राष्ट्र बैंकको त्रैमासिक समीक्षा : कर्जा प्रवाहमा सुस्तता, निक्षेप संरचनामा फेरबदल
सारांश
- आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा सुस्तता देखिएको छ।
- मुद्दती निक्षेपको अंश घटेको छ भने बचत र चल्ती खातामा वृद्धि भएको छ, जसले बैंकको औसत निक्षेप लागत घटाउन सक्छ।
- राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि दोब्बरभन्दा बढी रकम प्रशोचन गरेको छ र विदेशी विनिमय बजारबाट डलर खरिद गरेको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (असोज मसान्तसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा सुस्तता देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा उल्लेखित तथ्याङ्क अनुसार निक्षेप परिचालनको संरचनामा पनि ठूलो फेरबदल आएको छ ।
निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर सुस्त बने पनि तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले विगत वर्षको तुलनामा दोब्बरभन्दा बढी रकम प्रशोचन गरेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ३.० प्रतिशत (२ खर्ब १८ अर्ब ७२ करोड ले वृद्धि भई ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको २.६ प्रतिशत वृद्धिको तुलनामा सामान्य सुधार हो ।
मुद्दती निक्षेपको अंश घटेको छ । २०८१ असोज मसान्तमा कुल निक्षेपको ५४.८ प्रतिशत रहेको मुद्दती निक्षेपको अंश यस वर्ष घटेर ४६.४ प्रतिशत मा सीमित भएको छ । यसको ठीक विपरीत, बचत निक्षेपको अंश ३२.७ प्रतिशतबाट बढेर ३८.७ प्रतिशत पुगेको छ । त्यस्तै, चल्ती निक्षेपको अंश पनि ५.४ प्रतिशतबाट बढेर ६.४ प्रतिशत पुगेको छ।
निक्षेपकर्ताहरू उच्च ब्याजदर भएको मुद्दतीबाट बचत र चल्ती खातामा सर्नुले बैंकहरूको औसत निक्षेप लागत घट्न सक्ने संकेत छ । कुल निक्षेपमा संस्थागत निक्षेपको अंश भने सामान्य घट्दै ३५.३ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निजी क्षेत्रतर्फको कर्जा प्रवाहको वृद्धिदर सुस्त देखिएको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फको कर्जा १.५ प्रतिशत ८२ अर्ब ९३ करोडले मात्र बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो कर्जा २.५ प्रतिशतले बढेको थियो।
कुल कर्जा ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ। वार्षिक विन्दुगत आधारमा भने कर्जा वृद्धिदर ७.३ प्रतिशत रहेको छ।
व्यक्तिगत कर्जा बढेको छ । कुल निजी क्षेत्र कर्जामध्ये व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश बढेर ३७.२ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्ष ३६.० प्रतिशत थियो। यसैगरी, गैर–वित्तीय संस्थागत क्षेत्रतर्फको कर्जाको अंश ६४.० प्रतिशतबाट घटेर ६२.८ प्रतिशतमा झरेको छ ।
रियल स्टेट कर्जा ३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.० प्रतिशतले बढेका छन्। आयातसँग सम्बन्धित ट्रष्ट रिसिट कर्जा ४.३ प्रतिशत र अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा ३.३ प्रतिशतले घटेको छ । यसले व्यापारिक तथा आयातजन्य गतिविधिमा नियन्त्रण कायम रहेको देखाउँछ। क्षेत्रगत रूपमा सेवा उद्योगतर्फको कर्जा ०.३ प्रतिशतले घटेको छ भने निर्माण, यातायात र औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २ प्रतिशतभन्दा बढीले बढेको छ ।
राष्ट्र बैंकले समीक्षा अवधिमा बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आक्रामक रणनीति अपनाएको छ।
राष्ट्र बैंकले निक्षेप सङ्कलन बोलकबोल र स्थायी निक्षेप सुविधामार्फत कुल १३०७५ अर्ब ९५ करोड तरलता प्रशोचन गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ७८ खर्ब ३३ अर्ब ४० करोड तरलता प्रशोचन गरिएको थियो । यस वर्ष तरलता शोषणको मात्रा दोब्बरभन्दा बढी हुनुले बजारमा रहेको अत्यधिक तरलता नियन्त्रण गर्न केन्द्रीय बैंक सक्रिय रहेको देखाउँछ।
विदेशी विनिमय बजारबाट राष्ट्र बैंकले अमेरिकी डलर १ अर्ब ८६ करोड खुद खरिद गरी रु. २६२ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ।
आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरू तथा अन्य वित्तीय संस्थाहरूबीच कुल २ खर्ब ९५ अर्ब ४३ करोडको अन्तरबैंक कारोबार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ४०२ अर्ब ४५ करोडको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण