निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
सारांश
- प्रधानमन्त्रीले सेनालाई निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न निर्देशन दिइन्।
- उनले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।
- प्रधानमन्त्रीले सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित काम गर्न निर्देशन दिइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा कायम गरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।
शुक्रबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारीबमोजिम शान्तिसुरक्षाको प्रत्याभूतिसहित घोषित मितिमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी राष्ट्रिय अभिभारा पूरा गर्ने अभियानमा सेनाको प्रमुख भूमिका रहेको स्पष्ट गरिन् ।
गौरवमय इतिहास भएको नेपाली सेनाले निर्वाचन सुरक्षाका क्रममा यसअघि जस्तै प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् । “जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिन्छु”, प्रधानमन्त्रीले भनिन् ।
आगामी निर्वाचनका क्रममा नागरिकको ज्यान जाने र घाइते हुने अवस्था आउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिइन् ।
प्रधानमन्त्रीले जेनजी आन्दोलनका क्रममा लुटिएका र हराएका हातहतियारको खोजतलासहित नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न, मुलुकमा शान्ति सुरक्षा सुनिश्चित गर्न तथा फरार अपराधी पक्रन खटिएका प्रहरीलाई सहयोग गर्न पनि निर्देशन दिइन् ।
जङ्गी अड्डा निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिइन् । यसैगरी सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ‘ब्रिफिङ’ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत विशिष्ट अधिकारीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण