शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

विवाहपञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक

आइतबार, ०७ मङ्सिर २०८२, २० : २२
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा तीन दिन माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाइएको छ।
  • जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
  • निषेधित क्षेत्रमा कानुन उल्लंघन गर्नेलाई कारबाही गरिनेछ।

जनकपुर । विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आइतबारदेखि तीन दिनसम्म माछा/मासु र मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ । आज राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि उक्त रोक लगाएको हो ।

विवाहपञ्चमी महामहोत्सव यही मङ्सिर ९ गते सुरक्षित, मर्यादित र सौहार्द्रपूर्ण वातावरणमा मनाउने सन्दर्भमा बसेको सरोकारवालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनामा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री–वितरण, उत्पादनलगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ ।

सूचना विपरीत निषेधित क्षेत्रमा उक्त कार्य गरिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही भई जाने व्यहोरा उल्लेख गरिएको छ । मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्वका रुपमा रहेको रामजानकी विवाह महोत्सवलाई लक्षित गरी निषेध गरिएको सहायक प्रजिअ दाहालले जानकारी दिए ।

यसैबीच विवाहपञ्चमी महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन तथा शान्तिसुरक्षा प्रभावकारी बनाउन जनकपुरधाममा नेपाल प्रहरी र शास्त्र प्रहरीका गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप