शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

एमाले नेतालाई प्रश्न : ओलीले त महाधिवेशनमा म बोल्छु सकियो भन्नुभयो, तपाईंहरू के गर्ने ?

शुक्रबार, २८ कात्तिक २०८२, १५ : ००
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • एमालेको महाधिवेशन नजिकिँदै गर्दा 'घर फर्क' अभियानले पार्टीभित्र बहस सिर्जना गरेको छ।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिन आनाकानी गरिएको विषयमा समेत छलफल भइरहेको छ।
  • अध्यक्ष ओलीको विकल्प खोज्ने चेतावनी दिँदै, नेतृत्वको नवीनता र राजनीतिक कार्यदिशामा जोड दिइएको छ।

विराटनगर । नेकपा (एमाले)को ११औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको ‘घर फर्क’ अभियानले पार्टीभित्रै नयाँ बहस सिर्जना गरेको छ । 

बाहिरिएकालाई घर फर्काउने अभियान चलिरहँदा पार्टीकै पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भने सदस्यता दिन आनाकानी गरिएको छ । यो विषयमा एमालेभित्रै बहस छ । यो बहसले भण्डारीलाई तत्काल सदस्यता दिएर महाधिवेशनबाट अध्यक्षकै रूपमा अघि सार्नुपर्ने माग गरिरहेको छ । 

यदि नेतृत्वले भण्डारीलाई रोक्न खोजे महाधिवेशनबाटै अध्यक्ष ओलीको विकल्प खोेज्ने चेतावनीसमेत दिइएको छ । अध्यक्ष ओलीको कार्यशैली, पार्टीको महाधिवेशन र नयाँ नेतृत्वजस्ता विषयमा केन्द्रित रहेर हामीले एमालेका केन्द्रीय सदस्य युवराज बाँस्कोटासँग कुराकानी गरेका छौँ । 

तपाईंले सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीले घर फर्क अभियान चलाएको विषयमा प्रतिक्रिया दिँदै विद्या भण्डारीलाई सदस्यता दिनुपर्नेमा पुनः जोड दिनुभएको छ । उहाँले सदस्यता पाउनुहोला ?

– म हिजोदेखि नै पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीसहित एमाले, उहाँको प्रस्तावमा केपी शर्मा ओली पुनः अध्यक्ष हुनुभएको एमाले, विभिन्न बेलामा विभिन्न कारणले टाढिएका वा बाहिरिएका नेता कार्यकर्तासहितको एमाले, नेपाली कम्युनिस्ट आन्दोलनमा यसको राजनीतिक वैचारिक र संगठनात्मक सञ्जालले उचाइ लिएको मूलधारको एमाले चाहने मानिस हो । सामाजिक सञ्जालमा मात्र होइन, भर्खरै अघिमात्र सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकमा पनि यो राय राखेँ, माग गरेँ र अनुनय विनयका साथ अनुरोध गरेँ । तत्कालीन अवस्थामा नेतृत्वले यसलाई सहजै लिएको थियो । यद्यपि, अहिले त्यस्तो केही प्रगति भएको देखिएन । पार्टीका औपचारिक फोरममा फेरि पनि विषय उठाइने छ । 

हामी घरबाहिरिएकालाई घर फर्क भन्ने तर पार्टी योजनाअनुरुप राजकीय जिम्मेवारीमा खटाइएका वा पठाइएका व्यक्ति व्यक्तित्व आफ्नो जिम्मेवारीअनुसार कार्यकाल सकेर पार्टी काममै फर्किन चाहन्छु भन्दा किन त्यो अवसर नदिने ? राजकीय जिम्मेवारी सम्हाल्दै गर्दा प्राप्त गरेको ज्ञान र अनुभवको पक्षलाई पार्टी निर्माणको प्रक्रियामा किन प्रयोग नगर्ने ? भन्ने हो मेरो तर्क । सँगसँगै पार्टीको पूर्वउपाध्यक्षले पार्टीले खटाएको काम गर्छु, जीवनको उत्तरार्धमा कम्युनिस्ट पार्टी र आन्दोलनको सदस्य भएर बस्छु र मर्दाका बखत पनि कम्युनिस्ट पार्टीको झण्डा ओडेर मर्ने अवस्था बनाएर सक्रिया जीवनकाललाई पूरा गर्छु भनेर सदिच्छा राख्दा पनि पार्टी सदस्यता नदिने त ? भन्ने प्रश्न पनि हो मेरो । 

यसो नगरे घर फर्क अभियान के हुन्छ र अहिलेचाहिँ कसरी त्यो अभियान चलिरहेको छ त ?

– पार्टीले केन्द्रीय योजनाअनुरुप केन्द्रमा घर फर्क अभियान चलायो । यो जरुरी थियो, सुखद् आरम्भ भयो । यसले राम्रो सन्देश प्रवाह गरेको छ । यद्यपि, अलिक पहिल्यै गर्नुपर्दथ्यो भन्ने पनि छ । यो अभियानलाई तलतलसम्म लैजाने योजना पनि सँगसँगै कार्यान्वयनमा आइरहेको छ । कतिपय प्रदेश, जिल्ला र पालिका कमिटीले यसको थालनी गरेका छन् । घर फर्क अभियानको वार्ता टोली, संवाद सम्पर्क अभियान, संवादका विषय शीर्षकहरू आदि यस सन्दर्भमा अघि बढेका छन् । घर फर्क अभियानअन्तर्गत आउन र जोडिन चाहने पंक्ति भने एमालेको यो अभियानलाई सराहना गर्दै आसन्न ११ औँ महाधिवेश नजिकै भएकोले यसपछि यससम्बन्धी विचार गर्नुपर्ने तहमा आएर आफ्ना रायसुझावहरू सार्वजनिक गर्ने गर्नुभएको छ । 

तर, एमालेका कतिपय नेताहरू एमाले छोडेर नेपाली कम्युनिस्ट पार्टीमा गइरहेका छन् । हिजो मात्रै सुदूरपश्चिमका नेता, कार्यकर्ता थुप्रैले पार्टी छोडे नि ?

– यो पहिलो घटना मात्र होइन, नेपालमा राजनीतिक दल, दल स्वयंमा अदलबदल र दलभित्रको शक्ति अदलबदल अलिक पुरानै अभ्यास हो भन्ने ठान्दछु । निर्माणकालदेखि नै नेपाली कम्युनिस्ट आन्दोलन कहिल्यै एकीकृत हुन र रहन सकेन । निर्माणको ७५ वर्षयता कहिले के निहुँमा र कहिले के नाउँमा दर्जनौँपटक परस्पर टुट्ने, जुट्ने, भत्कने र फेरि जुट्ने शृंखलाको यो पछिल्लो कडी हो । आफूहरू रणकौशल योग्यता प्रस्तुत गर्न नसक्ने अनि उम्कन सहजताका लागि दोषजति अरुलाई थोपर्दै व्यक्ति व्यक्ति नाउँ पार्टीको पुच्छरतिर झुण्डाउँदै फुट्नेसँग भन्नुपर्ने केही छैन । नेपालमा कम्युनिस्ट जनमत छ तर यो जनमत लिने कम्युनिस्ट पार्टीहरू एकीकृत हुन नसक्दा नेपाली राजनीतिले अस्थिरता व्यहोर्नुपरेको हो । यो निष्कर्षका साथ एकीकरणको एउटा प्रक्रियामा नेपाली कम्युनिस्ट पार्टी बनेको हो भने त ठीकै हो । तर परस्पर इगो, आफूकेन्द्रित महत्त्वाकांक्षा, व्यक्तिगत कुण्ठा, पद प्राप्तिको चरम आशक्ति र अस्तित्व रक्षाको रक्षाकवच मात्र बनेको हो भने यसले केही अर्थ राख्दैन । राजनीतिका लागि राजनीति होइन, हामीलाई अर्थराजनीतिक योजनासहितको राजनीति चाहिएको छ । यसका निम्ति योगदान गर्न जोसुकैलाई पनि छुट छ । केही साथीहरू जानुभयो । सायद ! उहाँहरूले यसैलाई उपयुक्त ठहराउनुभयो होला ! अहिले म केही टिप्पणी गर्दिनँ । 

अबको ११औँ महाधिवेशनमा तपाईंहरू विद्या भण्डारीलाई सदस्यता दिलाएर अध्यक्ष बनाउने तयारीमा हो ?

– तयारी आजको मात्र होइन, हिजोदेखि नै थियो । हाम्रो संगठित प्रयत्नलाई बुझिएन । बुझ्ने कोशिस पनि गरिएन । सबैलाई समेट्न, ओत्न र जोड्न मूल नेतृत्वले फराकिलो छाती बनाएको देखिएन, परिणाममा यस्तो केही भेटिएन । भेटिएको भए महाधिवेशन नजिकिँदै गर्दा आज चिरिएको विभाजित मानसिकता बन्ने थिएन । यो मानसिकताले तलतलसम्म घर गर्ने थिएन, आकार लिने थिएन । पार्टीको दोस्रो वरियता क्रममा रहनुभएको पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई रोक्नुपर्ने, छेक्नुपर्ने र तेजोबध गर्नुपर्ने कुनै कारण थिएन । हामी अझै पनि उहाँलाई महाधिवेशनको मञ्चसम्म लैजाने बाटाहरू छन्, उपायहरू छन् । यससम्बन्धी गृहकार्य गरौँ र पार्टी काममा जोडिन चाहन्छु भन्ने उहाँको सदाशयतालाई महाधिवेशनको हलबाट अनुमोदन गराउँदै प्राप्त म्यान्डेटअनुसार पदस्थान गरौँ भन्ने हो । भएन भने उहाँको प्रस्तावमा अर्को कुनै नेतृत्वलाई उभ्याउनुपर्ने स्थिति विकास हुन सक्छ ।

अध्यक्षमा अध्यक्ष ओलीको विकल्प किन खोज्नुभएको ? अर्को नेतृत्वचाहिँ को ?

– अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै दोहोरिनुहोला ! अर्को कुनै नयाँ अनुहार पदासीन हुनुहोला ! समयले बताउने नै छ । कुरा व्यक्तिको होइन, खाँटी कुराचाहिँ मूल राजनीतिको हो र यसलाई सहजै बोक्न सक्ने नेतृत्व क्षमताको हो । जस्तोः सिद्धान्तत सर्वस्वीकार्य नेपाली क्रान्तिको मौलिक जबजको एउटा अभिन्न अंगको रूपमा स्थापित हाम्रो पार्टी जीवनको अन्तरपार्टी लोकतन्त्र र लोकतान्त्रीकरणको प्रक्रिया अभ्यासमा साँघुरियो । कुण्ठित भयो । कथनी र करनीमा कहिल्यै पनि मेल भएन । यसकारण कार्यकर्तामा असन्तुष्टि मात्र होइन, समाजको सचेत मस्तिष्कमाझ प्रश्न उठ्यो । यसलाई निरुपण गर्न पनि नेतृत्वको नवीनता चाहियो । अर्को लेनिनवादी संगठनात्मक सिद्धान्तअनुरुप सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको परिपाटी एकदमै खुम्चियो । रिटायर्ड कर्मचारी क्लब, पुलिस क्लब चले वा चलाएझैँ भयो, कमिटी प्रणाली देखाउने दाँत मात्र भयो । फलस्वरुप, एकल नेतृत्व र सबथोक आफूमात्र भयो । पार्टीभित्र कसैलाई उभ्याउन अति धेरै महिमामण्डन गर्ने, देवत्वकरण र कसैलाई खुइल्याउन अति घृणास्पद दानवीकरण संस्थागत भयो । यसकारण पनि नेतृत्वको नवीनता चाहियो । अर्को जेनजी उमेर समूहका हाम्रा भाइबहिनीले चलाएको भ्रष्टाचारविरुद्ध सुशासनको मार र भावनाको पक्षपोषणसहित जवाफदेहिताको अभावमा राष्ट्रिय राजनीतिमै हामीमाथि हाम्रो राजनीतिक योग्यता, इमान, निष्ठा आदिको ठाउँमा उभिएर प्रश्न उठ्यो । जेनजी आन्दोलनमा घुसपैठ भयो होला । भएकै कारण रक्तपात भयो । भदौ २४ गते घटेको आततायीपूर्ण र विध्वांशात्मक भयो । तर, २३ गतेचाहिँ त्यत्रो युवाको हत्या कसरी भयो ? यथेष्ठ अध्ययन भएन । जवाफ आएन, भएन । नेतृत्वमा रहेका बखत भए गरिएका कामको जस र अपजसको भागिदार नबन्दा शंका र अविश्वास चुलियो । जवाफको अभावको अवस्था बन्यो । यसको उपर्युक्त समाधान दिन नेतृत्वको नवीनता चाहियो । 

अर्को, हामीले तय गरेको ७० वर्ष उमेर हद र दुई कार्यकाल फगतसिद्ध भयो । केटाकेटीको भाडाकुटी खेलजस्तै भयो । व्यक्तिकेन्द्रित हाम्रा निर्णय, यससँग अन्तरनिहित सर्त र अर्थलाई समाजले आफ्नो ढंगले बुझ्ने, व्याख्या र विश्लेषण गर्ने अवस्था र स्थिति बन्यो । यसकारण आफ्नो निर्णय क्षमताको तागत पुष्टि गर्न नेतृत्वको नवीनता चाहियो । 

अहिले गैरदलीय सरकार छ । दलीय अभ्यासलाई निरुत्साहित गर्न खोज्दै छ । यो बेलामा दलीय संवादलाई तीव्रता दिएर सहकार्यको वातावरण बनाउँदै राजनीतिक कार्यदिशा मिल्दाजुल्दाबिच एकताको पहल प्रयत्न लिनुपर्ने तर मठाधीश हाम्रो स्वभाव र चरित्र नै बाधक बन्यो । मूलधारको नेतृत्व गर्ने हाम्रो शक्तिका हिसाबले अग्रसरता लिन हामी चुक्यौँ । अझै पनि अग्रसरता लिन सकिन्छ र यसका लागि उपयुक्त वातावरण चाहिन्छ । यसकारण समग्र पक्षको व्यवस्थापन गर्नुपर्छ भनेर परिस्कृत नेतृत्व खोजिएको हो । 

महाधिवेशनमा यी कुरामा छलफल हुन्छ ?

– हुन्छ । महाधिवेशन कुनै पर्वोत्सव, विवाह, भोजभतेर आदिको निम्ता होइन नि ! दिएको समयमा गयो, पुग्यो अनि चाटचुट्ट खायो हिँड्यो । कम्युनिस्ट पार्टीको महाविधेशन आफैंमा राजनीतिक मूल्यसँग साटिएको महाधिवेशन हुन्छ, निर्दिष्ट विचारनिर्देशित व्यवहारले गाइड गरेको महाधिवेशन हुन्छ । राजनीतिक वैचारिक अस्त्रको धारिलो पक्ष अर्थात् यसका सहीपनाको पुष्टि हुन्छ र यसलाई थप सुदृढ तुल्याउन रायसुझाव आदि लिइन्छ । यसको आलोक यसबिचमा भए गरिएका कामको समीक्षा, राजनीतिक वस्तुस्थितिको अध्ययन, आवधिक र रणनीतिक योजना निक्र्यौल र यसलाई चुस्तदुरुस्त ढंगले कार्यान्वयन गर्न सक्ने नेतृत्वको खोजि हुन्छ । खोजी हुने सन्दर्भमा प्राप्त नेतृत्व अनुमोदन होला वा अन्यत्र खोजिएला । यत्तिकै तीर्थव्रत गर्ने शैलीमा उभिएर तस्बिरहरू खिच्नमात्र मानिस देशभिरबाट जुट्ला त ? 

अनि अध्यक्ष ओलीले त महाधिवेशनमा म बोल्छु सकिन्छ भनिसक्नुभयो त ?

– कहाँ कुन सन्दर्भमा भन्नुभयो ? यकिन थाहा भएन । औपचारिक फोरममा यस्तो भन्नुभएन । हाम्रो अध्यक्ष अलिक रसिक स्वभावको हुनुहुन्छ । उहाँको बोली, भाषा र शैलीमा त्यो प्रकट हुने गर्दछ । कहिलेकाहीँ कार्यकर्तामाझ तिनको हौसला वृद्धिका लागि अनौपचारिक खपतका लागि पनि भन्ने गर्नुहुन्छ, भन्नुभयो होला । मैले अघि पनि भनेँ– महाधिवेशन त्यस्तो हुँदैन । घरमा सत्यनारायणको पूजा लगाएको दिन त शास्त्रीय मान्यताअनुरुप न्यूनतम प्रक्रिया पूरा गरेर मात्र प्रसाद वितरण हुन्छ, यो त महाधिवेशन पो त । कहाँ अध्यक्षले मात्र बोल्ने र अरूले बोल्न नपाउने भन्ने हुन्छ र !

त्यस्तै भयो भने तपाईंहरू के गर्नुहुन्छ ?

– अघि मैले भनिसकेँ । लोकप्रिय जनमतप्राप्त हाम्रो पार्टी नेकपा एमालेले पीठ फर्काएर हिँड्न मिल्दैन । उठेका प्रश्नको उत्तर नदिइकन उम्कन र पन्छिन हुँदैन र नैतिक रूपमा पनि मिल्दैन । राष्ट्रिय राजनीतिमा ज्वलन्त मुद्दाका रूपमा खड्किँदा यी उद्देश्य पूरा गर्न र केपी कमरेड अध्यक्ष रहनुभएको थालिएका राम्रा काम र असल अभ्यासका अधुरा अपूरा अभिभारालाई पूरा गर्न अर्को कुनै सुयोग्य पात्र अघि सार्छौँ । यसमा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको शुभेच्छा, प्रत्यक्ष–परोक्ष साथ, राजनीतिक र वैचारिक सहयोग रहन्छ । 

महाधिवेशनको तयारीसँगै अहिले एमालेको मूल मुद्दा के हो ?

– जेनजी उमेर समूहका भाइबहिनीको बलिदानीपूर्ण आन्दोलनको जगमा सुशीला कार्की नेतृत्वको गैरदलीय सरकार बनेको छ । यो सरकारको पहिलो काम आन्दोलनमा उठेको आवाजलाई सम्बोधन गर्नु, माग पूरा गर्नु र तोकिएको समयमा चुनाव गराउनु नै हो । प्रथमतः आन्दोलनका माग पूरा गर्न केही दिनका लागि भए पनि हठात् विघठित संसद् पुनस्र्थापना गर्नुपर्छ । क्रमशः यस कालमा आवश्यकता पूर्वाधारसहित संविधान संशोधन गर्नुपर्छ । जेनजी सम्मिलित सर्वदलीय सरकार बनाउनुपर्छ र निर्भयताको वातावरण बनाएसँगै अर्ली इलेक्सन जानुपर्छ भन्ने हो । यो रोडम्यापमा एमाले दृढ छ । यथास्थितिमा चुनाव त के अरू केही पनि हुँदैन । दलीय व्यवस्थामा दलीय भूमिकालाई तिलाञ्जलि दिन चाहेर परिस्थितिले कोल्टे फेर्न सक्दैन । राजनीतिक दलका नेताको अनुहार हेर्नु छैन भन्नेजस्ता अभिव्यक्ति सरकारका मानिसले दिनु हुँदैन । संविधान र लोकतन्त्रलाई कोममा राखेर गोडाफार, सतर्कको अवस्था बन्न सक्दैन भनेर हामी मूलतः श्रृंखलाबद्ध कामको सुरुवात गर्न अहिले यतबेला संसद् पुनस्र्थापनको पक्षमा जनदबाब सिर्जना गर्ने माहोल बनाइरहेका छौँ ।

एमाले त देश–विदेशमा समेत दह्रो संगठनात्मक सञ्जाल बनाएको पार्टी मानिन्थ्यो, कहिलेबाट र कहाँबाट यस्तो समस्या आयो ? 

– एमालेमा मात्र होइन, यो अवस्था अरूमा पनि छ । टाढाको कुरा नगरौँ ! यहीँ नजिकै पश्चिम बंगालमा तीन दशक लामो समयसम्म राज गरेको कम्युनिस्टसत्ता त्यसको पत्तासमेत नरहने अवस्थामा पुगेको छ, साफ भएको छ । कम्युनिस्ट पार्टीको झण्डा सडकपेटीमा होइन, स्टेशनरीमा पनि नपाउने अवस्था बनेको छ । यस्तो किन भयो होला त ! कम्युनिस्ट पार्टीमा पार्टी निर्माणको राजनीतिक औचित्य पुष्टि गर्न राजनीतिक वैचारिक कामलाई महत्त्व दिइँदैन । अन्तरपार्टी सञ्चालनमा कार्यकर्ता पंक्ति निर्णायक बन्न सक्दैन, जनवाद शून्य र केन्द्रीयता हाबी भएको अवस्थाले काम गर्छ, बुर्जुवा छवि झल्कने पात्रजस्तै कम्युनिस्ट नेता आत्मप्रशंसा र अर्थमोहको स्रोतसँग लालयित हुन्छ, देवत्वकरणमा खुसी हुने र आलोचनालाई बाइपास गर्ने गर्छ, कार्यकर्ताको त्याग र इमानभन्दा पनि ठेक्कापट्टाको पंक्तिलाई प्रश्रय दिन्छ । अवसरको बाँडफाँटमा सबैको पहुँचको सुनिश्चितासहित समान व्यवहार गर्दैन । विषयगत अध्ययन र अर्थराजनीतिक विषयमा योजना बनाउन सक्दैन, कम्युनिस्ट नेतृत्वले आफ्नो व्यवहारमा वर्ग र वर्गदृष्टि राख्दैन, कम्युनिस्ट नेतृत्व उसको आचरण र स्वभावमा आकर्षक बन्न सक्दैन र जातीय, भाषिक र साम्प्रदायिक गतिविधिको सिकार हुन्छ, अनि हुने यही हो नि ! होइन र ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप