बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

नेपालमा अवसरको कमी छैन, जानकारीको पहुँच सीमित छ : सांसद श्रेष्ठ

बिहीबार, २५ असार २०८३, १२ : ५५
बिहीबार, २५ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुश्का श्रेष्ठले जानकारीको अभावमा नागरिकले सरकारले उपलब्ध गराएको अवसर उपयोग गर्नबाट वञ्चित हुनु परेको बताएकी छन्।
  • उनले नेपालमा अवसरको कमी नभएको तर सामान्य नागरिकले त्यसको जानकारी नपाउँदा समस्या हुने गरेको स्पष्ट पारिन्।
  • सांसद श्रेष्ठले साना तथा मझौला व्यवसायीले अनुदान पाइन्छ भन्ने जानकारी नपाउँदा अवसर लिनबाट वञ्चित भएको दृष्टान्त पेस गरिन्।

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले यथेष्ट जानकारीको अभावमा नागरिकले सरकारले उपलब्ध गराएको अवसर उपयोग गर्नबाट वञ्चित हुनु परेको बताएकी छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालमा अवसरको कमी नभएको तर सामान्य नागरिकले त्यसको जानकारी नपाउँदा समस्या हुने गरेको स्पष्ट पारिन्। 

सांसद श्रेष्ठले सरकारको नीतिबारे नागरिकले जानकारी पाए वा नपाएकोबारे गम्भीर समीक्षा गरेर सोहीअनुसार कार्यक्रम बनाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराइन्। साना तथा मझौला व्यवसायीले अनुदान पाइन्छ भन्ने जानकारी नपाउँदा उनीहरूमध्ये धेरैजसो उक्त अवसर लिनबाट वञ्चित भएको दृष्टान्त पेस गर्दै उनले नागरिकलाई राज्यले दिने अवसरबारे जानकारी गराउने कुरामा सरकारले आफ्नो क्षमता बढाउनुपर्ने उल्लेख गरिन्।

बैठकमा बोल्दै सांसद श्रेष्ठले भनिन्, ‘नेपालका साना तथा मझौला उद्योग हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन्। नेपालको करिब ९८ प्रतिशत व्यवसाय यही हो, जसले अर्थतन्त्रमा करिब २२ प्रतिशत योगदान पुर्‍याएको छ। सरकारले पनि यसमा राम्रो नीति ल्याइरहेको अवस्था छ तर उद्यमीहरूलाई सोध्दा इन्फर्मेशन पाउन नै गाह्रो छ भन्ने जवाफ आउँछ। नेपालमा अवसरको कमी हुँदै होइन, अवसरको जानकारीको पहुँच भने अझै पनि सीमित छ। अब हामीले नीति बनाउनेसँगै नीति नागरिकसम्म पुर्‍याउने क्षमता पनि विकास गर्नुपर्दछ।’

सांसद श्रेष्ठले सरकारले आफ्ना नीति तथा योजनाहरू नागरिकसम्म पुर्‍याउने क्षमताको विकास गर्न र नियमित रूपमा यसको गहन समीक्षा गर्न आवश्यक रहेको कुरामा जोड दिएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप