बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ब्राह्मण सम्मेलन पशुपति क्षेत्रमा

बिहीबार, ०४ मङ्सिर २०८२, २१ : ५९
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • जन्म र कर्म दुवै आधारमा ब्राह्मणहरूको ११औँ अन्तरराष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ।
  • सम्मेलनमा नौ देशका प्रतिनिधि आउने पक्का भएको छ, अन्य देशका नाम आउन बाँकी छ।
  • पशुपति क्षेत्रमा हुने सम्मेलनमा २०० जना सहभागी हुनेछन् र घोषणापत्र जारी गरिनेछ।

काठमाडौँ । जन्म र कर्म दुवै आधारमा ब्राह्मण भएकाहरुको ११औँ अन्तरराष्ट्रिय सम्मेलन यही मङ्सिर १२, १३ र १४ गते काठमाडौँमा हुने भएको छ ।

ब्राह्मण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट नेपाल शाखाको आयोजनामा तीनदिने सम्मेलन गर्न लागिएको संयोजक धर्मराज बरालले  जानकारी दिए । सम्मेलनमा नौ वटा देशबाट प्रतिनिधि आउने निश्चित भइसकेको पनि उनले बताए । अन्य देशबाट आउने प्रतिनिधिको नाम पनि केही दिनमा प्राप्त हुने भएको छ ।

भारत, पाकिस्तान, बङ्गलादेश, अमेरिका, हल्याण्ड, जर्मनी, अष्ट्रेलिया, सुरीनाम, बेलायतलगायत देशबाट आउने प्रतिनिधिको नामावली प्राप्त भइसकेको सङ्गठनका मुख्य संरक्षक गर्गाचार्य गुरु अर्जुनप्रसाद बास्तोलाले बताए ।

सम्मेलनमा विदेशबाट १५० जना प्रतिनिधि आउने छन् । नेपालका ५० जना ब्राह्मणको सम्मेलनमा सहभागिता रहने जनाइएको छ । तीन दिन चल्ने सम्मेलनमा २०० जना सहभागी हुनेछन् ।

कर्मले सनातनी ब्राह्मणको व्यवहार गर्नेहरुले यस सङ्गठनको सदस्यता लिनसक्ने सम्मेलनको सचिवालय संयोजक रहेका पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

सम्मेलन पशुपति क्षेत्रमै आयोजना गरिने जनाइएको छ । सम्मेलनको अन्तिम दिन मङ्सिर १४ गते काठमाडौँ घोषणापत्र पनि जारी गर्ने तयारी भएको छ । भारतमा दर्ता भएको सङ्गठनको हालको अन्तरराष्ट्रिय अध्यक्ष डा सुरेशचन्द्र कौशिक छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप