१६ वर्षको दुश्मनीपछि पर्शुराम र अभिषेकको ‘हस्तमिलन’, सुरक्षा निकाय सतर्क !
सारांश
- विराटनगरका दुई विवादास्पद पात्रबीच १६ वर्षपछि मित्रता भएको तस्बिर सार्वजनिक भएपछि चर्चा सुरु भएको छ।
- दुई पात्रको राजनीतिक महत्त्वाकाङ्क्षा र अवैध धन्दामा संलग्नताका कारण यो मिलन भएको सुरक्षा स्रोतको भनाइ छ।
- मध्यस्थकर्ताले भने यसलाई असमझदारी हटाउने प्रयास मात्र भनेका छन्।
विराटनगर । विराटनगरका मनोजविक्रम शाहले कात्तिक २५ गते साँझ सामाजिक सञ्जालमा ‘आकस्मिक १६ वर्षपछि भएको मित्र मिलन साँच्चै फलदायी र सम्झनायोग्य भेटघाट रह्यो’ भन्दै केही तस्बिरहरू सार्वजनिक गरे ।
ती तस्बिरहरूमा कुनै बेला एकअर्काको ज्यानै लिनका लागि खुकुरी र गोली हानाहानसम्मको तितो इतिहास बोकेका विराटनगरका दुई विवादास्पद पात्र पर्शुराम बस्नेत र अभिषेक गिरीबिचको गलफत्तीको थियो । उनीहरुबिचको १६ वर्षे दुश्मनी एकाएक मित्रतामा परिणत भएको तस्बिर सार्वजनिक गरेसँगै विराटनगरको राजनीतिक र सामाजिक वृत्तमा भने संशय र तरंग पैदा भएको छ ।
शाहले फेसबुकमा ‘आकस्मिक १६ वर्षपछि भएको मित्र मिलन साँच्चै फलदायी र सम्झनायोग्य भेटघाट रह्यो’ भनेपछि यो विषयलाई सुरक्षा निकायले भने गम्भीर चासो र शंकाको दृष्टिले हेरेको छ । एक सुरक्षा अधिकारी भन्छन्, ‘यो अपवित्र गठबन्धन’ हो ।
नाम नबताउने सर्तमा एक उच्च सुरक्षा अधिकारीले भने, ‘यो मिलापलाई हामीले सामान्य रूपमा लिएका छैनौँ । यो एउटा ‘अपवित्र गठबन्धन’ हो र यसप्रति हामी पूर्ण रूपमा संवेदनशील छौँ ।’ उनका अनुसार करिब १६–१७ वर्षदेखि नबोलेका र एकअर्काको ज्यान लिने तहमा पुगेका व्यक्तिहरू अचानक एक ठाउँमा आउनुको पछाडि कुनै ठुलो स्वार्थ लुकेको हुनसक्छ । अर्का एक सुरक्षा अधिकारीले यो अवस्थालाई चित्रण गर्दै भने, ‘यिनीहरू हात्तीजस्तै हुन्, जुध्दा पनि समस्या, मिल्दा पनि समस्या । उनीहरूको झगडाले समाजमा त्रास फैलाउँथ्यो भने उनीहरूको मिलापले सङ्गठित अपराधको नयाँ अध्याय सुरु गर्ने खतरा छ ।’
मध्यस्तकर्ता मनोजविक्रम शाहले यो भेटलाई विमानस्थलमा भएको ‘आकस्मिक संयोग’ बताएपनि यसका पछाडि गहिरो राजनीतिक र व्यावसायिक स्वार्थ लुकेको विश्लेषण गर्न थालिएको छ । दुवै पात्रको राजनीतिक महत्त्वाकाङ्क्षा छ । २०७९ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (ख)बाट एमालेका उम्मेदवार बनेका पर्शुराम बस्नेतलाई उनै अभिषेक गिरीको समूह लागेर हराएको थियो । उक्त क्षेत्रमा कांग्रेसका केदार कार्की विजयी बनेका थिए । कार्की मुख्यमन्त्री समेत भए ।
आगामी चुनावमा सोही क्षेत्रबाट उम्मेदवार बन्ने पर्शुराम बस्नेतको तयारी छ । उता, अभिषेक गिरी पनि विराटनगर र कटहरी गाउँपालिका जोडेर बनेको मोरङ क्षेत्र नम्बर ४ (ख)बाट उम्मेदवार बन्ने निकटस्थहरुलाई बताउँदै आएका छन् । दुवैजनालाई निर्वाचनमा विजयी हुन एक अर्काको सहयोग चाहिन्छ । ‘अभिषेकजी पनि चुनाव लड्ने भन्दै हुनुहुन्छ,’ कांग्रेसका एक नेता भन्छन् ।
सुरक्षा स्रोत भन्छ, ‘आगामी चुनावमा आ–आफ्नो क्षेत्रमा जित सुनिश्चित गर्न एकअर्काको शक्ति आवश्यक पर्ने बुझाइका साथ यो मिलाप भएको हुनसक्छ । क्यासिनो, ठेक्कापट्टा र अन्य अवैध धन्दामा दुवैको संलग्नता रहेको र बजारमा आफ्नो एकाधिकार कायम गर्न यो साझेदारी भएको हुनसक्छ ।’
_9Y6vn5UzJa.jpg)
मध्यस्थकर्ता शाहले भने यसलाई केवल असमझदारी हटाउने प्रयासको रूपमा व्याख्या गरेका छन् । ‘जीवनमा कहिलेसम्म दुश्मनी साँधेर बस्ने ? उहाँहरूबीचको असमझदारी हटेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ शाहले भने । उनले बाहिर चर्चा भएजस्तो कुनै ठुलो योजना वा षड्यन्त्र नभई सामान्य मानवीय सम्बन्ध सुधारको प्रयास मात्र भएको बताएका छन् ।
कुनै समय एउटै समूहमा रहेर विराटनगरमा आफ्नो दबदबा कायम गरेका बस्नेत र गिरीबिच २०६४ सालमा धरानको एक घटनामा लेनदेन विवाद भएपछि सम्बन्ध टुटेको थियो । २०६५ सालमा तत्कालीन जिल्ला विकास समितिमा टेन्डर लुट्ने क्रममा भएको झडपमा करण यादव मारिएपछि गिरी पक्राउ परे र विराटनगरको आपराधिक दुनियाँमा पर्शुरामको एकछत्र राज सुरु भयो ।
जेलबाटै गिरीले २०६६ फागुनमा पर्शुराममाथि दुई गोली हान्न लगाए, जसमा उनी गम्भीर घाइते भए । त्यसको बदला लिन २०६८ जेठ १८ मा पर्शुराम समूहले अदालतमा पेशीका लागि ल्याइएका गिरीमाथि आक्रमण गर्यो । गिरीलाई जोगाउन प्रहरीले अदालतभित्रै गोली चलाउनु परेको थियो ।
२०५० सालतिर दोलखाबाट आएका बस्नेत छोटो समयमै विराटनगरका ‘दादा’ बने । एमाले निकट पिपुल्स भोलेन्टियर्सको विराटनगर संयोजक तथा जिल्ला खेलकुद विकास समितिका सदस्य हुँदै पर्शुराम २०६८ सालसम्म आइपुग्दा युथफोर्स मोरङका अध्यक्ष बने ।
त्यसबेला एमाले नेता विनोद ढकालसँगको निकटता पर्शुरामलाई निकै फापेको थियो । तर अहिले बस्नेत र ढकालको सम्बन्ध राम्रो छैन । पर्शुरामकै कारण आफू बद्नाम भएको भन्दै ढकाल अहिले हल्का महसुस गरेको निकटस्थहरुलाई बताउँछन् ।
पर्शुरामको समूहले २०६८ सालमा पत्रकार खिलनाथ ढकालमाथि आक्रमण गरेपछि उनको गुण्डागर्दीविरुद्ध नेपाल पत्रकार महासंघ मोरङको नेतृत्वमा लामो समय आन्दोलन भएको थियो ।
_MEzVSXu6yS.jpg)
उनले हतियार ओसारपसारदेखि ठेक्कापट्टासम्म आफ्नो सञ्जाल विस्तार गरेका थिए । सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाएपछि उनको करोडौँको सम्पत्ति ‘वैध’ बनेको छ । पूर्वएआईजी प्रद्युम्न कार्कीले एसपी हुँदा बस्नेतको सञ्जाल तोडेका थिए । जसका कारण आफूले ठुलो राजनीतिक दबाब झेल्नुपरेको उनी बताउँछन् ।
गिरी पनि आपराधिक गतिविधिमा लामो समयदेखि सक्रिय छन् । करण यादव हत्याकाण्डमा पक्राउ परेपनि उनले सफाइ पाएका थिए । पछि २०७० सालमा काठमाडौँमा एक सरकारी कर्मचारीलाई अपहरण गरी फिरौती मागेको आरोपमा पक्राउ परी ९ वर्ष जेल सजाय भोगेर उनी छुटेका हुन् । जेलभित्रैबाट पनि उनले आपराधिक गतिविधि सञ्चालन गरेको रेकर्ड छ ।
युवतीलाई प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण