शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
पार्टीको नाम विवाद

२३ वर्ष ‘फ्रिज’ भएको नेकपा विवाद फेरि बल्झियो

यस्तो छ नेकपाको इतिहास
शुक्रबार, २८ कात्तिक २०८२, १३ : १४
शुक्रबार, २८ कात्तिक २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वाम घटकले एकता गरी गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)  विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले कात्तिक २६ गते पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको ‘नेकपा’विरुद्ध उजुरी दिएका हुन् । आयोगमा दिएको उजुरीमा सुवेदीले आफ्नो दलसँग मिल्दोजुल्दो नाम राखेर भ्रम सिर्जना गर्न खोजिएकाले दल दर्ता नगरिदिन अनुरोध गरिएका छन् ।

उजुरीमा भनिएको छ, ‘यस दलसँग मिल्दोजुल्दो गरी नाममा ‘बाई मात्रा’ तर्कले जस्ता सामान्य कुरा राखी भ्रम सिर्जना गर्ने मनसायले स्पष्ट अलग पहिचान नखुल्ने छोटकरीमा सीपीएन अङ्ग्रेजीमा कम्युनिस्ट पार्टी अफ नेपाल नाम कायम हुने गरी अन्य दल दर्ता नगरिदिनु हुन अनुरोध गरिन्छ ।’

यसअघि २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएकोमा अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । कट्टेलले दायर गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै २०७७ फागुन २३ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा बदर गरेको थियो ।

तर यसपटक संयोजक प्रचण्डले अगाडि नेपाल नराखी नेपाली राखेर नेकपा दल दर्ता गराएका थिए । प्रचण्ड नेतृत्वको नेकपा अहिले दल दर्ता प्रक्रियामा छ । दुवै दलबिच ‘अ’ र ‘ई’ कारको मात्र फरक देखिन्छ । प्रचण्डले दर्ता गराएको नेकपा ‘ई’कार र सुवेदीको नाममा दर्ता भएको नेकपा ‘अ’कार रहेको छ । दुवै दलको नामका अगाडि नेपाली र नेपाल मात्र फरक भएपनि छोटकरी नाम ‘नेकपा’ नै उच्चारण हुन्छ ।

 

दल दर्ता सम्बन्धमा आयोगका पदाधिकारीले निर्णय लिने बताएका छन् । यद्यपि आयोगले नेपाली कम्युनिस्ट पार्टी नै दर्ता गरेमा सर्वोच्चमा मुद्दा पर्ने सम्भावना देखिन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा नेकपा निकै लोकप्रिय नाम हो । ७६ वर्ष इतिहास बोकेको ‘नेकपा’ सबै कम्युनिस्ट पार्टीले नामको अगाडि राख्ने गरेका छन् ।

यस्तो छ नेकपाको इतिहास

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुन् । पुष्पलालले नेकपाको स्थापना २००६ साल वैशाख १० गते कलकत्ता (हाल कोलकाता) को श्यामबजारस्थित एक बंगालीको घरमा गरेका थिए । सदस्यहरूमा नारायणविलास जोशी, निरञ्जनगोविन्द बैद्य, नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ हुन् ।

नेकपा स्थापनापछि २००८ साल असोज ५ गते पहिलो राष्ट्रिय सम्मेलन भयो । राष्ट्रिय सम्मेलनको केही महिनामै महोत्तरीमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले पुष्पलाललाई नेतृत्वबाट हटाएर मनमोहन अधिकारी महासचिव बने ।

२०१० साल माघ (१३–१७)सम्म पाटनमा सम्पन्न नेकपाको महिलो महाधिवेशनबाट अधिकारी नै महासचिवमा चुनिए । २०१४ साल जेठ(१४–२५) सम्म काठमाडौँको दरबारमार्गस्थित फोहोरा दरबारमा भएको दोस्रो महाधिवेशनले डा. केशरजंग रायमाझीलाई महासचिव चुन्यो । २०१७ साल पुस १ गते राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार बर्खास्त गरी राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए । रायमाझीले महेन्द्रको कदमलाई समर्थन गरे । 

पार्टी नेतृत्वले राजाको निरंकुश कदमको समर्थन गरेपछि पार्टीभित्र अन्तरविरोध बढ्दै गयो । अन्तरविरोधका बिच २०१९ वैशाख (४–१५) सम्म भारतको वाराणसीमा सम्पन्न तेस्रो महाधिवेशनले रायमाझीलाई पदबाट निष्कासन गरी तुलसीलाल अमात्य महासचिव निर्वाचित भए । यही तेस्रो महाविधेशनपछि नेकपा नै टुटफुट र विभाजनले छिन्नभिन्न हुन पुग्यो । 

२०२५ सालमा पुष्पलालले भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरी नेकपा पुनर्गठन गरे । २०२८ साल मंसिर २० गते मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंह लगायतले एउटै कम्युनिस्ट केन्द्र बनाउनेगरी पुष्पलालसँग छलफल गरेका थिए । तर वार्ता र छलफल सफल नभएपछि नेकपा अलग-अलग समूह भए । संस्थापक पुष्पलाल कुनै समूहमा नलागी नेकपालाई पुनर्गठन गरे । २०३५ साल साउन ७ गते उनको निधन भयो । 

पुष्पलालको निधनपछि उनकी पत्नी साहना प्रधान र बलराम उपाध्यायले नेकपालाई पुनर्गठन गरे । २०४३ सालमा प्रधानले मनमोहन अधिकारीको पार्टीसँग एकता गरेपछि नेकपा (मार्क्सवादी) गठन भयो । त्यसपछि २०६९ सालसम्म २३ वर्ष नेकपा ‘फ्रिज’ अवस्थामा रह्यो । पुष्पलालका असली अनुयायी दाबी गर्दै आएका नेकपाका अध्यक्ष सुवेदीले नेकपाको विरासतलाई व्यक्तिको नाममा झुण्ड्याउन नहुने निष्कर्षका साथ २०६९ साल चैत १७ गते वैधानिक रुपमै निर्वाचन आयोगमा नेकपा दर्ता गरेको उनले बताए ।

‘निर्वाचन आयोगमा नियमित दर्ता भएको भएका त्यसपछि हो । नत्र नेकपा भन्ने नै थिएन । सबै व्यक्तिका अगाडि जोडिएका थिए । छुट्टै अस्तित्वमा थिएन’, रातोपाटीसँग सुवेदीले भने ।

कट्टेल नेतृत्वको नेकपा एकीकृत, जगत बोगटी नेतृत्वको नेकपा समाजवादी, हरिदेव ज्ञवालीको नेतृत्वमा रहेको मार्क्सवादी कम्युनिस्ट पार्टी र सुवेदी नेतृत्वको संयुक्त मार्क्सवादी मिलेर नेकपा गठन गरेका थिए । 

पुनर्गठित नेकपाका अध्यक्ष कट्टेल अध्यक्ष रहेकै बेला ओली र प्रचण्डले २०७५ साल जेठ ३ गते पार्टी एकता गरी नेकपा राखेर निर्वाचन अयोगमा दल दर्ता गरेका थिए । २०७७ सालमा नेकपाभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला सर्वोच्च अदालतले ओली र प्रचण्ड नेतृत्वको नेकपालाई बदर गरेको थियो । त्यसपछि नेकपाको अध्यक्षबाट कट्टेल हटेपछि सुवेदी नेतृत्वमा आएका थिए ।

विघटित संसद्मा सबैभन्दा ठुलो वामपन्थी दल नेकपा एमालेले आफूलाई पुष्पलालको असली उत्तराधिकारी दाबी गर्दै आएको छ । भर्खर नेकपा माओवादीसँग एकतामा जोडिएको नेकपा एकीकृत समाजवादीले पनि पुष्पलालको उत्तराधिकारी आफू भएको दाबी गर्दै आएको थियो । आयोगमा दर्ता भएका र नभएका नेकपाधारी कम्युनिस्ट, वामपन्थी तथा समाजवादी पार्टी थुप्रै खुलेका छन् । अहिले नेकपा झुण्ड्याउन दलहरुबिच प्रतिस्पर्धा कायम नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप