहाँहरूको मनोबलचाहिँ ‘हामी गर्छौं, तर हामीलाई तपाईंहरूको साथ हुनुपर्‍यो’ भन्ने कुरामा बढी केन्द्रित थियो ।

अर्थात्, तपाईंहरू दलहरूबाहेक हामीले मात्रै सक्दैनौँ भन्ने उहाँहरूको आशय थियो ? 

– हो, दलहरूको हो चुनाव भनेको । दलहरू सहभागी नभई हुँदैन । मैले आफैंले भनेको थिएँ, ‘नेपालको संविधानले दलको बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री र मुख्यमन्त्री हुन्छ भनेको छ । अनि दलहरूलाई माइनस गरेर तपाईंहरूका मन्त्रीहरू कतिपयले बोलिरहनुभएको छ, दुत्कारिरहनुभएको छ । यस्तो घटनामा कसरी चुनाव हुन्छ ?’ भन्दा, उहाँहरूले ‘त्यो कुराहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइन्छ, कारबाही हुन्छ । दलहरूको सहभागितामै चुनाव हुने हो । अझ तपाईंहरू मेजर दलहरू त चुनावमा अनिवार्य हुनैपर्छ, तपाईंहरू नै हो चुनावको एक्टर’ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो । 

अन्त्यमा, सरकारले २३ र २४ गतेको घटनालाई फरक फरक ढंगले हेर्‍यो कि एउटै हिसाबले हेरेको पाउनुभयो ? 

– उहाँहरूले २३–२४ भनेर दोहोर्‍याउनुभयो । हामीले भन्यौं, ‘२३ गतेको घटना अलिकता आन्दोलन र केही हिंसा भड्केर मान्छेहरू मरे, त्यो एउटा दुःखद् अवस्था हो । तर २४ गतेको चाहिँ विध्वंस हो, नितान्त त्यो चाहिँ आपराधिक कार्य हो ।’ यो कुरामा उहाँहरूको लगभग बुझाइ छ, तर कति स्पष्ट भन्ने, किनभने त्यही जगमा उहाँहरू बनेको हुनाले सबै कुरा क्लियारिटी त भएन । तर उहाँहरू ‘यी अपराधीहरू, अपराध गर्ने मान्छेहरू कानुनको दायरामा आउँछन्’ भन्नुभयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप