निर्वाचनपछि महाधिवेशन गर्ने वातावरण बनाइदिन देउवासँग नेताहरूको आग्रह
सारांश
- नेपाली कांग्रेसका नेताहरूले फागुन २१ अगाडि क्रियाशील सदस्यता टुंगो लगाउन र निर्वाचनपछि महाधिवेशन गर्न आग्रह गरे।
- सभापति देउवाले कार्यवाहकको समन्वयमा सहमति खोज्न र निर्वाचनलाई असर पार्ने विवादबाट बच्न सुझाव दिए।
- नेताहरूले निर्वाचनअघि महाधिवेशन गर्दा विवाद बढ्ने र निर्वाचनमा असर गर्ने भन्दै चैत वा वैशाखमा महाधिवेशन गर्न सुझाव दिए।
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापनका केही नेताहरूले आगामी फागुन २१ अगाडि पार्टीको क्रियाशील सदस्यताको टुंगो लगाएर निर्वाचनपछि १५औँ महाधिवेशन गर्ने विषयमा पहलकदमी लिन आग्रह गरेका छन् । शुक्रबार साँझ सिंगापुरबाट फर्किएका देउवालाई शनिबार भेटेका नेताहरूले त्यस्तो आग्रह गरेका हुन् ।
शनिबार सभापति देउवालाई कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत, बालकृष्ण खाण ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदसहितले भेटेका थिए ।
प्रवक्ता डा. महतले आफूहरूले सभापतिलाई भेटेर वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेको जानकारी दिए ।
१५औँ महाधिवेशन कहिले गर्ने भन्नेमा कांग्रेस अनिर्णित भएका बेला देउवाले फर्किएलगत्तै शनिबारबाट भेटघाट थालेका हुन् ।
शनिबार देउवासँग नेता डा. प्रकाशशरण महतले छुट्टै भेट गरेका थिए । त्यसलगत्तै देउवा टिमका अन्य नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीसँग देउवाले संयुक्त भेट गरे ।
नेताहरूसँगको भेटमा देउवाले कार्यवाहक सभापतिको समन्वयमा सहमति उन्मुख हुन पनि सुझाएका थिए । ‘सभापतिजी फर्किनु भएपछि शनिबार उहाँसँग मलगायत अन्य केही नेताहरूको संयुक्त कुराकानी भयो । भेटका क्रममा सभापतिजीले निर्वाचन आइरहेको छ । एकजुट भएर अगाडि बढ्नुस् भन्नुभयो,’ देउवासँगको भेटबारे जानकारी दिँदै प्रवक्ता डा. महतले रातोपाटीसँग भने, ‘महाधिवेशनको विषय टुंग्याउन कार्यवाहकसहितको जिम्मेवारी दिइएको छ । सकेसम्म सहमतिमा टुंग्याउनुस् । सल्लाह गर्नुस् भन्नुभयो ।’
डा. महतले आफूहरूले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अगाडि महाधिवेशन भए पार्टीभित्र जित्ने र हार्नेको विवादले निर्वाचनलाई असर गर्ने भएकाले चैत या वैशाखमा महाधिवेशन गर्दा उपयुक्त हुने सुझाव दिएको पनि जानकारी दिए । ‘हामीले निर्वाचन अगाडि क्रियाशील सदस्यताको विषय टुंग्याऊँ । निर्वाचन अगाडि महाधिवेशन गर्यो भने यसमा देखिएको विवादले निर्वाचनलाई असर गर्छ । त्यसैले निर्वाचन पछि चैत वा वैशाखमा महाधिवेशन गर्दा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका छौँ,’ प्रवक्ता महतले भने, ‘जवाफमा उहाँले मैले कार्यवाहकको जिम्मेवारी दिएको छुँ । मिलाएर गर्नुस् भन्नुभयो ।’
भदौ २४ गते आन्दोलनकारीबाट बूढानीलकण्ठस्थित निवासमा मरणासन्न हुने गरी कुटिएका देउवा सैनिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए ।
असोज २८ गतेबाट सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका देउवालाई पार्टीका गतिविधिबारे ब्रिफिङ गर्दै नेताहरूले त्यस्तो आग्रह गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण