जेनजी भावनाविपरीत एकता स्विकार्न सकिएन : शर्मा
सारांश
- जनार्दन शर्माले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकतालाई जेनजी आन्दोलनको भावना विपरीत भएको भन्दै अस्वीकार गरे।
- उनले पार्टीभित्रको रूपान्तरण प्रयास असफल भएको र एकताले पार्टीलाई झन् विधिविहीन बनाएको आरोप लगाए।
- शर्माले 'प्रगतिशील अभियान नेपाल' सञ्चालन गर्ने घोषणा गरे र यसले वामपन्थी शक्तिलाई एकीकृत गर्ने लक्ष्य राखेको बताए।
ललितपुर। नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरीत माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बिच हुन लागेको एकतालाई स्वीकार गर्न नसकेको बताएका छन्।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रूपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने र पार्टीलाई समग्र रूपले पुनर्गठन गरेर अगाडि बढ्न आफू लागिपरेको भए पनि सफल हुन नसकेको बताए।
शर्माले नेतातन्त्र र भ्रष्टाचार विरोधी जगमा जेनजी विद्रोह भएको भन्दै यसलाई स्वीकार गर्दै पार्टीलाई रूपान्तरण गर्ने कोसिसहरू पार्टीभित्र असफल भएको उनको भनाइ छ। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई झन् भद्रगोल, विधिविहीन बनाएको आरोप लगाए। यो एकता सीमित एक वा दुई नेताहरूको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने गरी गरिएको नाटक भएको उनको भनाइ छ।
शर्माले भने, ‘पछिल्लो समयसम्म आइपुग्दा जेनजी आन्दोलनले पनि स्पष्ट गरिसक्यो— पार्टीभित्र दलतन्त्रको कुरा, नेतातन्त्रको कुरा, भ्रष्टाचारका कुरा त्यसकै जगमा जेनजी विद्रोह भयो। त्यसले पनि स्पष्ट गरिसकेको छ। यो यथार्थ कुरालाई रूपान्तरण गर्ने हाम्रा कोसिसहरू पार्टीभित्र सफल भएनन्।’
उनले थपे, ‘आज झन् अझ भद्रगोल बनाएर, अझ विधिविहीन बनाएर, अझ सीमित एक वा दुई नेताहरूको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने गरी जो एकताको नाटक गरिएको छ। जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरीत जे एकता भइरहेको छ, त्यसको प्रति हामी सहमत हुन सकेनौँ।’
उनले एकताका नाममा आमजनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयासहरू भइरहेको समेत बताए।
- 'प्रगतिशील अभियान नेपाल' सञ्चालनको घोषणा
जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरीत भइरहेको एकताप्रति सहमत नभएर आफूहरूले नयाँ अभियान सञ्चालनको थालनी गरेको शर्माले बताएका छन्।
उनले 'प्रगतिशील अभियान नेपाल' सञ्चालन गर्ने जानकारी दिए। यो अभियान राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात् गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका समस्याप्रति प्रतिबद्ध भएको उनको भनाइ छ।
उनले अभियानले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने बताए।
शर्माले शहीद बेपत्ताहरूको सपना पूरा गर्ने, उनीहरूका परिवारजनका आशा र विश्वासहरू, घाइते योद्धाहरूका अपेक्षाहरू पूरा गर्ने गरी लाग्ने प्रतिबद्धता समेत जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण