बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सङ्घीयतामा आघात नपुग्ने गरी काम गर्नेछु : नवनियुक्त मुख्यमन्त्री यादव

सोमबार, २४ कात्तिक २०८२, १८ : ४१
सोमबार, २४ कात्तिक २०८२

काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूले संविधान, राष्ट्रियता र सङ्घीय लोकतान्त्रिक व्यवस्थामा आघात नपुग्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले बाध्यात्मक परिस्थितिमा बनेको सरकार संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म विपरीत नजाने स्पष्ट पारे । 

उनले भने, ‘मुख्यमन्त्रीको हैसियतमा संविधान, राष्ट्रियता र सङ्घीय लोकतान्त्रिक व्यवस्थामा आघात नपुग्ने गरी काम गर्ने प्रतिबद्धता जनाउँछु ।’

सिन्धुलीमा शपथ ग्रहण गरेको विषयमा स्पष्ट पार्दै मुख्यमन्त्री यादवले हिंसात्मक अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले मात्र बाहिर गएर शपथ ग्रहण गरेको बताए । 

उनले भने, ‘अहिलेसम्म मधेसका तीन मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालय बाहिरै शपथ लिएका छन् । मैले पनि स्थिति तनावपूर्ण नबनोस् भन्ने सोचका साथ सिन्धुलीमा शपथ लिएको हुँ ।’

मुख्यमन्त्री यादवले एमालेले षड्यन्त्र गरेर नभई संवैधानिक प्रक्रिया अनुसार नै मधेसको सत्तामा पुगेको दाबी गरे । उनका अनुसार प्रदेश प्रमुख बिरामी रहेको र प्रदेश सरकार विहीन अवस्थामा नरहोस् भन्ने उद्देश्यले तत्काल शपथ ग्रहण गराइएको हो । 

उनले आफ्नो नियुक्ति कात्तिक २३ गते नै राति भई सकेको दाबी गर्दै बिरामी रहेकी प्रदेश प्रमुखलाई दबाब दिएर आजै शपथ लिएको बताए ।

एमालेभित्रको असन्तुष्टि सम्बन्धी प्रश्नमा मुख्यमन्त्री यादवले पार्टीभित्र संविधानको धारा १६८(३) बमोजिम सरकार गठनका विषयमा औपचारिक छलफल नभएको स्वीकार गरे ।

उनले भने, ‘यो विषयमा पार्टीभित्र गहिरो छलफल भएको होइन, हामी कानुनी जानकार होइनौँ । प्रदेश प्रमुखलाई संविधानले जे भन्छ त्यही अनुसार गर्न आग्रह गरेका थियौँ ।’

मुख्यमन्त्री यादवले अझै कार्यभार नसम्हाल्नुको कारण कार्यालय व्यवस्थापन नभइसकेको बताए । उनले कार्यालय व्यवस्थापनका लागि निर्देशन दिइसकिएको र आवश्यक तयारी पूरा भएपछि कार्यभार सम्हाल्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप