सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शेख हसिनाको मृत्युदण्डबारे तसलिमा नसरिनले के दिइन् प्रतिक्रिया ?

बुधबार, ०३ मङ्सिर २०८२, १२ : ५३
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाउने अदालतको निर्णयको लेखिका तसलिमा नसरिनले विरोध गरेकी छिन्।
  • तसलिमाले हसिनाका अपराधको विरोध गर्दै न्यायको नाममा भएको हास्यास्पद सुनुवाइको विरोध गरिन्।
  • सन् १९९४ देखि निर्वासनमा रहेकी तसलिमा एक चर्चित बंगलादेशी लेखिका हुन्, जसले नारीवादी विचार राख्छिन्।

ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाउने अदालतको निर्णयको लेखिका तसलिमा नसरिनले विरोध गरेकी छिन् ।  हसिनाले गरेका सारा अपराधहरूको उल्लेख गर्दै उनले जे–जे गरेको भए पनि अदालतमा न्यायको नाममा भएको हास्यास्पद सुनुवाइ र मृत्युदण्डको आफूले कडा विरोध गरेको तसलिमाले आफ्नो पोस्टमा लेखेकी छिन् ।

पोस्टको अन्त्यमा तसलिमाले अन्याय शत्रुमाथि नै भएको छ भने पनि त्यसको विरोधचाहिँ गर्नुपर्ने उनले लेखेकी छिन् । पोस्टमा उनले जिहादी कारखानाको रूपमा असङ्ख्य मस्जिद र मदरसा बनाएको, मदरसाको डिग्रीलाई विश्वविद्यालय सरहको मान्यता दिएर देशको शिक्षा प्रणाली ध्वस्त पारेको, धार्मिक उपदेशमार्फ महिलाद्वेषी जिहादीहरूलाई युवाको ‘ब्रेन वास’ गर्न दिएको, जिहादीहरूबाट स्वतन्त्र विचारकलाई खतरा हुँदाहुँदै पनि सुरक्षा नदिएको भए पनि हसिनालाई माफी दिन नहुने बताएकी थिइन् ।

सन् १९९९ मा आफू निर्वासनमा आएको महिनौँपछि मृत्यु शय्यामा छटपटाइरहेकी आमालाई भेट्न जाँदा आफूमाथि धार्मिक भावनामा चोट पुर्याएको भन्दै मुद्दा हाल्ने र आफूलाई देशबाट लखेट्ने काम गरेको भएपनि उनले अहिले हसिनाको मृत्युदण्डको विरोध गरेकी हुन् ।

आफूलाई कहिल्यै बङ्गलादेश छिर्न नदिएको र यस्तै अनेकौं अपराध गरेको भए पनि आफू हसिनाको नराम्रा दिनमा उनकै पक्षमा उभिएको पनि उनले लेखेकी छिन् ।

नोभेम्बर १७ मा बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले मानवता विरुद्धको अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । शेख हसिनामाथि गत वर्ष बङ्गलादेशमा भएको विरोध प्रदर्शनका क्रममा धेरै मानिसहरूको हत्या गर्न उक्साएको आरोप थियो ।

शेख हसिनाले अदालतको निर्णयलाई पक्षपाती र राजनीतिक रूपमा प्रेरित भएको भनेकी छिन् । गएको अगस्टमा विद्यार्थी आन्दोलन अनियन्त्रित बनेपछि ज्यान जोगाउन भागेकी हसिना हाल भारतमा बस्दै आएकी छिन् ।

तसलिमा नसरिन को हुन् ?

तसलिमा नसरिन चर्चित बंगलादेशी लेखिका हुन् । उनी १९९४ देखि निर्वासनमा छिन् । पेशाले डाक्टर र मानव अधिकारकर्मी समेत रहेकी उनी आफ्नो नारीवादी विचार र धार्मिक कट्टरताको आलोचनाको लागि परिचित छिन् ।

सन् १९९४ मा ‘लज्जा’ उपन्यास प्रकाशित भएपछि तसलिमालाई इस्लामिक कट्टरपन्थीहरूले ज्यान मार्ने धम्की दिएका थिए । त्यसपछि उनी बङ्गलादेश छोड्न बाध्य भइन् ।

यो पुस्तकलाई बङ्गलादेशमा प्रतिबन्धित नै गरियो । तर अन्यत्र भने यो बेस्टसेलर बन्यो । अहिले भारतमा बसिरहेकी तसलिमासँग स्विडेनी नागरिकता पनि छ ।

Capture

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप