सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लगानीको वातावरण नबन्दा वित्तीय प्रणालीमा पैसा थुप्रियो : गभर्नर पौडेल

बुधबार, २६ कात्तिक २०८२, २२ : २९
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले लगानीको वातावरण बन्न नसकेको बताए।
  • लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा पैसा लगानी हुन नसकेको उनको भनाइ छ।
  • उनले बैंक तथा वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा असर परेको बताए।

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डा.विश्वनाथ पौडेलले वित्तीय प्रणालीमा पर्याप्त तरलता भए पनि लगानीको वातावरण बन्न नसकेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को कार्य समितिसँगको भेटघाटमा उनले लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा पैसा लगानी हुन नसकेको उल्लेख गरे। 

‘अहिले हामीसँग पर्याप्त पैसा छ, तर लगानी हुन सकेको छैन,’ गभर्नर पौडेलले भने, ‘लगानीका लागि चौतर्फी प्रयास गर्दा पनि अवस्था सहज छैन । कुनै पनि क्षेत्रमा उत्साहजनक अवस्था देखिँदैन, सबैतिर शिथिलता छ । कहिले पैसा नभएर, कहिले भएर पनि लगानी नहुँदा समस्या भइरहेको छ ।’ 

उनले लगानीकर्ताको मनोबलमा आएको गिरावटका कारण बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप उत्पादनशील क्षेत्रमा प्रवाह हुन नसकेको स्पष्ट पारे ।

विगतमा बैङ्क, बिमा, एयरलाइन्स, दूरसञ्चार, शिक्षा, स्वास्थ्य र घरजग्गा जस्ता क्षेत्रमा लगानी हुने गरेकोमा हाल ती क्षेत्रमा लगानी विस्तार हुन नसकेको उनको भनाइ थियो । 

‘कित्ताकाट बन्द हुँदा घरजग्गा व्यवसाय सुस्त भयो । विद्यालय, अस्पताल लगायतका क्षेत्रमा पनि लगानी विस्तार हुन सकेको छैन । अब लगानी कहाँ गर्ने भन्ने प्रश्न उठेको छ,’ उनले भने, ‘निजी क्षेत्रलाई अनुमति दिनुपर्‍यो भन्दै लाइसेन्सका लागि मारामार हुने अवस्था पनि अहिले छैन, यसले लगानीकर्तामा आत्मविश्वासको कमी देखाउँछ ।’ 

गभर्नर पौडेलले  देशको बजेटको आकार २०५८–६० सालको तुलनामा १ खर्बबाट बढेर १८–१९ खर्ब पुगिसक्दा पनि आर्थिक अवस्थामा तात्त्विक परिवर्तन आउन नसकेको बताए ।

उनले पछिल्ला विभिन्न घटनाक्रमले बैङ्क तथा वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा समेत असर परेको र तत्काल सुधार हुने अवस्था नदेखिएको धारणा व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप