शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
महिला चालक

फोटोग्राफर बन्ने सपना त्यागेर चालक बनेकी रविना

बिहीबार, २० कात्तिक २०८२, १३ : ५३
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • बैतडीकी २१ वर्षीया रविनाले सार्वजनिक यातायातमा महिलाको पहिचान स्थापित गरेकी छिन्।
  • रविनाले पारिवारिक बाध्यता र जिम्मेवारीका कारण जीप चलाउन सुरु गरिन्, जसले उनलाई उदाहरणीय बनायो।
  • उनले ड्राइभिङ लाइसेन्स प्राप्त गरी व्यावसायिक रूपमा जिप चलाउन थालेपछि परिवार र गाउँलेबाट प्रशंसा पाइन्।

धनगढी । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीका अप्ठ्यारा, कच्ची र घुम्तीले भरिएका सडकहरूमा बोलेरो जीप धुलो उडाउँदै गुड्छ । त्यही जीपको स्टेयरिङमा बसेकी एक हँसिली र फूर्तिली युवतीको अनुहारले धेरैलाई चकित बनाउँछ । उनी हुन् २१ वर्षीय रविना चन्द ।

रविनाले सामाजिक मान्यता र लैङ्गिक पर्खालहरूलाई तोड्दै सार्वजनिक यातायातको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छन् । ड्राइभिङ महिलाले गर्ने पेसा होइन भन्नेजस्ता टिप्पणीलाई बेवास्ता गर्दै उनी हरेक दिन आफ्नो कर्तव्य पूरा गर्न पहाडका कच्ची सडकदेखि तराईका समथर बजारसम्म जीप हुइँक्याउँछिन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४, मेगलाडमा जन्मेकी रविनाको यो यात्रा रहरले भन्दा पनि पारिवारिक बाध्यता र जिम्मेवारीबोधले सुरु भएको थियो । अहिले उनको यो काम प्रदेशमै महिलाहरूका लागि उदाहरणीय बनेको छ । उनी यही कामले सबैबाट प्रंशसा कमाइरहेकी छन् ।

Rubi-Chand-(3) (1)

रविनाका बुवा ५३ वर्षीय डवल चन्द विगत ३९ वर्षदेखि गाउँमा किराना तथा कपडा पसल सञ्चालन गर्दै आएका छन् । ६ छोरी र एक छोराको ठुलो परिवार पाल्ने मुख्य आधार नै यही पसल हो ।

करिब ६ वर्षअघि पसलको सामान ढुवानी गर्न र गाउँलेहरूलाई यातायातको सुविधा दिन उनले एउटा बोलेरो जिप किने । गाडी किनेरमात्र समस्या समाधान भएन । भरपर्दाे र इमानदार चालक पनि चाहियो । पाँच वर्षको छोटो अवधिमा उनले करिब दुई दर्जन चालक फेरे ।

‘धेरै ड्राइभर फेर्नुप¥यो, राम्रो ड्राइभर नपाउँदा मैले धेरै हैरानी भोग्नुप¥यो । गाडी राम्ररी नचलाउने, उनीहरूबाट भनेअनुसार काम नहुने समस्या भयो,’ डवलले भने ।

चालकहरूको लापर्बाहीले गाडी बिग्रने र व्यापारमा समेत घाटा लाग्ने स्थिति आयो । बुवाको यो छटपटी र हैरानीलाई माइली छोरी रविनाले नजिकबाट नियालिरहेकी थिइन् । त्यसमाथि ‘छोरी नै छोरी भएको घरमा ड्राइभर कहाँ हुन्छ र ?’ भन्नेजस्ता गाउँलेका कुराले उनको मनमा गहिरो चोट पु¥याउँथ्यो । यही समस्या र जिम्मेवारीले उनलाई चालक बन्न प्रेरित ग¥यो ।

रविनाले सुरुमा घरमा पार्किङ गरिराखेको जीप चलाएर अभ्यास गर्न थालिन् । गाउँकै कच्ची र जोखिमपूर्ण सडकमा उनले निरन्तर अभ्यास गरिन् । बिस्तारै उनको हात स्टेयरिङ, ब्रेक र गियरमा बस्दै गयो ।

‘ड्राइभर बन्छु नै भनेर होइन, घरको स्थितिलाई सहज बनाउन र बुवालाई सहयोग गर्नु मेरो कर्तव्य थियो, त्यसैले मैले यो काम सिकेकी हुँ,’ रविनाले भनिन् ।

केही समयको अभ्यासपछि उनले गाउँमै छोटो दुरीमा यात्री बोक्न थालिन् । पहिलो दिन उनले पञ्चेश्वरदेखि सलेनासम्म करिब ३० किलोमिटर कच्ची सडकमा यात्रीलाई गन्तव्यमा पु¥याइन् ।

‘सुरुको दिन अलिकति डर थियो, तर मन दह्रो बनाएँ,’ उनले भनिन् । उनको यो आत्मविश्वास देखेर बुवा डवल चन्दले छोरीमा सम्भावना देखे । उनले रविनालाई थप तालिम र लाइसेन्सका लागि महेन्द्रनगरको एक ड्राइभिङ सेन्टरमा पठाए ।

rabina 4

रविनाले पहिलो प्रयासमै परीक्षा पास गरेर आफ्नो क्षमता प्रमाणित गरिन् । हाल उनले व्यावसायिक रूपमा जिप चलाउन थालेको दुई वर्षभन्दा बढी भइसकेको छ । डेढ वर्ष अघि उनले आधिकारिक रूपमा ड्राइभिङ लाइसेन्स प्राप्त गरेकी हुन् ।

अहिले रविना बैतडीका विभिन्न ठाउँका साथै पञ्चेश्वरदेखि महेन्द्रनगर र धनगढीसम्मको लामो यात्रामा निस्किन्छिन् । यो यात्रा पूरा गर्न ११ देखि १२ घण्टासम्म लाग्छ । राजमार्गमा गाडी चलाउँदा रमाइलो महसुस भए पनि पहाडका कच्ची र साँघुरा बाटामा गाडी हाँक्नु निकै चुनौतीपूर्ण छ । यात्रीहरूबाट पाउने प्रशंसा र हौसलाले उनको आत्मविश्वास अझै बढाउँछ ।

‘सबैले तिमीले राम्रो र साहसिक काम गरेकी छौ भन्दै हौसला दिनुहुन्छ, त्यसैले गाह्रो महसुस हुँदैन,’ रविना मुस्कुराउँदै भन्छिन् ।

छोरीको सुरक्षालाई लिएर परिवार सचेत छ । लामो यात्रामा जाँदा बुवा, आमा वा परिवारको कोही न कोही सदस्य सधैँ साथमा हुन्छन् । ‘छोरीको सुरक्षाका लागि हामी उसलाई एक्लै छोड्दैनौँ । यात्रामा निस्कनुअघि म सधैँ डर नमान्न र साहस राख्न हौसला दिन्छु,’ बुवा डवलले भने ।

कामको व्यस्तताका बिच पनि रविनाले आफ्नो पढाइलाई जारी राखेकी छन् । तीन वर्षअघि कक्षा १२ पास गरेकी उनी स्नातक तहमा अध्ययनरत छिन् । उनी कामसँगै आफ्नो पढाइलाई निरन्तरता दिइरहेकी छन् । उनको सपना भने फोटोग्राफर बन्ने थियो । परिवारप्रतिको जिम्मेवारीले उनलाई ड्राइभर बनायो ।

rabina jeep

‘मेरो सपनाभन्दा माथि मेरो बुवा र मेरो परिवार छ । उहाँहरूको खुसी नै मेरो सफलता हो,’ उनले भनिन् ।

छोरीले जीप चलाउन थालेपछि गाउँलेहरूले पनि प्रशंसा गर्न थालेको रविनाकी आमा यशोदा चन्द बताउँछिन् । ‘सबैले प्रशंसा गर्दा खुसी लागेको छ,’ उनले भनिन्, ‘उसले गाडी चलाउन थालेपछि घरमा एक सहारा भएको छ । छोरीको काम देखेर हामीलाई धेरै खुसी लाग्छ ।’

यशोदाका अनुसार रविनाले जीप चलाउँदा गाउँलेलाई विभिन्न मेला–महोत्सवमा जान, किनमेलका लागि बजार जान र आवश्यक पर्दा जुनसुकै समयमा गन्तव्यमा जान सहज भएको छ । ‘गाउँमा मेला, जात्रा भएको बेला यात्रीहरूलाई गन्तव्यमा पु¥याउनेमात्र होइन, कहिले पञ्चेश्वरबाट धनगढी, महेन्द्रनगरसम्म पनि पु¥याउँछिन् । छोरी गाउँलेका लागि गन्तवयमा पु¥याउने सारथि बनेकी छन्,’ यशोदाले भनिन् ।

सुदूर पहाडमा बोलेरो जीपको स्टेयरिङ सम्हाल्ने उनी एकमात्र युवती हुन् । रविना चन्द एक अपवाद र प्रेरणाको स्रोत बनेकी छन् । उनले जीपमात्र चलाएकी छैनन्, समाजको पितृसत्तात्मक सोचको स्टेयरिङलाई पनि नयाँ दिशा दिएकी बैतडीको पञ्चेश्वर निवासी गीता चन्दले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप