बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शीतलहर तथा हिमपातको चुनौती व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री

बुधबार, ०३ मङ्सिर २०८२, १८ : ४५
बुधबार, ०३ मङ्सिर २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर तथा हिमपातको चुनौती व्यवस्थापनका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको विपद् संवाद कार्यक्रममा मन्त्री अर्यालले शीतलहर र हिमपातले विशेष गरी वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, गरिब तथा विपन्न वर्ग र हिउँदमा अस्थायी आश्रय स्थलमा बस्नेहरूलाई बढी असर गर्ने बताए । 

मन्त्री अर्यालले संकटासन्न वर्ग, क्षेत्र र समुदाय केन्द्रित पूर्वतयारी गर्न जिम्मेवार सबै निकायलाई निर्देशन समेत दिए ।

उनले स्वास्थ्य सेवा शीतलहर र हिमपातको प्रत्यक्ष प्रभाव हुने क्षेत्र रहेको उल्लेख गर्दै स्थानीय स्वास्थ्य सेवा, स्वास्थ्य संस्था, जिल्ला अस्पताल र मोबाइल स्वास्थ्य टोलीलाई पूर्वतयारी अवस्थामा राख्न सरोकारवाला निकायलाई अपिल गरे । 

यसैगरी उनले बिरामीका लागि तत्काल उपलब्ध आवश्यक औषधी र जनशक्ति व्यवस्थापन गर्न, शीतलहर, हिमपात पूर्वतयारी योजनाको स्थानीयकरण र सार्वजनिक भवनमा सुरक्षित आश्रयस्थल, न्यानो पोसाक र सामग्रीको पूर्व भण्डारण गर्न सबै स्थानीय तहलाई अनुरोध पनि गरे ।

सरकार एक्लैले शीतलहर र हिमपातको चुनौती व्यवस्थापन गर्न नसक्ने भन्दै मन्त्री अर्यालले राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था, संयुक्त राष्ट्रसङ्घीय निकाय, विकास साझेदार, स्थानीय समुदाय, नागरिक समाज, सञ्चार जगत र निजी क्षेत्रको बलियो साझेदारी आवश्यक बताए ।

मन्त्री अर्यालले पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्नु सुखद भए पनि बिना पूर्वतयारी पदयात्रामा जाँदा जोखिममा परेको घटनाहरू पनि आइरहेको भन्दै विशेष सतर्कता र सावधानी अपनाउन पदयात्री लगायत सम्बन्धित सबैलाई अपिल पनि गरे ।

यसैगरी प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा प्राधिकरण प्रतिबद्ध रहेको बताए । उनले जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिलाई आफ्नो वस्तुगत अवस्थाका आधारमा कार्य योजना तयार गरी लागू गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप