सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाका कार्यवाहक सभापति अर्यालले भने- हामी दौडिनुअघि नै खुट्टा तान्ने प्रवृत्तिमा छौँ

शुक्रबार, २१ कात्तिक २०८२, १३ : ०४
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टीभित्रको आन्तरिक समस्याप्रति चिन्ता व्यक्त गरे।
  • उनले पार्टीका नेता तथा कार्यकर्तालाई आत्मसमीक्षा गर्दै टिम भावनाको विकास गर्न आग्रह गरे।
  • अर्यालले आगामी चुनावमा जित्नका लागि पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले पार्टीभित्र आत्मकेन्द्रित र अरुको खुट्टा तान्ने प्रवृत्ति हावी हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् । पार्टीका गतिविधि र नेता कार्यकर्ताका कार्यशैलीमाथि पार्टीका सदस्यहरूले आत्मसमीक्षा गर्न उनले आग्रह गरे ।

चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट सुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले विगत ४० महिनाको छोटो अवधिमा पार्टीले महत्वपूर्ण उपलब्धिलाई हासिल गरेको बताए । उनले बामे सर्न लागेको बालक दौडिन नसक्ने उदाहरण दिँदै समयभन्दा अगाडि अप्राकृतिक अपेक्षा राख्दा पार्टीलाई नै कमजोर बनाउने तर्क गरे । कार्यवाहक सभापति अर्यालले पार्टीमा ‘टिम’ को भावनाको कमी भएको महसुस भएको बताए ।

‘हामी भर्खरै पार्टी बन्ने प्रक्रियाको सुरुवाती चरणमा छौँ, सिक्दै र हुर्कंदैछौं । तर हामीमध्ये कतिपयलाई दौडिन हतार भइसकेको छ ।ु उनले भने– ‘टिम नबन्दासम्म हामीलाई टिम चाहिन्छ, तर टिम बनेपछि हामी एक्लै गर्न सक्छौँ भन्ने लाग्छ । यो प्रवृत्तिले हामीलाई निकै गाँज्दै लगेको जस्तो लाग्छ ।’

उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अरूलाई दोष दिनुभन्दा पहिले आफ्नो जिम्मेवारी बोध गर्न आग्रह गरे । पुराना पार्टीहरूको औचित्यमाथि प्रश्न उठिरहेको बेला रास्वपा पनि ‘तिललाई पहाड’ बनाएर आन्तरिक कलहमै अल्झिने खतरा रहेको उनले औँल्याए ।

‘यो पार्टी ठुलो र राम्रो हुँदा जस लिने पनि हामी हौँ, खुम्चिँदा अपजस लिनुपर्ने पनि हामीले नै हो । तर, बैठकमा उपस्थित कतिपय सदस्यहरू आफूलाई नभई अरूलाई प्रश्न गर्ने, खिसीटिउरी गर्ने वा बदनाम गर्ने नियतले उपस्थित भएको हो ?’ उनले भने,  ‘रास्वपालाई कमजोर बनाएर तपाईं–हामी कहिल्यै बलियो हुन सक्दैनौँ । मझेरी खनेर आँगन पुर्ने काम हामीले गर्नुहुँदैन’ उनले भने ।

आगामी चुनावमा पार्टीले जित्नैपर्ने दबाब रहेको बताउँदै अर्यालले त्यसका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । उनले पार्टीले जित्ने उम्मेदवार बाहिर खोज्नुभन्दा पनि आफ्नैभित्रबाट तयार गर्न नसक्नुको जिम्मेवारी सबैले लिनुपर्ने बताए ।

‘हामीमध्ये धेरैलाई चुनाव जित्न सकिन्छ भन्ने लागेको छ, तर राम्रो उम्मेदवार चाहिन्छ । यसको अर्थ हामी आफैँलाई चुनाव जित्ने किसिमको राम्रो लागेको छैन’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप