बजेट विनियोजनको ६ वर्षपछि ठेक्का, कस्तो बन्नेछ उजिरसिंह रङ्गशाला ?
सारांश
- लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको ६ वर्षपछि बुटवलमा रंगशाला निर्माणको ठेक्का लागेको छ।
- वन मन्त्रालयले जग्गा प्राप्तिका लागि रकम भुक्तानीमा ढिलाइ गर्दा रंगशाला निर्माणको काम अगाडि बढ्न सकेको छैन।
- बुटवल उपमहानगरपालिकाले वन विभागलाई तिर्नुपर्ने रकम र जग्गा प्राप्तिको प्रक्रिया एक महिनाभित्र सम्पन्न हुने दाबी छ।
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको ६ वर्षपछि बुटवल उपमहानगरपालिका–१३ स्थित उजिरसिंह रङ्गशाला निर्माणको ठेक्का लागेको छ ।
तर, वन मन्त्रालयले जग्गा प्राप्तिका लागि रूख संरक्षण बापतको रकम भुक्तानीमा ढिलाइ गरेको छ । यसैगरी नगरपालिकाले पनि रकम भुक्तानीमा ढिलाइ गर्दा निर्माणको काम अगाडि बढ्न सकेको छैन ।
यही वर्षको साउनमा लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणले ठेक्का लगाएको थियो । नियमअनुसार बुटवल उपमहानगरपालिकाले वन तथा वातावरण मन्त्रालयलाई रूख संरक्षणबापत तिर्नुपर्ने १ करोड ५७ लाख ७५ हजार रुपैयाँ भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीले रङ्गशाला निर्माणको काम अगाडि बढाउन सकेको छैन ।
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले असार अन्तिम हप्तामा अर्जुन, मार्क, प्रदीप जेभी वनस्थली काठमाडौँसँग भ्याटसहित ८ करोड ५२ लाख ३२ हजार ४९३ रुपैयाँको ठेक्का रकममा जग्गा बाउन्डिङ गर्ने र खेल मैदान निर्माण गर्ने सम्झौता गरेको थियो ।
प्रदेश पूर्वाधार प्राधिकरण तथा उक्त रङ्गशाला हेर्ने इन्जिनियर प्रमिला श्रेष्ठले रातोपाटीलाई बताएअनुसार साउनको अन्तिममा पहिलो चरणको ठेक्का लागे पनि वन मन्त्रालयबाट जग्गा प्राप्तिका लागि स्थानीय तहले तिर्नुपर्ने रकम अझै जम्मा नभएकोले अपेक्षाअनुसार काम हुन सकेको छैन । उनले बुटवल उपमहानगरपालिकाले मन्त्रालयमा रूख संरक्षणका लागि राजस्व जम्मा गरेपछि मालपोत कार्यालयबाट नगरपालिकाको नाममा जग्गा आउने र त्यसपछि मात्र ठेकेदारले रूख कटान लगायतका काम गर्न पाउने उल्लेख गरिन् ।
यता उपमहानगरपालिकाले गत आर्थिक वर्षमा वन मन्त्रालयलाई रकम दिनुपर्ने भए पनि बजेट विनियोजन नभएको कारण रकम जम्मा गर्ने प्रक्रियामा रहेको जनाएको छ । उपमहानगरपालिकाले यसका लागि १ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपमहानगरपालिकाका वन वातावरण शाखाका इन्जिनियर योगेश चापागाईँले नगरपालिकाले वन विभागलाई १ करोड ५७ लाख ७५ हजार तिर्नुपर्ने भए पनि गत आर्थिक वर्षमा नगरपालिकासँग बजेट नभएको बताए । चालु आर्थिक वर्षमा भने निर्वाचन र चाडपर्व आदि कारणले ढिलाइ भएको उनको भनाइ छ । वन ऐन अनुसूची ५१ को ‘क’ अनुसार गत आर्थिक वर्षमा निर्णय भएको रकम नतिरेका कारण अहिले थप ५ प्रतिशत रकम जोडेर तिर्नुपर्ने भएको र त्यसको तयारीमा लागेको उनले खुलाए । पछिल्लो समय वन विभागसँग सम्पर्कमा रहेको र वन विभागबाट पनि थप रकमका लागि पत्र नआएकोले सो पत्रको प्रतीक्षामा रहेको पनि उनको भनाइ थियो । ‘केही दिनमा वन विभागमा रकम जम्मा गर्ने, त्यसपछि मालपोत कार्यालय पुग्ने र मालपोत कार्यालयबाट जग्गा स्थानीय तहमा आउने काम एक महिनाभित्र सम्पन्न हुन्छ,’ उनले दाबी गरे । नगरपालिकाको नाममा जग्गा आएपछि असारमा ठेक्काको जिम्मा लिएको निर्माण कम्पनीले रङ्गशाला आसपासका रूख कटान गरेर अन्य निर्माणको काम अगाडि बढाउन सक्ने उनले विश्वास दिलाए ।
उक्त ठेक्का तीन वर्षका लागि हो । असार २७ गते सम्झौता बहुवर्षीय भए पनि प्रदेश सरकारबाट तीन करोड रुपैयाँ बजेट विनियोजन भइसकेको प्राधिकरणको भनाइ छ । प्रदेश सरकारले दुई चरणमा गरी ५३ करोड बजेट उपलब्ध गराउने निर्णय गरेको छ, जसका लागि पहिलो चरणमा ८ करोड ५२ लाख ३२ हजार ४९३ रुपैयाँ ठेक्का रकममा जग्गा बाउन्डिङ गर्ने र खेल मैदान निर्माण गर्ने सम्झौता भएको थियो ।
प्रदेश प्राधिकरणकी इन्जिनियर श्रेष्ठले पहिलो चरणको काम सकिएपछि तेस्रो चरणको ठेक्का लगाउने जानकारी दिइन् । उनले सुरुको चरणमा वाल कम्पाउन्ड र खेल मैदान निर्माण भए पनि अन्य संरचनाको काम हुने र जग्गा प्राप्त हुनासाथ ठेकेदारले धमाधम काम गर्ने तयारी रहेको खुलाइन् ।
प्रदेश सरकारले २०७६ सालदेखि उपमहानगरपालिका–१३ मा बजेट विनियोजन गर्दै आएको थियो । यसबाट यस क्षेत्रका खेलाडीहरू उत्साहित भएका थिए, तर विभिन्न कारणले ढिलाइ हुँदा बुटवलवासी एवं लुम्बिनी खेलकुद परिषद्का पूर्व सदस्यसचिव जयप्रकाश भट्टराईले निराशा व्यक्त गरे । उनले बुटवलमा बन्ने उक्त रंगशालाले थप खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण योगदान दिने भएकाले निर्माणमा सबै पक्षले साथ दिनुपर्ने बताए ।
उपमहानगरपालिका वडा नं १३ सालघारीस्थित जबई खेल मैदानलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियकरण गरी कर्णेल उजुरसिंह थापा रङ्गशाला बनाउने काम प्रदेश सरकारले २०७६/७७ देखि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको थियो ।
लुम्बिनी सरकारका खेलकुद मन्त्री सन्तोष पाण्डेयका अनुसार वन मन्त्रालयले जग्गा प्रदान गरेसँगै असार २७ गते पहिलो चरण अन्तर्गत ०८२/८३ मा १० करोड ७६ लाख ६१ हजार लागत अनुमान स्वीकृत भई ठेक्काको प्रक्रिया अघि बढिसकेको छ । प्रदेश खेलकुद मन्त्रालयकी निमित्त सचिव हरिकला सारू मगरले मन्त्रालयले प्राधिकरणले गरेको कामको प्रगति विवरण माग्ने, अनुगमन गर्ने र बजेट व्यवस्था गर्ने बताइन् ।
कस्तो बन्नेछ रङ्गशाला ?
बुटवल–१३ स्थित जबईमा पूर्व सैनिकहरूको बाक्लो बस्ती छ । त्यहाँ हाल भूपू सैनिक जबई स्पोर्टिङ क्लबको नाममा पनि विभिन्न खेलकुद गतिविधि भइरहेका छन् । बुटवलमा प्रतियोगिता गराउन मिल्ने क्रिकेट मैदान छैनन् । ०७६/७७ मा सो खेल मैदानलाई स्तरोन्नतिसहित कर्णेल थापाका नाममा रङ्गशाला बनाउन सुरु गरिएको थियो । सुरुमा प्रदेश सरकारले १० लाख र उपमहानगरले ५ लाख गरी १५ लाख विनियोजन गरी रंगशालाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अघि बढाउन लाग्दा वन क्षेत्रमा उजुरी परी निर्माण प्रक्रिया रोकिएको थियो ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार साढे चार बिघा क्षेत्रफलमा निर्माण हुने भनिएको रंगशालाको १५ मिटर जग्गा जितेश्वरी सामुदायिक वनमा पर्ने भएपछि डीपीआर र ईआईएको काम पूरा भए पनि जग्गा प्राप्तिको प्रक्रिया रोकिएको हो ।
प्रदेशस्तरीय खेलकुद क्षेत्रको विकास आयोजना कार्यान्वयनका क्रममा कर्णेल उजुरसिंह थापा रङ्गशाला हाताभित्र करिब २० हजार दर्शकले खेल हेर्न मिल्ने गरी सुविधासम्पन्न फुटबल मैदानसहित बहुउद्देश्यीय खेल मैदान, भलिबल कोर्ट, एथलेटिक्स ट्रेक, एक्वाटिक सेन्टर, स्विमिङ पुल, चमेना गृह, पार्किङस्थल, सानो बाल उद्यानलगायत संरचना निर्माण हुने इन्जिनियर श्रेष्ठले रातोपाटीलाई बताइन् । उनका अनुसार रङ्गशाला प्रवेशका लागि चार वटा प्रवेशद्वार, आपत्कालीन द्वार, चारैतर्फ १२ देखि २० हजार दर्शक अट्ने क्षमताको आधुनिक प्याराफिट निर्माण गर्ने गरी डिजाइन गरिएको छ । तर सुरुको चरणमा भने अनुमानित लागत १० करोडको काम हुने र त्यसपछि दोस्रो चरणमा अन्य काम थालनी गरिने उनले बताइन् ।
बुटवल उपमहानगरपालिकाले जबई खेल मैदानमा केही संरचना निर्माण गरी क्षेत्रीय, जिल्ला तथा स्थानीय स्तरका विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्दै आएकामा अब तीनै तहका सरकारको सहयोग र सहकार्यमा सुविधा सम्पन्न रङ्गशाला निर्माण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण