शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल

एनपीएलमा आजका प्रतिस्पर्धी : साविक उपविजेता सुदूरपश्चिम बलियो, लयमा काठमान्डु

बुधबार, ०३ मङ्सिर २०८२, १४ : ५६
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।
  • सुदूरपश्चिम रोयल्स उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ, अनुभवी खेलाडी टोलीमा छन्।
  • काठमान्डु गोर्खाजले पहिलो खेल जितेर उच्च मनोबलका साथ दोस्रो खेल खेल्दैछ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (सोमबार) साविकको उपविजेता सुदूरपश्चिम रोयल्स र विजयी सुरुवात गरेको काठमान्डु गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । काठमान्डुलाई आफूले लिएको एउटा मोमेन्टमलाई कामय गर्न चुनौती छ भने सुदूरपश्चिमलाई अघिल्लो सिजनको लय समाल्ने चुनौती हुनेछ ।  

सुदूरपश्चिम रोयल्सः उपाधि लक्ष्यसहित मैदानमा

अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स यस पटक उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ । लिग चरणमा ६ जित र १ हारसहित उत्कृष्ट प्रदर्शन गरेको रोयल्स क्वालिफायर वानमा जनकपुरलाई हराएर फाइनल पुगेको थियो । यो सिजनमा टोलीले केही परिवर्तन गरे पनि घरेलु खेलाडीको मुख्य समूह उही छ ।

कप्तान तथा मार्की खेलाडी दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, दिपक बोहरा, टेक रावत, दिपेन्द्र थापा जस्ता अनुभवी र युवा खेलाडी छन् । बलिङतर्फ अविनाश बोहरा, हेमन्त धामी (युवा पेसर), नरेन्द्र साउद (लेफ्ट आर्म स्पिन), मिलन बोहरा र ट्यालेन्ट हन्टबाट आएका हिक्मत महरा १३१ प्रतिघण्टाको रफ्तारमा बलिङ गर्छन् ।

विदेशी खेलाडीमा स्कट कुकलाइन, विस्फोटक ब्याट्सम्यान जोस ब्राउन र क्रिस लिन, हरमित सिंह तथा यूएईका ध्रुव परासर टोलीमा छन् ।

क्रिकेट कमेन्टेटर सुमित तिमल्सिना यसलाई बलियो टिमको उपमा दिन्छन् । उनले भने, ‘जोस ब्राउन र क्रिस लिन टपअर्डरमा हुँदा ब्याटिङ एकदमै विस्फोटक बन्न सक्छ ।’

तिमल्सिनाले दीपेन्द्र सिंह ऐरीको बलिङ रातिको खेलमा अझ प्रभावकारी हुने बताए । अविनाश बोहराका लागि यो कमब्याकको अवसर रहेको पनि उनले औँल्याए, जसले लामो समयदेखि राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् । यद्यपि, बलिङ डिपार्टमेन्टमा अनुभवको कमी भएको उनको भनाइ छ ।

काठमान्डु गोर्खाजः उच्च मनोबलका साथ दोस्रो खेलमा

काठमान्डु गोर्खाजले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरलाई हराएर उच्च मनोबलका साथ मैदानमा उत्रँदैछ । कप्तान करण केसीले आफ्नो टिम अझै उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको र पहिलो जित त सुरुवातमात्रै भएको बताएका छन् ।

टोलीको ब्याटिङमा चाल्र्स वोर्थ र आकाश थापाले ओपनिङ सम्हाल्नेछन् भने भीम सार्कीले मिडलअर्डरमा एंकरको भूमिका निभाउनुपर्ने  तिमल्सिनाको भनाइ छ । फिनिसरका रूपमा मोहम्मद आदिल आलम, राशिद खान, शाह आलम र मिलिन्द कुमार छन् । सन्तोष यादवलाई भविष्यको अलराउन्डरका रूपमा हेरिएको छ ।

तिमल्सिनाले काठमान्डुको जितले आत्मविश्वास बढाउने भए पनि टोलीमा सुधार गर्नुपर्ने पक्ष धेरै रहेको बताएका छन् । उनले स्पिन र पेस डिपार्टमेन्ट, बलिङ परिवर्तन र ब्याटिङमा स्ट्राइक रेट बढाउनुपर्ने आवश्यकता औँल्याए, किनकि पहिलो खेलमा केही ‘स्लो हिटिङ’ देखिएको थियो । टसको भूमिका आजको रात्रिकालीन खेलमा पनि महत्त्वपूर्ण रहनेछ ।

‘प्लेयर टू वाच’

कमेन्टेटर सुमित  तिमल्सिनाका अनुसार आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडीका रूपमा सुदूरपश्चिमबाट विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र युवा खेलाडी इशान पाण्डेलाई औँल्याएका छन् । विनोदले टीयूको पिचको अनुभव र ब्याटिङमा टोलीलाई नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । विदेशी खेलाडी क्रिस लिन र जोस ब्राउनमाथि पनि सबैको नजर रहनेछ, जसले राम्रो सुरुवात दिन सक्छन् ।

काठमान्डु गोर्खाजका लागि भने मोहम्मद आदिल आलम र भीम सार्कीमाथि विशेष नजर रहने तिमल्सिनाले बताए । आदिलले आफ्नो भूमिका निभाउन सक्ने र भीमले इनिङ्सलाई स्थायित्व दिनुपर्ने उनको सुझाव छ ।

सुदूरपश्चिम रोयल्स बलियो

कमेन्टेटर सुमित  तिमल्सिनाले आजको खेलमा सुदूरपश्चिम रोयल्सले जित निकाल्ने अनुमान गरेका छन् । उनले सुदूरपश्चिमलाई ६५ प्रतिशत जितको सम्भावना दिएका छन् ।

‘जसरी अगाडिको सिजन रह्यो, फाइनलमा त्यो हट ब्रेक आयो सुदूरपश्चिम रोयल्सका फ्यानहरूका लागि । आज भने सुदूरपश्चिमले काठमान्डुविरुद्ध जित्छजस्तो लाग्छ,’ उनले भने । टोलीको कम्बिनेसन र खेलाडीहरूको भोका प्रदर्शनका आधारमा सुदूरपश्चिम विजेता बन्न सक्ने उनको तर्क छ ।

काठमान्डुको पहिलो खेलको जित सुखद् भए पनि, त्यहाँ सुधार गर्नुपर्ने पक्षहरू धेरै भएकाले सुदूरपश्चिमलाई फाइदा पुग्ने उनको विश्लेषण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप