शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
व्यापार घाटा

चार महिनामा नेपालको व्यापार : १४४ मध्ये ११४ मुलुकसँग घाटा

सबैभन्दा धेरै भारत, चीन, अर्जेन्टिना यूएई र इन्डोनेसियासँग
आइतबार, ०७ मङ्सिर २०८२, १९ : ५३
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले १४४ देशसँग व्यापार गर्दा ११४ देशसँग घाटा बेहोरेको छ।
  • भारत, चीन, अर्जेन्टिना, यूएई र इन्डोनेसियासँग नेपालको व्यापार घाटा उच्च रहेको छ भने निर्यातमा ७७.५१ प्रतिशतले वृद्धि भएको छ।
  • पेट्रोलियम पदार्थ, फलाम र खाद्य वस्तुको आयात बढेको छ भने फलाम, तेल तथा धागो निर्यातमा प्रमुख हिस्सा रहेको छ।

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालले विश्वका १४४ वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ । 

भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यी १४४ मुलुकमध्ये ३० वटा देशसँगको व्यापार मात्र नाफामा छ भने बाँकी ११४ मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ । 

यसमध्ये सबैभन्दा धेरै भारत, चीन, अर्जेन्टिना यूएई र इन्डोनेसियासँग क्रमशः व्यापार घाटा छ । 

भारतबाट ३ खर्ब ३७ अर्ब ९२ करोड ४६ लाख रुपैयाँको आयात हुँदा ७६ अर्ब ५० करोड ५५ लाख रुपैयाँको निर्यात भएको छ । यसर्थ भारतसँग २ खर्ब ६१ अर्ब ४१  करोड ९१  लाख रुपैयाँको व्यापार घाटा रहेको छ । 
यसैगरी १  खर्ब ३२ अर्ब ५६  करोड ९८  लाख रुपैयाँ बराबरको वस्तु चीनबाट आयात भएको छभने २९ करोड ८८ लाख रुपैयाँको वस्तु चीनतर्फ निर्यात भएको छ । यसकारण चीनसँग १ खर्ब ३२ अर्ब २७ करोड १० लाख रुपैयाँले व्यापार घाटा बेहोरेको छ । 

यस्तै अजेन्टिनाबाट ३४अर्ब ७२ करोड ४३ लाख रुपयाँको वस्तु ‍आयात भएकोमा ५ लाख ८८ हजार रुपैयाँको निर्यात भएको छ । अर्थात् नेपालले अर्जेन्टिनासँग ३४अर्ब ७२ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको देखिन्छ । 

यस्तै इन्डोनेसियासँग २१ अर्ब ५६ करोड रुपैयाँ थाइल्यान्डसँग ५ अर्ब ९६ करोड, ब्राजिलसँग ४ अर्ब ८२ करोड, मलेसियासँग ३ अर्ब ७७ करोड रुपैयाँले घाटा बेहोरेको विभागको तथ्यांकमा उल्लेख छ । 

यस्तै नाफामा रहेका मुलुकमध्ये डेनमार्क रोमानिया,  स्वीडेन, नाइजेर, इराकलगायत ३० वटा मुलुकसँगको व्यापार नाफा छ, यसमध्ये डेनमार्कसँग २७ करोड ४४ लाख रोमानियासँग ६ करोड ७८ लाख स्वीडेनसँग २ करोड ५० लाख रुपैयाँले नाफामा रहेको छ । 

आयात बढ्दा राजस्व संकलनमा सुधार 

चार महिनामा नेपालबाट हुने निर्यातमा ७७.५१ प्रतिशतले वृद्धि भएको छ भने आयातमा १८.७१ प्रतिशतले वृद्धि भएको छ । 

विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा, चालु आर्थिक वर्षको चार महिनामा यो बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्ष यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात भएको थियो । 

समग्रमा मुलुकको कुल वैदेशिक व्यापारको आकार २४.१८ प्रतिशतले बढेको छ । गत वर्ष ५ खर्ब ६६ अर्बको कुल व्यापार भएकोमा यस वर्ष सो रकम बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको छ । निर्यातमा सुधार भए तापनि आयातको हिस्सा उच्च रहेकाले मुलुकको व्यापार घाटा ११.९९ प्रतिशतले बढेको छ । चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ लाख रुपैयाँ रहेको थियो । 

साथै चालु वर्षको यो चार महिनामा भन्सार विन्दुबाट १ खर्ब ५७ अर्ब २७ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्षको यसै अवधिमा १ खर्ब ४५ अर्ब ८४ करोड ८४  लाख रुपैयाँ संकलन भएको थियो । 

आयातमा सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ र फलाम 

सबैभन्दा ठुलो परिमाणमा आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । चार महिनामा ९२ अर्ब  ४२ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । यसैगरी दोस्रो धेरै आयात हुनेमा फलाम र तेस्रोमा खाने तेलतथा घ्युजन्य वस्तु छ । ५७ अर्ब ८८  करोड ८८ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, ५० अर्ब १७ करोड ६ लाख रुपैयाँ बराबरको तेल तथा घ्युजन्य वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

यसैगरी ४३ अर्ब ३८ करोड २ लाख रुपैयाँको विद्युतीय उपकरण, ४० अर्ब ५९ करोड २६ लाख रुपैयाँको बोइलर मेसिन, ३७ अर्ब ६९ करोड ५ लाख रुपैयाँको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । यस्तै २५ अर्ब २० करोडको रासायनिक मल, २४ अर्ब ४१ करोड ७३ लाख रुपैयाँको मोती, पत्थरजन्य वस्तु, २१ अर्ब ८९ करोड ३५ लाख रुपैयाँको प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु, १५ अर्ब ७४ करोड १४ लाख रुपैयाँको खद्यान्न, २२ अर्ब २३ करोड २९ लाख रुपैयाँको फलफूल र तरकारी आयात  भएको विभागको तथ्यांकमा उल्लेख छ । 

सबैभन्दा धेरै निर्यात हुने वस्तु के के छन् ? 

चालु आर्थिक वर्षको पहिलो चार महिना(२०८२/८३ साउन–कात्तिक) मा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष (२०८१/८२) को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । 

यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । निर्यातमा देखिएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक संकेत हो । 

कुल निर्यात हुनेमा सबैभन्दा ठुलो हिस्सा क्रमशः फलाम, तेलघ्युजन्य वस्तु र धागो छन् । यो चार महिनाको अवधिमा कुल निर्यातमध्येमा ४५ अर्ब १४ करोड ३७ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ । 

यसैगरी दोस्रोमा ४४ अर्ब ७० करोड २३ लाख रुपैयाँको तेलतथा घ्युजन्य वस्तु र तेस्रोमा ९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको विभिन्न प्रकारको धागो निर्यात भएको छ । 

त्यस्तै ठुलो हिस्सामा निर्यात हुनेमा ५ अर्ब ९१ करोड  २२ लाख रुपैयाँको चियाकफी तथा मसलाजन्य वस्तु, ४ अर्ब ५५ करोड ३७ लाख रुपैयाँको तयारी तथा अन्य कपडा, ३ अर्ब ६० करोड ७९ लाख रुपैयाँको कार्पेट निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

यसैगरी  २ अर्ब २३ करोड ७१ लाख रुपैयाँको पशुजन्य आहार,२ अर्ब ३९ करोड ४८ लाख रुपैयाँको काठ तथा काठजन्य वस्तु १ अर्ब ४ लाख रुपैयाँको जुत्ताचप्पल, २ अर्ब ५१ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । १ अर्ब १९ करोड १९ लाख रुपैयाँको पेष्टिकुकका उत्पादन, १ अर्ब ४२ लाख रुपैयाँको साल्ट सल्फर, १ अर्ब ३९ करोड १५ लाख रुपैयाँको विरुवा, १ अर्ब १६ करोड ८७ लाख रुपैयाँको फर्माटिकल निर्यात भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप