उज्ज्वल थापाले बालेको वैकल्पिक राजनीतिको दियो रास्वपामा विलय !
सारांश
- विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय हुने निर्णय भएको छ।
- विवेकशील साझा र रास्वपाको एकीकरण नवयुवाहरूको आन्दोलन 'जेनजी विद्रोह' ले गति दिएको हो।
- पार्टी एकताले वैकल्पिक राजनीतिको जग हराउने चिन्ता र रास्वपाले विवेकशीलका मूल्य मान्यता आत्मसात् गर्ने कुरामा जोड दिइएको छ।
काठमाडौँ । वैकल्पिक राजनीतिको जग बसालेको विवेकशील साझा पार्टी आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विलय हुने भएको छ । मंसिर १० गते विवेकशील साझाको केन्द्रीय समितिको अन्तिम बैठकले रास्वापासँग एकता गर्ने निर्णय गरेको थियो ।
विवेकशील साझाका उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले पेस गरेको ‘बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’लाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो । वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता महसुस भइरहेको बेला नवयुवाहरूको आन्दोलन ‘जेनजी विद्रोह’ले दुई पार्टीबिचको एकतालाई गति दिएको उनले जिकिर गरे ।
‘नवयुवाहरूको आन्दोलन जेनजी विद्रोहले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकीकरणलाई तीव्रतर बनाइदियो । निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, समृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ’, परियारले भने ।

भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गरी विधि, पद्धति, मूल्य तथा मान्यतामा आधारित सुसंस्कृत समुन्नत समाज निर्माण गर्ने उद्देश्यले स्थापित भएको विवेकशील साझा १२ वर्षमै आफ्नो अस्तित्व त्यागेर विलय हुने अवस्था कसरी सिर्जना भयो ? यस सम्बन्धमा समीक्षा हुँदै जाला, तर राजकीय सत्तामा सधैँभरि परम्परागत राजनीतिक दलहरूको दबदबा कायम रहिरहेको वेला दिवंगत नेता उज्ज्वल थापाले वैकल्पिक राजनीतिको छुट्टै राजमार्ग कोर्न सफल भएका थिए । यद्यपि थापाकै पथ पछ्याउँदै खुलेको रास्वपामा विवेकशील साझा विलय हुनुलाई संस्थापक अभियन्ताहरूले सकारात्मक रूपमै लिएका छन् । टुटफुट र विभाजनबाट कमजोर बन्दै आएको यस पार्टीको २०७९ माघ २८ गते भएको महाधिवेशनबाट समीक्षा बास्कोटा अध्यक्षमा निर्वाचित भएकी थिइन् ।
एकताका बारेमा प्रस्ट पार्दै महासचिव रञ्जु दर्शनाले वैकल्पिक शक्तिहरूको एउटै सङ्गठन बनाउने निर्णय गरिसकेपछि विवेकशील र रास्वपा भनेर कित्ताकाट गर्नुको कुनै तुक नहुने बताइन् ।
‘एउटै कित्ता बन्यो भनेमात्र सङ्गठन निर्माण हुन्छ । एकता गर्दै छौँ भनेको दुवै पक्षले मन फराकिलो बनाएर गरेको हो । दुवै पक्षले एक अर्काको राजनीतिक संस्कार एडप्ट गर्दै जाने भन्ने कुरा हो । यसो भनिरहँदा हामीले उठाइरहेका कुराहरू निरन्तर उठाइ नै रहन्छौँ’, रातोपाटीसँग उनले भनिन् ।
कतै विवेकशील नेपालीले बसालेको वैकल्पिक राजनीतिको जग हराएर जाने हो कि भन्ने चिन्तामा आफूहरू सचेत रहेको दर्शनाले स्पष्ट पारिन् । उनले भनिन्, ‘पहिलो कुरा, हामी जुन स्कुलिङबाट आयौँ, रास्वपासँग मिल्यौँ भनेर स्कुलिङ नै बिर्सिने भन्ने हुँदैन । अर्को, रास्वपा नै जुन जगमा टेकेर आएको, त्यो विवेकशील नेपालीले खनेको वैकल्पिक राजनीतिको जग हो । जग एउटै भएपछि हामीले अब ईंटा थप्ने काम गर्ने हो । होस्टेमा हैंसे गरेर संगठनलाई बलियो बनाउने हो ।’
अर्का उपाध्यक्ष तथा पूर्वसंयोजक मिलन पाण्डेले रास्वपासँग एकता गर्ने निर्णयलाई सकारात्मक रूपमै लिनुपर्ने बताए । जुन धरातलमा टेकेर संस्थापक थापाले वैकल्पिक अभियान चलाएका थिए, त्यसलाई वैकल्पिक शक्तिहरू एकताबद्ध भएर विस्तार गर्नुलाई अन्यथा लिन नमिल्ने उनको भनाइ छ ।
‘निर्णय सही छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । वैकल्पिक शक्तिको निर्माण उज्ज्वलजीले गर्नुभयो । वैकल्पिक शक्तिहरूबिच एकता हुने कुरा आफैँमा नराम्रो होइन । त्यसले कस्तो रिजल्ट दिन्छ भन्ने कुरामा भर पर्छ’, उनले भने ।
पाण्डेले आफू एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट पारे । आफू हिजोसम्म विवेकशील साझामै रहेकाले आगामी दिनमा कुलिङ पिरियडमा रहने उनको भनाइ छ । उनले भने, ‘आगामी दिनमा कुलिङ पिरियडमै रहन्छु । हतार गरेर निर्णय गर्दिनँ । अभियान मै जोडिन्छु ।’
- वैकल्पिक राजनीतिको जगका सूत्रधार उज्ज्वल थापा
नेपालमा वैकल्पिक राजनीतिक संस्कृतिको शुभारम्भ गर्ने काम संस्थापक नेता उज्ज्वल थापाले गरेका थिए । अध्ययनका क्रममा अमेरिका रहेका थापाले २०६३÷६४ तिर स्वदेश फर्किएपछि विवेकशील नेपाली अभियान सुरु गरेका थिए । नेपालको उज्ज्वल भविष्य निर्माणका लागि उनले वैकल्पिक राजनीतिको दियो बालेका थिए ।

२०६२/६३ सालको जनआन्दोलनले निरंकुश राजतन्त्र ढालेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको थियो । देशमा आमूल परिवर्तनका लागि होमिएको तत्कालीन विद्रोही नेकपा माओवादीको नेतृत्वमै सरकार बनेको थियो । संविधानसभामार्फत् संविधानमा पहिचान सहितको आ–आफ्ना अधिकार स्थापित गर्न आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिम, दलित, थारु, पिछडिएका समुदायहरूको दैनिकजस्तो बन्द, हड्ताल, विरोध प्रदर्शन भइराख्थ्यो । भ्रष्टाचार, बेथिति, बेरोजगारीले नेपाली समाज आक्रान्त बनेको थियो । तर थापाले ‘नेपाल बन्द छैन’, ‘तोडफोड र हत्या हिंसाको राजनीति बन्द गरौँ’ जस्ता नारासहित राजनीतिक वातावरणलाई शान्त र सुसंस्कृत बाटो देखाउने अभियान चलाए । स्वास्थ्य, शिक्षा लगायत राज्यका हरेक तहमा सबैको समान पहुँच हुनुपर्छ भन्ने लोकप्रिय नारा उनले अगाडि बढाए ।
उनले नेपालीलाई व्यक्तिगत रूपमा असल आचरणको सन्देश प्रवाह गर्ने, सामाजिक एकतालाई बलियो बनाउने, सामूहिक प्रयत्नबाट दिगो विकासमा प्रोत्साहन गर्ने, सरकारी तहमा जिम्मेवारी, नैतिक जबाफदेही, सुशासनको रुपान्तरण गर्ने उद्देश्यका साथ २०६९ साल जेठ १५ गते विवेकशील नेपाली पार्टी स्थापना गरे । २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीको तर्फबाट चार जना स्वतन्त्र उम्मेदवार उठाएका थिए । उम्मेदवारले उल्लेखीय मत प्राप्त गर्न नसके पनि वैकल्पिक नयाँ शक्तिको दियो बाल्ने काम गर्यो ।

अभियानलाई थप मजबुत बनाउने उद्देश्य साथ २०७४ साल साउन ११ गते विवेकशील नेपाली र पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबिच एकता भएर विवेकशील साझा पार्टी गठन भयो । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा रञ्जु दर्शना र उपमेयरमा किशोर थापाले ४० हजार मत कटाएका थिए । त्यतिबेला विवेकशील साझाले पाएको मतका कारण परम्परागत राजनीतिक दलहरूको क्याम्प हल्लियो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७२ सालको संविधान जारी भएपछि माओवादी त्यागेर नयाँ शक्ति अभियान चलाए । त्यसयता वैकल्पिक पार्टी खोल्ने होडबाजी नै चल्यो । राजनीतिमा युवाहरूको उल्लेखनीय सहभागिता र सक्रियता देखा पर्यो । विवेकशील अभियानले परम्परागत दलहरूलाई समेत अस्तित्व रक्षाका लागि रुपान्तरित हुन बाध्य पार्यो ।

२०७९ सालको निर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपा, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मिुक्ति पार्टीको सानदार उदय त्यसकै जगमा भएको राजनीतिक वृत्तमा चर्चा सेलाएको छैन । अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह, धरान उपमहानगरपालिकाका उम्मेदवार हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकाका उम्मेदवार गोपी हमालले परम्परागत राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रको गढ भत्काएर विजयी भएका थिए ।
१२ वर्ष अगाडि थापाले बालेको वैकल्पिक राजनीतिको दियो भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ र २४ गते जेनजी आन्दोलनमा आएर विष्फोट भयो । झन्डै दुई तिहाइ नेतृत्वको कांग्रेस र एमाले गठबन्धन सरकार आन्दोलन सुरु भएको २८ घण्टामै ढल्यो ।
तत्कालीन प्रधानमन्त्री केपी ओली आफ्नो सरकारी निवास बालुवाटारबाट नेपाली सेनाको सहयोगमा हेलिकप्टरमार्फत भाग्न बाध्य भए । पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, दलका नेताहरू भागाभाग भए । केन्द्रीय प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, नेताहरूको निजी निवासदेखि देशभरका सार्वजनिक सम्पत्ति ध्वस्त भए । जेनजी आन्दोलनको क्रममा थापाले परिकल्पना गरेको सुसंस्कृत राजनीतिक अभियान विपरीत केही विध्वंसका गतिविधि भए पनि भ्रष्टाचार, बेथिति, नातावाद, परिवारवादविरुद्ध निर्णायक आन्दोलन रूपमा स्थापित भएको छ । यद्यपि जेनजीको बलिदानपछि उथलपुथल भएको नेपालको राजनीति आगामी दिनमा कुन मोडमा पुग्नेछ भन्ने अहिले नै आकलन गर्नसक्ने अवस्था भने छैन । तर जेनजी विद्रोहले नयाँ–पुराना सबै राजनीतिक पार्टीहरूमा भूकम्प ल्याइदिएको छ ।
जेनजी विद्रोहको बलमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ । निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरू बन्ने र भत्किने क्रम तीव्र रूपमा चलेको छ ।
- किन ढल्यो विवेकशील साझा ?
संस्थापक थापा विवेकशील पार्टीलाई बलियो शक्तिको रूपमा स्थापित गर्ने उद्देश्यले २०७४ साल साउन ११ गते पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रको साझा पार्टीसँग एकता गर्ने निर्णयमा पुगे । दुवै पार्टीबाट आधा÷आधा शक्ति रहनेगरी ३४ सदस्यीय केन्द्रीय समिति गठन भयो । तर एकता भएको १७ महिना अर्थात् २०७५ पुस २७ गते पार्टी विभाजन भयो । पार्टी विभाजन पश्चात् पुस ३० गते एक टेलिभिजन अन्तर्वार्तामा थापाले निराशा व्यक्त गरेका थिए ।
‘वैकल्पिक राजनीतिले नतिजा खोज्छ, गन्तव्यमात्र होइन । एकतापछिको एक वर्ष अत्यन्त निराशाजनक देखियो । वैकल्पिक शक्ति एउटा संस्कार हो । वैकल्पिक शक्ति चाहने आम नागरिक र नेतृत्वले खाली शक्तिमात्र खोज्छ, तर संस्कारको बाटोमा जान चाहँदैन भने त्यो वैकल्पिक शक्ति कहिल्यै सफल हुँदैन’, उनले भनेका थिए ।
थापा र मिश्रले एकता महसुस गरी २०७७ मंसिर २४ गते दोस्रो पटक एकता गरे । त्यतिवेला मिश्र संयोजक र मिलन पाण्डे सहसंयोजक भए । एकीकृत पार्टीको केन्द्रीय समितिमा विवकेशील र साझा दुवै पक्षबाट ६५÷६५ जना गरी १३० जनाको केन्द्रीय समिति बनाइयो । सम्झौतामा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने भनिएको थियो । तर २०७८ जेठ १८ गते थापाको कोभिड सङ्क्रमणका कारण ४४ वर्षको उमेरमा निधन भयो । थापाको निधनपछि संयोजक मिश्रले पार्टी नीति विपरीत राजतन्त्रको पक्षमा दस्तावेज ल्याए । मिश्रको प्रस्ताव सहसंयोजक पाण्डेले ठाडै अस्वीकार गरे ।

अन्तरविरोध बढ्दै जाँदा मिश्रले पाण्डेलाई कारबाही गरे । कारबाहीको विरोधमा पाण्डे अदालत गए । अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेको वेला २०७९ असोज १२ गते मिश्र राप्रपा प्रवेश गरे । त्यतिबेला साझा पार्टीसँग एकता गरेर आफूले कुनै गल्ती नगरेको पाण्डेले जिकिर गरे ।
‘एकता गरेर गलत गरेँ जस्तो मैले फिल गरेको छैन । मैले स्वच्छ मनले एकता गरेको थिएँ । अर्को व्यक्ति गलत विचार राखेर प्रस्तुत हुँदा पार्टी दुर्घटनामा पर्यो’, उनले भने ।
महासचिव दर्शनाले सामूहिक प्रयत्न गर्दा राम्रो परिणाम आउँछ भनेर संस्थापक थापाले नै साझा पार्टीसँग एकता गर्न प्रेरित गरेको बताइन् । उनले भनिन्, ‘पोजिटिभनेसले अगाडि बढ्नुपर्छ भनेर २०७४ सालमा विवेकशील नेपालीले साझासँगको एकीकरण गर्ने जुन निर्णय थियो, त्यतिखेर पनि उज्ज्वल दाइले हामीलाई बुझाउनु भएको थियो । हामी एक्लैले पूरै देश सम्हाल्न सक्छौँ भन्ने हुटहुटी जायज हो तर धरातलीय यथार्थ बुझ्नुपर्छ । हामीले कम्प्लिमेन्ट हुन सक्ने शक्तिहरूसँग मिल्दा राम्रो भनेर दाइले नै सिकाउनु भएको हो ।’
वर्तमान अवस्थामा वैकल्पिक राजनीतिलाई नै मूलधारमा लिएर आउने विवेकशीलको सुसंस्कृत राजनीति र यसको मूल्य मान्यतालाई रास्वापाले आत्मसात् गरेकाले एकताको निर्णयमा पुगेको दर्शनाले जिकिर गरिन् ।
जेनजी विद्रोहपछि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका २२ वटा पार्टीले प्रमाणपत्र पाइसकेका छन् । अहिले नयाँ÷पुराना सबै राजनीतिक दलले आफूलाई जेनजीको वास्तविक अभिभावक भएको जस लिने होडबाजी चलिरहेको छ । आगामी निर्वाचनपछि थापाले परिकल्पना गरेजस्तै युवा पुस्ताले देशको बागडोर सम्हाल्ला वा परम्पारगत दलकै दबदबा कायम रहला ? त्यसको परीक्षण आगामी निर्वाचनबाट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण