केपी ओली सर्वसम्मत अध्यक्ष हुनेमा शङ्का छैनः नेता अधिकारी
सारांश
- नेकपा एमालेका नेता खगराज अधिकारीले आगामी महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष बन्ने दाबी गरे।
- अधिकारीले वर्तमान सरकारले चुनाव गराउन नचाहेको र युवाका मागहरूलाई हाइज्याक गरेको आरोप लगाए।
- उनले एमाले चुनावसँग नडराएको र भीम रावलको पार्टी परित्यागले पार्टीलाई क्षति नहुने बताए।
धनगढी । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले अगामी मंसिरमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष बन्ने कुरामा शङ्का नभएको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले ओली नै सर्वसम्मत अध्यक्ष बन्ने कुरामा शङ्का नभएको बताएका हुन् ।
उनले सर्वसम्मत अध्यक्ष नहुने अवस्थामा समेत स्वस्थ प्रतिस्पर्धा हुने बताउँदै त्यसले पार्टीलाई कुनै नोक्सानी नहुने बताए ।
‘२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेसा व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा एमालेले वर्तमान नेतृत्वलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शङ्का छैन,’ अधिकारीले भने, ‘त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ । त्यसले पार्टीलाई कुनै नोक्सान गर्दैन । सबैलाई आकलन गरेर वर्तमान नेतृत्वलाई निरन्तरता दिन्छ ।’
असंवैधानिक बाटोबाट बनेको अहिलेको सरकारले जनादेश लिन नचाहेको दाबी गर्दै अधिकारीले नेकपा एमाले चुनावसँग नडराएको दाबी समेत गरे । ठुलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोसाक पनि लुटिएको अवस्थामा भयरहित वातावरण बनाउने प्रमुख दायित्व सरकारको भए पनि त्यसतर्फ ध्यान नदिइएको बताए ।
अहिलेको अवस्थामा पनि नेकपा एमाले डराएर नभएर आउनै पर्ने अवस्था सिर्जना भएपछि सडकमा आएका उनको भनाइ छ । अधिकारीले एमाले छाडेर मातृ भूमि अभियान चलाइरहेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि एमालेले कुनै क्षति बेहोर्नु नपर्ने दाबी गरे ।
रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमा एमालेले बेहोर्नुपर्ने नोक्सानी बेहोरिसकेकाले थप नोक्सान नहुने उनको दाबी थियो । सामाजिक सञ्जालको नियमन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको विषयलाई लिएर जेनजी पुस्ताले २३ भदौमा गरेको शान्तिपूर्ण आन्दोलन हाइज्याक गरिएको उनले बताए ।
असंवैधानिक बाटोबाट संविधानले कल्पना नै नगरेको सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश प्रधानमन्त्री बनेर युवाका माग हाईज्याक र मुलुकलाई कमजोर बनाउने खेल भएको अधिकारीले बताए ।
‘संविधानले सर्वोच्चका न्यायाधीश मानव अधिकार बाहेक कतै पनि नियुक्त हुन नमिल्ने व्यवस्था गरेको छ । तर अहिले प्रश्न गर्ने व्यक्ति सञ्चार मन्त्री, व्याख्याको पुनर्पुष्टि गर्ने व्यक्ति प्रधानमन्त्री भएर संविधानको खिल्ली उडाइएको छ,’ अधिकारीले भने, ‘यो सरकारले चुनाव पनि गराउँदैन । गराउन आएको पनि होइन । नवयुवाको मागलाई हाइज्याक गर्ने, नेपाललाई कमजोर बनाएर भुटानीकरण, सिक्किमीकरण जस्तो गर्ने मनसायका साथ यी गतिविधि भएका हुन् ।’
सोही कारण संसद पुनः स्थापना गरेर भए पनि एक पटक प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्ने संवैधानिक व्यवस्था गरेर अघि बढ्नुपर्ने र देशलाई निकास दिने पक्षमा एमाले रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण