शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अपाङ्गता अधिकार र सचेतना विस्तारका लागि ह्विलचियर बास्केटबल

बुधबार, १७ मङ्सिर २०८२, २३ : ४२
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • सुर्खेतमा अपाङ्गता अधिकार र सचेतनाका लागि ह्विलचियर बास्केटबल खेल आयोजना भयो।
  • खेलले अपाङ्गता भएका व्यक्तिहरू आत्मविश्वासी जीवन जिउन सक्छन् भन्ने सन्देश दियो।
  • कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनायो।

कर्णाली । अपाङ्गता अधिकार र सचेतना बिस्तारका लागि सुर्खेतमा ह्विलचियर बास्केटबल खेल सम्पन्न भएको छ । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा स्पाइनल इन्जुरी युनियनले सेभ द चिल्ड्रेन र भिजन ३६० को सहयोगमा कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरूबिच मैत्रीपूर्ण ह्विलचेयर बास्केटबल खेल आयोजना गरेको हो । 

खेलमा कर्णाली प्रदेशका तर्फबाट स्पाइनल इञ्जुरी युनियन र सुदूरपश्चिम प्रदेशका तर्फबाट एपी इन्क्लुसिभ पारा एथलेटिक्स स्पोर्टस क्लब सहभागी भएका थिए । 

युनियनका संयोजक दिव्या खड्काका अनुसार खेलमार्फत अपाङ्गता भएका व्यक्तिहरू आत्मविश्वासी, सक्षम, सम्मानजनक तथा सक्रिय जीवन जिउन सक्षम छन् भन्ने सन्देश दिन खोजिएको बताइन् । उनले भनिन्, “हामीलाई आवश्यक पर्ने कुरा भनेको समावेशी र लाञ्छना–मुक्त समाज निर्माणका लागि समुदाय र सरकारको अझ बलियो समर्थन र सहकार्य हो ।”

सेभ द चिल्ड्रेनको सिफ्ट अभियानअन्तर्गत यस समूहले संवाद, कथावाचन र आर्टिभिजनलाई प्रवर्द्धन गर्न तथा अपाङ्गता अधिकार र सचेतना बिस्तार गर्न ह्विलचेयर बास्केटबललाई माध्यमका रूपमा प्रयोग गर्दै आएको उक्त संस्थाका पैरवी र सञ्चार निर्देशक आयुष जोशीले बताए । उनले ह्विलचेयर बास्केटबल खेल अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका लाञ्छना र भेदभावलाई चुनौती दिने एक सृजनशील र प्रभावकारी माध्यम भएको बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अपाङ्गता समावेशीकरण एक दिनको विषय नभएको धारणा राखे । उनले भने, “कर्णाली प्रदेश सरकारका तर्फबाट म अपाङ्गता भएका व्यक्तिहरूले समावेशी सेवामा पहुँच पाउन सक्ने वातावरण निर्माण गर्ने पूर्ण प्रतिबद्धता दोहोर्‍याउँछु । हामी चेतनामूलक गतिविधि प्रवर्द्धन गर्न र अपाङ्गता अधिकारलाई अगाडि बढाउन निरन्तर काम गर्दै जानेछौँ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप