बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिँजा गाउँपालिकाले कृषि कर्जामा अनुदान दिने

शुक्रबार, १२ मङ्सिर २०८२, २१ : १०
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • सिँजा गाउँपालिकाले कृषि व्यवसायमा लाग्न चाहनेलाई सहुलियत ब्याजदरमा ऋण दिने भएको छ।
  • १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले गाउँपालिकाको सिफारिससहित कर्जाका लागि आवेदन दिन सक्नेछन्।
  • यस कार्यक्रमले स्वरोजगार सिर्जना, आयआर्जन वृद्धि र जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

जुम्ला । सिँजा गाउँपालिकाले कृषि व्यवसायमा संलग्न हुन चाहने स्थानीयलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत सहुलियत व्याजदरमा ऋण प्रदान गर्नेभएको छ ।

सो पालिकाले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा आफ्नो पालिकाका बेरोजगार तथा कृषि उद्यमीलाई सरल कृषि अनुदान सहयोग कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

स्थानीय कृषक समूह तथा कृषि व्यवसायसँग सम्बद्ध सहकारी संस्थालाई ब्याजदरमा अनुदान सहयोगको व्यवस्थासहित कृषि पेसामा आकर्षित गर्न लागेको पालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

अनुदान सहयोग कार्यक्रमअन्तर्गत कृषि व्यवसायमा संलग्न १८ देखि ६५ वर्ष उमेरका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न स्थनीय फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिससहित कर्जाको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको अध्यक्ष धितालले स्पष्ट पारे ।

संशोधित कृषि कर्जा निर्देशिका, २०६९ बमोजिम बैंकले पालिकाको सहयोगमा सहुलियत दरमा प्रदान गर्ने रकम आवधिक र चालु पुँजी दुवै प्रकृतिको हुने तथा ग्रेस अवधिसहित अधिकतम १० वर्षका लागि प्रदान गरिने व्यवस्था रहेको छ ।

सो गाउँपालिकाले आफ्नो कोषबाट ऋणीलाई एक प्रतिशत ब्याज अनुदान दिने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए ।

यो कर्जा लगानीपछि कृषि उपजको व्यावसायिक उत्पादन भई स्वरोगारमा वृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको गाउँपालिकाका प्रवक्ता तीर्थ वडको भनाइ छ ।

उक्त कार्यक्रमममा सहभागी नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा र गाउँपालिकाको सिफारिस, व्यायसायिक योजना तथा जग्गाधनी प्रमाणपत्रसहित अन्य आवश्यक कागजातहरू उपलब्ध गराउनुपर्ने सिँजा गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप