शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आईपीएल बजारमा व्यापक हलचलः यी हुन् रिलिज र ट्रेड भएका स्टार खेलाडीहरू

शनिबार, २९ कात्तिक २०८२, २१ : २३
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • आईपीएल कमिटीले २०२६ सिजनका लागि रिटेन, रिलिज र ट्रेड गरिएका खेलाडीहरूको सूची सार्वजनिक गर्‍यो।
  • कोलकाता नाइट राइडर्सले वेंकटेश अय्यर र आन्द्रे रसेलसहित ९ खेलाडी रिलिज गर्‍यो, जसले मिनी अक्सनमा भाग लिनेछन्।
  • चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंगलुरु, मुम्बई इन्डियन्स, र अन्य टोलीहरूले पनि खेलाडीहरूलाई रिलिज गरे र ट्रेड गरे।

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) कमिटीले शनिबार २०२६ सिजनका लागि रिटेन, रिलिज र ट्रेड गरिएका खेलाडीहरूको सूची जारी गरेको छ ।

रिलिज गरिएका सबै खेलाडीहरूको आगामी डिसेम्बर १६ मा यूएईको आबुधाबीमा हुने मिनी अक्सनमा बोलकबोल हुनेछ । 

तीन पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सले आईपीएल इतिहासकै तेस्रो सबैभन्दा महँगा खेलाडी वेंकटेश अय्यरलाई रिलिज गरेको छ । केकेआरले ११ वर्षसम्म टोलीको हिस्सा रहेका आन्द्रे रसेललाई पनि रिलिज गरेको छ । गत वर्षको मेगा अक्सनमा केकेआरले अय्यरलाई २३.७५ करोड भारुमा किनेको थियो, जबकि आन्द्रे रसेल १२ करोड रुपैयाँमा रिटेन भएका थिए । 

केकेआरले सबैभन्दा धेरै परिवर्तन गर्दै वेंकटेश अय्यर र आन्द्रे रसेलसहित ९ खेलाडी रिलिज गरेको छ । रसेल र अय्यरका अतिरिक्त, केकेआरले मोइन अली, डी कक र गुरबाजजस्ता ठुला खेलाडीहरूलाई पनि रिलिज गरेको छ । साथै, मयंक मार्कण्डेयलाई ट्रेडमार्फत लखनउ सुपर जायन्ट्स पठाएको छ । टोलीसँग मिनी अक्सनका लागि सबैभन्दा बढी ६४.३ करोड भारु बाँकी छ । 

चेन्नईका खेलाडी लेनदेन

चेन्नई सुपर किंग्सले मथीश पथिराना, डेभोन कन्वे र रचिन रवीन्द्रलाई रिलिज गरेको छ । सीएसकेले बिहान रवीन्द्र जडेजा र साम करनलाई राजस्थान रोयल्ससँग नगद कारोबारमार्फत ट्रेड गरेको थियो । यता, राजस्थानले आफ्नो कप्तान सन्जु सामसनलाई सीएसकेसँग नगद डिलमा ट्रेड गरेको थियो । सीएसकेले कुल ९ खेलाडी रिलिज गरेको छ । टोलीले जडेजा र करनलाई छोडेर सन्जु सामसनलाई आफ्नो टोलीमा भित्र्याएको छ । सीएसकेसँग ४३.४ करोड भारु बाँकी छ । 

आरसीबीबाट ८ खेलाडी रिलिज 

आईपीएलको पछिल्लो उपाधि विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले ८ खेलाडी रिलिज गरेको छ । टोलीसँग मिनी अक्सनका लागि १६.४ करोड रुपैयाँ छ । 

पन्जाब किंग्स र गुजरात टाइटन्स

पन्जाब र गुजरात टाइटन्सले ५–५ खेलाडी रिलिज गरेका छन् । यी दुई टोलीसँग क्रमशः ११.५ र १२.९ करोड रुपैयाँको पर्स बाँकी छ । 

मुम्बई इन्डियन्सबाट ८ खेलाडी रिलिज, ट्रेडमार्फत नयाँ खेलाडी

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले आफ्ना ८ खेलाडी रिलिज गरेको छ । यति मात्र होइन, शार्दूल ठाकुर, शेरफन रदरफर्ड र मयंक मार्कण्डेयलाई ट्रेड डिलमार्फत आफ्नो टोलीमा भित्र्याएको छ । साथै, अर्जुन तेन्दुलकरलाई लखनउ सुपर जायन्ट्ससँग ट्रेड गरेको छ । तेन्दुलकर अब लखनउबाट खेल्नेछन् । मुम्बईसँग २.७५ करोड भारु बाँकी छ । 

हैदराबाद र दिल्लीको अवस्था

सनराइजर्स हैदराबादले ८ खेलाडी रिलिज गरेको छ । साथै, मोहम्मद शमीलाई लखनउ सुपर जायन्ट्ससँग ट्रेड गरेको छ । एसआरएचसँग २५.५ करोड रुपैयाँको पर्स बाँकी छ । यता, दिल्ली क्यापिटल्सले ६ खेलाडी रिलिज गरेको छ । डेनेवान फेरेरालाई ट्रेड गरेको छ । दिल्लीसँग २१.८ करोड रुपैयाँ छ । 

लखनउ सुपर जायन्ट्सले ट्रेडमार्फत ३ खेलाडी लियो

लखनउ सुपर जायन्ट्सले ६ खेलाडी रिलिज गरेको छ । साथै, मोहम्मद शमी र अर्जुन तेन्दुलकरलाई आफ्नो टोलीमा जोडेको छ । यस्तै, टोलीले शार्दूललाई छोडेको छ । ७ खेलाडी रिलिज गर्ने राजस्थान रोयल्ससँग १६.०५ करोड भारु बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप