बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसमा नेतृत्व परिवर्तन मात्र होइन, पूर्ण पुनरावलोकन आवश्यक : सहमहामन्त्री उपाध्याय

शुक्रबार, २१ कात्तिक २०८२, २० : ०४
शुक्रबार, २१ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले व्यक्तिवादी चरित्र, पद र शक्तिमा जकडिन खोज्ने प्रवृत्ति, आर्थिक लाभप्रतिको आकर्षणले सङ्गठनको शुद्धतामा प्रतिकूल असर पारेको बताएकी छन् । 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार धारणा राख्दै सहमहामन्त्री उपाध्यायले पार्टीभित्र व्यक्तिवादी चरित्र, नेतृत्वको अकर्मण्यता हाबी हुँदा सङ्गठनात्मक संरचना कमजोर बन्दै गएको बताइन् । 

जेनजी आन्दोलनले दिएको सन्देशलाई गहिरो आत्ममूल्यांकन गर्दै नियमित महाधिवेशन गरेर नयाँ पुस्ताको भावनालाई सम्मान गर्न उनले नेतृत्वलाई आग्रह समेत गरिन् । 

उनले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलाको भर्त्सना गर्दै पार्टीको सम्पत्ति र नेताहरूको घर ध्वस्त पार्नेहरूमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरिन् । 

पार्टीले समयको माग बुझ्न नसक्दा यस्तो अवस्थामा पुग्नुपरेको उनको भनाइ छ । 'जनताको भावना, नयाँ पुस्ताको आकांक्षा र समयको माग बुझ्न नसकी सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विषय गलत थियो,' उपाध्यायले भनिन्, 'जेनजी आन्दोलनले उठाएका प्रश्नहरू केवल युवाहरूको आवाज मात्र होइनन्, ती हाम्रो राजनीतिक संस्कारमा नयाँ सोच, पारदर्शिता र जवाफदेहिताको माग पनि हुन्।'

उनले आन्दोलनअघि सही सूचना उपलब्ध नगराइएको र सूचना सम्प्रेषण गर्ने निकाय कमजोर बनेको बताइन् । नेतृत्वको हामीलाई केही हुन सक्दैन भन्ने मनोवृत्ति, आत्मरति र सानो घेरामा मात्र परामर्श गर्ने प्रवृत्तिले सङ्गठनभित्र दूरी बढाएको बताइन् । 

पदाधिकारी बैठकमा सभापति देउवा स्वयं सामाजिक सञ्जाल प्रतिबन्धबारे अनभिज्ञ रहेको बताउँदै सभापतिलाई सूचनाबाट वञ्चित गरिएको हुनसक्ने आशङ्का व्यक्त गरिन् ।

केवल चार/पाँच जना र केही मन परेका सल्लाहकारबाट पार्टी चलाउने अनि समस्या पर्दा सम्पूर्ण जिम्मेवारी सभापतिमाथि मात्र थोपर्नु गलत भएको उनको भनाइ थियो । 

सहमहामन्त्री उपाध्यायले महाधिवेशन नियमित गर्नुपर्ने विषयमा सबैको सहमति भए पनि मितिमा अल्झेर समय बर्बाद गरिएकोमा असन्तुष्टि व्यक्त गरिन् ।

उनले ५४ प्रतिशत हस्ताक्षरको माग नेतृत्व परिवर्तन मात्र नभई पूर्ण रूपमा पुनरावलोकन, नीतिगत सुधार, नियमित अधिवेशन र नयाँ यात्राको संकेतु भएको ठहर गर्दै यसलाई अनादर गर्न नमिल्ने बताइन् । 

महाधिवेशनका लागि आवश्यक तयारी, विधान संशोधन समिति, निर्वाचन समिति, क्रियाशील छानबिन समिति गठन र समय तालिकाको सङ्गठनात्मक थालनी तत्काल गर्न माग गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप