बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँच वर्षमा छ पटक ठेक्का म्याद थपपछि कालोपत्र गरिँदै

सोमबार, २४ कात्तिक २०८२, ०३ : २८
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • बागलुङको काठेखोला गाउँपालिकामा निर्माण व्यवसायीको लापरबाहीले सडक कालोपत्रमा ढिलाइ भएको थियो, तर अहिले काम सुरु भएको छ।
  • सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा बनेको सडकको ठेक्का २०७७ जेठमा लागेको थियो, तर म्याद थप हुँदै आएको छ।
  • निर्माण व्यवसायीले कोरोना, आर्थिक संकट र भुक्तानीको समस्या देखाउँदै काम ढिला गरेको स्वीकारेका छन् र छिट्टै काम सक्ने प्रतिबद्धता जनाएका छन्।

बागलुङ । निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको यहाँको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक छ पटक ठेक्का म्याद थपेपछि कालोपत्र थालिएको छ । कोरोना, आर्थिक संकट र भुक्तानी जस्ता समस्या देखाउँदै निर्माण व्यवसायीले सडक कालोपत्र गरेका थिएनन् । 

हाल भने धमाधम ‘ग्राभेल’ भइरहेको छ । सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक कालोपत्रका लागि बिग्रेका पूर्वाधार निर्माण भइरहेका छन् । २०७७ जेठमा दुई वर्षमा सम्पन्न गर्ने गरी जोशी/निशान/आचार्य जेभीसँग रु छ करोड ७१ लाखमा ठेक्का लागेको थियो । सम्झौता अवधिमा काम नहुँदा छ पटक म्याद थपिएको छ । 

एक वर्षदेखि फिल्डमा नदेखिएको निर्माण व्यवसायी काममा फर्केपछि कालोपत्रको तयारी थालिएको काठेखोला गाउँपालिकाका इन्जिनियर विनोद लामिछानेले जानकारी दिए। पूर्वाधारको काम पहिल्यै सम्पन्न गरे पनि कालोपत्र हुन नसक्दा पूर्वाधारहरू समेत जीर्ण बनेका थिए । उक्त सडकको ७० प्रतिशत भौतिक तथा ६५ प्रतिशत आर्थिक प्रगति भएको छ । 

इन्जिनियर लामिछानेले १४ औँ खरिद संशोधनलाई आधार मानेर अन्तिम पटक म्याद थप गरेको बताए। यस पटक भने कालोपत्रका लागि उपकरण र कच्चा सामग्रीको समेत जोहो भइसकेको छ । कोराना कहर, भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काममा ढिला भएको जनाउँदै निर्माण व्यवसायी प्रकाश आचार्यले छिट्टै काम सम्पन्न गरी सडक हस्तान्तरण गर्ने बताए । उक्त सडक बरेङ–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप