बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना

‘हतारमा अनुमोदन नगरौँ, कार्यविधि र कानुनी प्रक्रिया पालना गरौँ’
बिहीबार, २५ असार २०८३, १३ : ०१
बिहीबार, २५ असार २०८३

सारांश

  • कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिहरूको विस्तृत अध्ययन र परीक्षणपछि मात्र निर्णय गर्नुपर्ने बताएका छन्।
  • उनले विगतमा समितिले प्रधानन्यायाधीशको सिफारिसमा परेका व्यक्तिलाई अस्वीकार गरेको स्मरण गराउँदै सबैलाई आँखा चिम्लेर अनुमोदन गर्न आवश्यक नरहेको बताए।
  • ढुंगानाले सुनुवाइ समिति गलत व्यक्तिलाई अस्वीकार गर्न सक्ने क्षमता राख्नुपर्ने र कार्यविधि तथा कानुनी प्रक्रियाको पूर्ण पालना गरेमा जनविश्वास बढ्ने धारणा राखे।

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा विस्तृत अध्ययन र परीक्षणपछि मात्रै निर्णय गर्नुपर्ने बताएका छन्।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन्। 

विगतमा समितिले प्रधानन्यायाधीशमा सिफारिस भएको व्यक्तिलाई नै अयोग्य ठहर गरी अस्वीकार गरेको स्मरण गराउँदै उनले सिफारिस भएका सबैलाई आँखा चिम्लेर अनुमोदन गर्न आवश्यक नरहेको उल्लेख गरे। 

संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तमा योग्य व्यक्ति भनेर सिफारिस गरेको भएपनि समितिले आफ्नो संवैधानिक दायित्वअनुसार विस्तृत अध्ययन र परीक्षणपछि मात्रै निर्णय गर्नुपर्ने उनको भनाइ छ। सुनुवाइ समिति निकम्मा नभएको उल्लेख गर्दै उनले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्ने क्षमता राख्नुपर्ने स्पष्ट पारे।

बैठकमा बोल्दै सांसद ढुंगानाले भने, ‘हामीले समितिमा आएका नामलाई स्वीकृति पनि गरेका छौँ र अस्वीकृत पनि गरेका छौँ। यो सुनुवाइ समिति निकम्मा भएको छैन, यसले गलत मान्छेलाई अस्वीकार गरेको छ। प्रधानन्यायाधीश जस्तो सिफारिस भएको मान्छेलाई पनि यसले पास गरेको छैन। त्यसैले अहिले निर्वाचन आयोगको आयुक्त र प्रमुख आयुक्त बनाउँदै गर्दाखेरि पनि असल मान्छेलाई मात्रै अनुमोदन गर्नुपर्छ। सरकारले राम्रै मान्छे भनेर सिफारिस गरेको होला तर सुनुवाइको प्रावधान राखिसकेपछि हामीले विस्तृत जानकारी राख्नुपर्छ। सुनुवाइ समिति मार्फत हामीले जनतालाई आश्वस्त गराउनुपर्छ कि कस्ता व्यक्तिहरू आएका छन्।’

उनले सुनुवाइका लागि समितिको कार्यविधिअनुसार नै उजुरी सङ्कलन, त्यसमाथि छलफल, उम्मेदवारसँग कार्ययोजना माग्ने तथा त्यसको मूल्याङ्कन गर्ने कार्य गर्नुपर्ने बताए। हतार हतारमा अनुमोदन गर्ने कार्य गर्न नहुनेमा जोड दिँदै उनले कार्यविधि र कानुनी प्रक्रियाको पूर्ण पालना गरेमा मात्र समितिप्रति जनविश्वास बढ्ने धारणा राखे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप