बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी प्रदर्शन

हतियार जोगाउन नसकेको भन्दै सशस्त्रका डीएसपीसहित १७ जनालाई कारवाही सिफारिस

मङ्गलबार, १६ मङ्सिर २०८२, १२ : १८
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरीका डीएसपीसहित १७ जनालाई कारबाहीको सिफारिस गरिएको छ।
  • भदौ २४ मा मिनभवन र बेलडाँगीमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको बेस र हतियार लुटपाट भएको थियो।
  • आन्तरिक छानबिन समितिले सुरक्षा कमजोरी औंल्याउँदै कारबाहीको सिफारिस गरेको छ, जसमा हतियार हराएको र आगजनी भएको उल्लेख छ।

काठमाडौँ । जेनजी प्रदर्शनमा हतियार र बन्दोबस्तीका सामान जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरीका डीएसपी सहित १७ जनालाई कारबाहीको सिफारिस गरिएको छ । आन्तरिक छानबिन गर्न गठित समितिले डीएसपी गौतम कुँवर सहितका कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

जेनजी प्रदर्शन हुँदा भदौ २४ मा मिनभवन स्थित सशस्त्र प्रहरीको बेस र झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सुरक्षामा खटिएको सशस्त्रको हतियार लुटपाट र आगजनी भएको थियो । डीएसपी कुँवर मिनभवन स्थित बेसको प्रमुख हुन् । अहिले उनी नम्बर–२० विपद् उद्धार गण सिनामंगलमा कार्यरत छन् ।

जेनजी प्रदर्शन हुँदा गौतम नेतृत्वको टिमले आफ्नो कमान्डमा रहेको सुरक्षा बेस र हातहतियार जोगाउन नसकेको आन्तरिक छानबिन समितिको आरोप छ । प्रदर्शनकारीले यातायात व्यवस्था कार्यालय र सशस्त्रको बेसमा तोडफोड र आगजनी गरेका थिए । सशस्त्रको बेस यातायात व्यवस्था कार्यालय परिसरमा थियो ।

सशस्त्रको कार्य विभागका डीआईजी कमल गिरी नेतृत्वको समितिले जेनजी प्रदर्शनमा भएको कमजोरीबारे आन्तरिक छानबिन गरेर प्रतिवेदन पेश गरेको छ ।

समितिले मिनभवन बेसमा कार्यरत १३ जना र बेलडाँगीमा कार्यरत ४ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सशस्त्रका एकजना उच्च अधिकृत भन्छन्, ‘प्रतिवेदनमा आन्दोलनमा सशस्त्रले खेलेको राम्रो र नराम्रो दुवै भूमिकाको विश्लेषण गरिएको छ ।’

मिनभवनमा अवस्थित बेस अहिले त्यहाबाट स्थानान्तरण गरिएको छ । मिनभवनमा अहिले नम्बर–९ पशुपति बाहिनीको मुख्यालय स्थापना गरिएको छ ।

जेनजी प्रदर्शनमा मिनभवनबाट केही थान एसएलआर हराएको थियो । त्यसमध्ये केही हतियार जलेको अवस्थामा भेटिएको सशस्त्रका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । बानेश्वरबाट लुटिएको सशस्त्रको एउटा एसएलआर भक्तपुरमा भेटिएको थियो । चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणीमा भेटिएको हतियारमा नम्बर–२० गण २९० लेखिएको थियो ।

झापाको बेलडाँगीमा ४ नाल एसएलआर आन्दोलनकारीले आगजनी गरेको अवस्थामा फेला परेको छ । भदौ २४ मा बेसबाट हतियार लुटिनु र जल्नुमा ‘सुरक्षा चुक’ देखिएको आन्तरिक छानबिनको निष्कर्ष छ ।

मिनभवन र झापाबाट लुटिएका मध्ये १५–२० थान हतियार  विभिन्न ठाउँबाट बरामद गरिएको सशस्त्रका ती अधिकृतको भनाइ छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले हतियार लुटिएको यकिन तथ्याङ्क सार्वजनिक गरेको छैन । प्रदर्शनमा सशस्त्र प्रहरीको ५० भन्दा बढी सवारी साधानमा आगजनी गरिएको थियो । नयाँ बानेश्वर स्थित संसद भवन, सिंहदरबार, रानीपोखरी र भैंसेपाटी स्थित मन्त्रीक्वार्टरमा सशस्त्रको गाडीमा आगजनी गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप