बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला

आइतबार, २३ कात्तिक २०८२, २३ : ११
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • इच्छाकामना मन्दिरमा पर्यटन प्रवर्द्धनका लागि दुई दिने मेला आयोजना हुने भएको छ, जसमा सांस्कृतिक कार्यक्रम हुनेछन्।
  • इच्छाकामना मन्दिरमा पञ्चमीको अवसरमा मेला लाग्ने र स्थानीय बिदा दिने चलन छ, जहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ।
  • इच्छाकामना मन्दिर धार्मिक पर्यटकीय स्थल हो, जहाँ भारतीय पर्यटकको आगमन बढेको छ, र यहाँबाट हिमालको दृश्य देख्न सकिन्छ।

चितवन ।  पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुई दिने मेला लाग्ने भएको छ ।  मेलाका अवसरमा पर्यटन प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए। मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहने उनले जानकारी दिए ।

इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ । केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ । 

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने तथा सन्तान नहुनेहरूका लागि सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । मनकामना देवीको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।

इच्छाकामना मन्दिर धार्मिक पर्यटकीयस्थलको सम्भावना बोकेको स्थल हो । समुद्री सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहको मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेका लालीगुराँसले वरिपरिको वातावरण रङ्गिन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश र माछापुच्छ्रेसम्म पनि देख्न सकिन्छ । 

मन्दिर पुनर्निर्माणसँगै खानेपानी, विद्युत् सेवा र अन्य भौतिक पूर्वाधार निर्माणपछि यहाँ धार्मिक पर्यटकको आवागमन बढेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । पछिल्लो केही वर्षयता भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेको अध्यक्ष गुरुङले बताए । फिस्लिङ–शक्तिखोर सडक र मुग्लिन–तामिन सडक प्रयोग गरेर पर्यटक मन्दिर पुग्ने गरेका छन् । यहाँ सार्वजनिक बिदा र शनिबारको दिन मन्दिर दर्शन गर्न र वनभोज खान आउने पर्यटकको घुइँचो लाग्ने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप