शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

७५ वर्षीय ज्येष्ठ नागरिकद्वारा ६४ वर्षीय धामीको गोली हानेर हत्या

प्रहरीले पक्रेपछि थप दुई जनाको हत्या योजना विफल
आइतबार, ३० कात्तिक २०८२, ११ : ३०
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा ७५ वर्षीय इमानसिंह थोकरले ६४ वर्षीय धामी ठुले गोलेको हत्या गरे।
  • थोकरले कटुवा पेस्तोल प्रयोग गरी गोली प्रहार गरेको र घटनापछि थप दुई जनाको हत्या गर्ने योजना बनाएका थिए।
  • प्रहरीले घटनाको ६ घण्टाभित्रै उनलाई पक्राउ गरेको र घटनास्थलबाट पेस्तोल, गोली र खोका बरामद गरेको छ।

काठमाडौँ । गाउँमा ‘गुन्डा’ भनेर चिनिने ७५ वर्षीय इमानसिंह थोकरले मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–१ स्थित कोलगैरी ठकुरी डाँडामा धामीको हत्या गरेका छन् । आफ्नो कुलको धामी रहेका ६४ वर्षीय ठुले गोलेलाई थोकरले गोली प्रहार गरेर हत्या गरेका हुन् ।

कुलको धामी रहेका ठुलेले आफ्ना नातिसहित गाउँका ४ जनालाई भेदेर मारेको उनको आरोप छ । कटुवा पेस्तोलबाट उनले प्रहार गरेको गोली ठुलेको छातिमा लगेको छ । शुक्रबार हत्या भएको खबर पाएपछि कोलगैरी जंगलमा लुकेर बसेको अवस्थामा आरोपीलाई पक्राउ गरिएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

राक्सिराङ्गमा थोकरलाई ‘गुन्डा’ भनेर चिन्छन् । १८ महिनाअघि उनले ६ हजार ५ सयमा पेस्तोल र ९ सयमा गोली किनेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । धामीको हत्या गरेपछि उनीसँग थप दुईवटा जङ्गी राउन्ड बाँकी रहेछ ।

सो जङ्गी राउन्डले अरू दुई जनाको हत्या योजना बनाएका उनलाई पक्राउ गरेपछि सो योजना विफल भएको एसपी बोहराले बताए । उनले भने– ‘गाउँका थप दुई जनालाई हत्या गर्ने योजना रहेछ, घटना भएको ६ घण्टामा हामीले आरोपीलाई नियन्त्रणमा लिन सफल भयौँ ।’

प्रहरीले एउटा कटुवा पेस्तोल, २ राउन्ड गोली र एउटा खोका बरामद गरेको छ । मृतक गाउँमा कुलायनको धामी हुन् । पूजा गर्ने विषयमा पनि उनीहरूको बिचमा विवाद भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । राक्सिराङ्गका स्थानीय धामी झाँक्रीमा विश्वास गर्छन् ।

आरोपीको स्वभाव गाउँमा उदण्ड खालको थियो । सामान लुट्ने, बाख्रा चोर्ने र डकैती गर्दा पनि उनलाई गाउँलेले प्रतिकार गर्न सकेका थिएनन् । उनको घर खानतलासी गर्दा गन पाउडर पनि भेटिएको एसपी बोहराले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप