सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गौशाला प्रहरी वृत्तबाट ४० वर्षपछि निस्कियो ब्रह्माको ऐतिहासिक मूर्ति

सोमबार, १७ कात्तिक २०८२, १२ : १५
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • काठमाडौँको पाशुपत क्षेत्रमा छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्माको मूर्ति पुनःस्थापना गरियो।
  • हराएको मूर्ति ४० वर्षपछि गौशाला प्रहरी वृत्तबाट मन्दिरमा सारियो, मन्दिर पुनर्निर्माणपछि।
  • मन्दिरको औपचारिक उद्घाटन कात्तिक २१ गते बालेन्द्र शाहको उपस्थितिमा हुनेछ, सर्वसाधारणका लागि पनि सोही दिन खुल्ला गरिनेछ।

काठमाडौँ । छैटौँ शताब्दीमा बनेको एउटै मात्र ऐतिहासिक ब्रह्माको मूर्ति काठमाडौँको पाशुपत क्षेत्रमा नवनिर्मित मन्दिरमा पुनःस्थापना गरिएको छ। यो मूर्ति हराएपछि विगत ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो।

काठमाडौँ महानगरपालिका वडा नम्बर ८ को पहलमा मन्दिर पुनर्निर्माण गरिएपछि पञ्चाङ्ग निर्णायक समितिले तोकेको समयअनुसार सोमबार बिहान बाजागाजासहित रथारोहण गरी मूर्तिलाई प्रहरी वृत्तबाट मन्दिरमा लगिएको हो।

काठमाडौँ महानगर वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिएअनुसार १९९० सालको भूकम्पअगाडि नै मन्दिर भत्किएपछि यो चतुरमुख मूर्ति हराएको थियो। पछि धोबीखोलामा भेट्टाएपछि प्रहरीले यसलाई सुरक्षाका लागि गौशाला वृत्तमा राखेको थियो। अध्यक्ष सङ्गतले मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि सोमबार मूर्तिको पुनःस्थापना गरिएको बताए।

मन्दिरको औपचारिक उद्घाटन भने कात्तिक २१ गते काठमाडौँ महानगरप्रमुख बालेन्द्र शाहको उपस्थितिमा हुनेछ। सर्वसाधारणका लागि पनि कात्तिक २१ गतेपछि नै मन्दिर पूजाआजाका लागि खुला गरिनेछ।

वडा अध्यक्ष सङ्गतका अनुसार, नेपालमा ब्रह्माको यही एउटा मात्र मूर्ति रहेको छ। उनले विष्णुको अर्को मूर्ति पनि रहेको र त्यसको पुनर्निर्माणका लागि वडा कार्यालयले काम गरिरहेको जानकारी दिए। यद्यपि, पुरातत्व विभागका कारण केही ढिलाइ भएको उनको भनाइ छ।

मूर्ति पुनःस्थापना कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोल, वडाध्यक्ष सङ्गत, वडा सदस्यहरू, सम्पदाविद्, संस्कृतिविद् लगायत स्थानीयहरूको उपस्थिति थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप