बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
व्यक्तित्व

बालेन पिता रामनारायण : अब्बल आयुर्वेद चिकित्सक जसले गरे वैद्यखानाको नेतृत्व

सोमबार, १५ मङ्सिर २०८२, १९ : ००
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा डा. रामनारायण साहको निधन भएको छ।
  • डा. साह लामो समयदेखि मधुमेह र पिसाब सम्बन्धी समस्याबाट ग्रसित थिए र उनी एक अब्बल आयुर्वेद चिकित्सक थिए।
  • डा. साहको निधनपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का बुवा डा. रामनारायण साहको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र पिसाब सम्बन्धी समस्याबाट ग्रसित डा. साहको सोमबार दिउँसो १२ बजेर २० मिनेटमा निजामती अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

धेरैले मेयर बालेनका बुवाका रुपमा चिनेपनि डा. साहको आफ्नै परिचय फराकिलो र ओजिलो थियो । उनी नेपालको सरकारी सेवाका अब्बल आयुर्वेद चिकित्सक थिए ।

स्व. साहले आफ्नो जीवनको लामो समय नेपालको आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको विकासमा समर्पित गरेका थिए । २०४३ सालमा सरकारी सेवामा प्रवेश गरेका उनी एक दक्ष चिकित्सक मात्र नभई सफल प्रशासक समेत थिए । आफ्नो सेवाकालमा उनले आयुर्वेद विभागको महानिर्देशकजस्तो गरिमामय पद सम्हालेका थिए । साथै देशको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादन केन्द्र ‘सिंहदरबार वैद्यखाना’ को प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेर पनि उनले महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । आयुर्वेद क्षेत्रको उन्नयनमा उनले पुर्‍याएको योगदान स्मरणयोग्य रहेको छ ।

महोत्तरीदेखि काठमाडौँसम्मको यात्रा

डा. साहको जन्म २००६ साल कात्तिक २० गते महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा भएको थियो । परिवारका ४ दाजुभाइ र १ बहिनीमध्ये उनी सबैभन्दा जेठा सन्तान थिए । सरल स्वभावका धनी डा. साहका ४ छोरी र २ छोरा छन् । काठमाडौँ महानगरको नेतृत्व गरिरहेका बालेन्द्र शाह (बालेन) उनका कान्छा छोरा हुन् ।

डा. साहको निधनपछि उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न राज्यका उच्च पदस्थ व्यक्तित्वहरू पशुपति आर्यघाट पुगेका थिए । श्रद्धाञ्जलीका लागि उपसभामुख इन्दिरा राना मगर, सञ्चारमन्त्री जगदीश खरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता, प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायतको उपस्थिति थियो ।  

यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धरसहित कार्यपालिका सदस्य, कर्मचारी, कलाकार र सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

पिसाबमा संक्रमण देखिएपछि उनलाई आइतबार बिहान सवा १० बजे निजामती अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । सघन उपचार कक्ष आईसीयूमा उपचाररत अवस्थामा उनको निधन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप