बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

मङ्सिर पहिलो साता अन्तर्राष्ट्रिय कर सम्मेलन हुने

बिहीबार, २७ कात्तिक २०८२, १७ : ४९
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्सले मंसिर २ देखि ५ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय कर सम्मेलन आयोजना गर्दैछ।
  • सम्मेलनले कर शिक्षा, क्षमता विकास, नीतिगत संवाद, र अनुसन्धानमा जोड दिनेछ, जसमा ३५० अन्तर्राष्ट्रिय र २०० भन्दा बढी नेपाली सहभागी हुनेछन्।
  • यस सम्मेलनले नेपालको कर प्रणालीको विकास, लगानी प्रवर्द्धन, र अन्तर्राष्ट्रिय सहकार्यमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

काठमाडौँ । नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्सको आयोजनामा आगामी मङ्सिर २ गतेदेखि ५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय कर सम्मेलन आयोजना हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र सुधारको उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए ।

‘सम्मेलन विशेषगरी नेपालको कर प्रणालीको विकसित रुप प्रदर्शन गर्ने, नेपाली कर व्यवसायीहरुलाई अन्तरराष्ट्रियस्तरका विशेषज्ञसँग जोड्ने र नेपाललाई ‘माइस’ गन्तव्यका रुपमा प्रवर्द्धनमा केन्द्रित हुनेछ’, उनले भने । उनका अनुसार सम्मेलनमा ३५० जना अन्तरराष्ट्रिय प्रतिनिधि र २०० भन्दाबढी नेपालका कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा विज्ञहरुको सहभागिता रहनेछ ।

सम्मेलनले नेपालको कर र वित्त व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर नीति र अनुपालनामा अन्तरराष्ट्रिय अभ्यास आदनप्रदान र सञ्चार प्रवर्द्धन गर्नेमा अपेक्षा गरिएको छ ।  यसमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन तथा कर र लगानीका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य विस्तारमा सहयोग पुग्ने अध्यक्ष पोखरलले बताए ।

सम्मेलनमा विकासशील देशहरुको कर प्रणालीको ऐतिहासिक विकास, उदाउँदो अर्थतन्त्रमा कर नीति कार्यान्वयनका चुनौतीहरु, विश्वव्यापी कर अनुपालनामा कर व्यवसायीको भूमिका, कर प्रशासनमा डिजिटल रुपान्तरणका अवसर र चुनौती, विकासशील अर्थतन्त्रमा कर व्यवसायीहरुको आचारसंहिता र व्यावसायिक दायित्वलगायतका विषयमा बहस हुनेछ । 

सम्मेलनको आकर्षणका रुपमा मङ्सिर ५ गते आन्तरिक राजस्व विभागसँगको सहकार्यमा ‘प्राक्टिकल एस्पेक्ट अफ ट्रान्सफर प्राइसिङ’ विषयमा चार घण्टा लामो सेमिनार आयोजना हुनेछ ।  सम्मेलन एसिया–ओसियान ट्याक्स कन्सलटेन्ट्स एशोसिएसनको समन्वयमा सञ्चालन हुनेछ । नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्स सन् २०१८ मा स्थापना भएको हो । 

संस्थाले नेपालमा करसम्बन्धी नीतिगत अध्ययन, कर विज्ञको प्रवर्द्धन, प्रचलित अन्तर्राष्ट्रिय कर अभ्यासको विश्लेषण, कर व्यवसायीको संस्थागत विकास तथा करसम्बन्धी निकायसँग सहकार्य र समन्वय गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप