मुनिबाट पानीजहाज चलाउन मिल्नेगरी डिजाइन गरियो नारायणीमा बन्ने पुल
काठमाडौँ । चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल–स्टेड’ डिजाइनमा निर्माण हुने उक्त पुलको डिजाइनलाई स्वीकृति दिएको छ । २०० वर्षसम्म टिक्ने र ठुलो बाढी तथा पानीजहाज सञ्चालनलाई समेत ध्यानमा राखेर डिजाइन गरिएको यो पुलको निर्माण मंसिरदेखि सुरु हुनेछ ।
महाशाखाका इन्जिनियर अमितकुमार बर्माका अनुसार असोज अन्त्यतिर पुलको डिजाइन स्वीकृत भएको थियो । डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढाउने तयारी भइरहेको छ । ‘ड्रइङ एप्रुभ भइसकेको छ, अब निर्माण व्यवसायीले आफ्नो निर्माण तयार गरिरहेका छन्,’ बर्माले भने, ‘छिट्टै नै निर्माण कार्य सुरु हुनेछ ।’
२०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपैयाँ (मूल्य अभिवृद्धि करसहित) मा पुल निर्माणका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो वर्ष डिजाइन गर्ने र बाँकी तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर डिजाइनमै करिब दुई साढे दुई वर्ष लागेको छ । हाल डिजाइन स्वीकृत भइसकेको र मंसिरदेखि निर्माण प्रक्रिया सुरु हुने भएको छ । हाल नारायणी नदीमा २०३७ सालमा बनेको पुल जीर्ण अवस्थामा छ ।
पुलको संरचना
इन्जिनियर बर्माका अनुसार नयाँ पुल ४२० मिटर लामो हुनेछ । यसमा चारवटा पिलर रहनेछन्, जसमध्ये दुई छेउका पिलरहरू १००–१०० मिटरको दूरीमा र बीचको स्पान २२० मिटरको हुनेछ । यो पुललाई हाल दुई लेनमा र भविष्यमा तीन लेनमा निर्माण गर्ने गरी ध्यानमा राखेर डिजाइन गरिएको छ । साथै एक लेन फुटपाथ रहनेछ ।
‘यो दुई लेनको पुल हो, जसमा एक लेन फुटपाथका लागि पनि छुट्याइएको छ,’ बर्माले भने, ‘तर भविष्यमा ट्राफिक चाप बढ्यो वा हालको पुरानो पुलमा समस्या आएमा यसलाई तीन लेनका रूपमा सजिलै प्रयोग गर्न सकिन्छ ।’

यस्तै भविष्यमा तलबाट पानीजहाज चलाउनुपर्ने भयो भने त्यो पनि सम्भव हुने गरी यो पुलको डिजाइन गरिएको बर्माको भनाइ छ ।
‘जति ठुलो बाढी आएपनि त्यो बाढीले क्षति नगर्ने किसिमको पुल निर्माण हुनेछ । यो दुई वर्षदेखि नेपालमा अत्यधिक पानी पर्ने र ठुलो बाढी आएर पुलमा क्षति पुग्ने समस्या भइरहेको छ,’ बर्माले भने, ‘अब यो पुल बाढीले क्षति गर्न नसक्ने किसिमको डिजाइन गरिएको छ ।’
किन भयो ढिलाइ ?
यसअघि नै शिलान्यास भएपनि डिजाइन स्वीकृतिको प्रक्रिया लम्बिएको थियो । यो नेपालमा कर्णाली पुलपछि बन्न लागेको दोस्रो ‘केबल–स्टेड’ प्रविधिको पुल हो । यसको डिजाइन विशेष र जटिल भएकाले समय लागेको बर्माले बताए ।
‘यो एउटा विशेष खालको पुल हो । पछिल्ला वर्षहरुमा नारायणी नदीमा आएको ठुलो बाढीलाई समेत ध्यानमा राखेर करिब २०० वर्षसम्म टिक्ने गरी डिजाइनलाई पुनः जाँच गर्नुपर्यो, जसले गर्दा केही ढिलाइ भयो,’ उनले भने । साथै, भविष्यमा जल यातायात सञ्चालनको सम्भावनालाई समेत ध्यानमा राखेर डिजाइन तयार पारिएको छ ।

निर्माण कम्पनीले भारतीय विज्ञसँग पुलको डिजाइन गराएको थियो । उक्त डिजाइन पुल महाशाखाले अस्वीकार गरेको थियो । महाशाखाले अस्वीकार गरेपछि पछिल्लो पटक चीनको विश्वविद्यालयका एक प्रोफेसरको नेतृत्व टोलीले डिजाइन गरेको थियो । उक्त डिजाइन गत भदौमा महाशाखामा पेस गरेको थियो । चिनियाँ टोलीले गरेको डिजाइन पुल महाशाखाले अध्ययन गरी स्वीकृति दिएको छ ।
म्याद थप्नुपर्दा लागत बढ्ला ?
चार वर्षभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेमा डिजाइनलाई नै साढे दुई वर्ष लागेपछि अब पुल निर्माणको लागि म्याद थप गर्नुपर्ने देखिन्छ । तर म्याद थप गरेपनि लागत नबढ्ने बर्मा बताउँछन् ।
यो पुल ‘डिजाइन एन्ड बिल्ड’ अनुसारको ठेक्का सम्झौताअनुसार निर्माण हुन लागेकाले सम्झौतामा उल्लेख भएभन्दा बढी लागत नबढ्ने इन्जिनियर बर्माले स्पष्ट पारे । ‘डिजाइनमा कुनै परिवर्तन वा सुधार गर्नुपर्दा त्यसको लागत निर्माण व्यवसायीले नै बेहोर्छ, सरकारलाई थप आर्थिक भार पर्दैन,’ उनले भने ।
डिजाइन स्वीकृतिमा भएको ढिलाइका कारण निर्माण व्यवसायीले म्याद थपका लागि प्रक्रिया सुरु गरिसकेको पनि महाशाखाले जनाएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो पुलको काम अब छिट्टै नै अघि बढ्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण