काठमाडौँ । भदौ २३ र २४ गतेको आन्दोलनपछि सबै राजनीतिक दलहरूको जग हल्लिएको छ। दलहरूभित्र अब कसरी अघि बढ्ने भन्नेमा तीव्र बहस चलिरहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पनि यो बहस तीव्र छ। पदाधिकारीहरू नै छुट्टाछुट्टै कार्यकर्ता भेला गरिरहेका छन्, जसलाई महामन्त्री भुवन पाठकले पार्टी अनुशासनविपरीत काम भनेका छन्। राप्रपा पार्टीको एजेन्डामा पनि घरीघरी धरमराउने गरेको छ। सङ्घीयता खारेजी उसको प्रमुख मागमध्येको एक हो, तर प्रदेशमा सभामुख, मन्त्रीदेखि कुनै पद खान बाँकी राखेको छैन। यसलाई पाठकले उपयोगितावादको सिद्धान्तको जामा भिराइदिएका छन्।
सङ्घीयता खारेजीको माग गर्नेमध्येका एक उनै भुवन पाठकले बागमती प्रदेशको सभामुख तीन वर्ष खाएर जेनजी आन्दोलनको राप र तापले भर्खरै राजीनामा दिए। भदौ २३ र २४ गतेको प्रदर्शनमा राप्रपाको औपचारिक सहभागिता थियो भन्ने पाठक सबै पक्षहरूबिचको नवीन समझदारी विना हुने निर्वाचनले निकास नदिने धारणा राख्छन्।
आन्दोलनको राप र तापमा दिएको राजीनामालाई नैतिकता देखाउँदै सभामुख पद छाडेको भन्न मिल्छ? सभामुख भइसकेको व्यक्ति महामन्त्रीमा फर्किनु पदको लोभ बाहेक अरू के हुन सक्छ? जेनजी विद्रोहपछि राजसंस्था पुनर्स्थापनाको लागि एउटा माहोल बनेको थियो, तर राप्रपाले त्यसलाई उपयोग गर्न किन सकेन? पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीले राप्रपा अब फुटको सङ्घारमा पुगेको हो?
पार्टीको महाधिवेशन नजिकिँदै गर्दा, आगामी चुनावमा राप्रपा हालकै अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा जान्छ कि नेतृत्व परिवर्तन आवश्यक छ? आगामी महाधिवेशनमा पाठकको व्यक्तिगत आकाङ्क्षा के हो? प्रमुख दलहरू राजसंस्थाको भूमिकालाई ठाडै अस्वीकार गरिरहेको अवस्थामा अब यो कति सम्भव देख्नुहुन्छ? राप्रपा फागुन २१ गते हुने भनिएको चुनावमा सहभागी हुन्छ कि हुँदैन? उनीमाथि प्रश्न छ ।
यिनै विविध विषयमा रातोपाटीका रोहित दाहालले राप्रपा महामन्त्री पाठकसँग विस्तृत कुरा गरेका छन्। कुराकानीको विस्तृत भिडियोमा :
प्रतिक्रिया