बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले महाधिवेशन

पद माग्नेलाई ओलीको प्रश्न : तपाईंहरु कसलाई नेता मान्ने ?

बिहीबार, १८ मङ्सिर २०८२, १४ : ३०
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेको महाधिवेशनमा नेतृत्वको बहस सुरु भएको छ, जसमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ।
  • ओली पक्षले प्रचार सामग्रीमा ओलीको तस्बिर प्रयोग गरेको छ भने पोखरेल पक्षले मदन भण्डारीको तस्बिर प्रयोग गरेको छ, दुवै पक्षले डिजिटल प्रचारलाई तीव्रता दिएका छन्।
  • महाधिवेशनमा विधान संशोधनको प्रस्ताव लैजाने तयारी ओलीको छ, किनकि नेता व्यवस्थापन गर्न कठिन हुने देखिएको छ।

काठमाडौं । एघारौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको काम सकिएसँगै नेकपा एमालेभित्र नेतृत्वको बहस चुलिएको छ ।

मंसिर २९ सम्म नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने महाधिवशेनका लागि एमालेले मंसिर १३ गते देशभरका प्रतिनिधि छानेको थियो । प्रतिनिधि छनोटको काम सकिएसँगै एमाले नेता-कार्यकर्ताहरु आन्तरिक जोड घटाउमा व्यस्त हुँदै पार्टीको आगामी नेतृत्व कस्तो आउला भनेर चासोपूर्वक नियाल्न थालेका छन् ।

११ औं महाधिवेशनमा अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चितजस्तै भइसकेको छ । ओली र पोखरेल दुवै पक्ष आ-आफ्नो टिमसहित महाधिवेशनमा प्रतिस्पर्धा गर्ने योजनामा छन् । यद्यपि दुवै पक्षले आफ्नो टिम घोषणा गर्न भने सकेका छैनन् । तर अध्यक्षका प्रत्यासी दुवै पक्षले डिजिटल प्रचार भने तीव्र बनाउँदै लगेका छन् ।

ओली पक्षले प्रचार सामग्री (पोस्टर)मा ओलीको तस्बिर राख्दै ‘मेरो होइन माटोको बोली, फेरि एक पटक केपी ओली’ नारा तय गरेको छ भने पोखरेल पक्षले जबज प्रणेता दिवंगत मदन भण्डारीको तस्बिर पृष्ठभूमिमा राख्दै ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व, एमालेलाई दृढ र सन्तुलित नेतृत्व’ नारा तय गरेको छ ।

ओली समूहको प्यानल बनेपछि मात्र आफ्नो प्यानल बनाउने पोखरेल समूहको रणनीति देखिन्छ । त्यसो गर्दा ओली पक्षका असन्तुष्ट नेताहरुलाई आफ्नो पक्षमा तान्न सकिने पोखरेल पक्षको विश्वास छ ।

पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समूह र विगतको नेकपाका १० बुँदे पक्षधर नेताहरुले साथ दिने देखिएको छ । पोखरेल पक्षले सुन्धारास्थित एक होटल र थापागाउँस्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयलाई सम्पर्क स्थल बनाएर निकटका नेता, कार्यकर्ता र प्रतिनिधिहरुसँग भेटघाट र छलफल गरिरहेकव ओलीले भने अस्थायी निवास भक्तपुरको गुण्डुमै अधिकांश भेटघाट गर्ने गरेका छन् ।

आफू निकट नेताहरुसँगको भेटमा ओलीले छनोट भएका प्रतिनिधिहरुमध्ये ८० देखि ८५ प्रतिशत आफ्नो पक्षमा रहेको सुनाउने गरेका छन् । महाधिवेशनमा करिब २२ सय हाराहारी प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । 

बुधबार गुण्डुमा ओलीसँग भेट गरेका एक एमाले केन्द्रीय सदस्य भन्छन्, ‘उनीहरु (पोखरेल पक्ष) ले केन्द्रीय कमिटी बैठकअघि भयंकर हल्ला गरे, तर बोल्ने थोरै भए । सचिवालय बैठकमा के-के न हुन्छ भनेर हल्ला मच्चाए, त्यो बैठकमा मान्छे भए ६ जना । प्रतिनिधि छनोट भए हाम्रै ८० देखि ८५ प्रतिशत ।’

छनोट भएका प्रतिनिधिहरुको मसिनो हिसाब–किताब गरिरहेका ओलीले आफू ‘कम्फर्ट’ जोनमै रहेको निकटस्थहरुलाई बताउने गरेका छन् । ती नेताका अनुसार ओलीले आफू निकटका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई एक्ला-एक्लै गुण्डुमै बोलाएर उनीहरुको आकांक्षा बुझ्दै टिम निर्माणको गृहकार्य गरिरहेका छन् ।  

‘नेताहरुसँग एक्लाएक्लै संवाद गरेर उनीहरुको मनस्थिति बुझ्ने र सँगै आफ्नो टिम निर्माणमा अध्यक्ष ओली लागेको बुझिन्छ,’ एक पदाधिकारी भन्छन्, ‘तर टिममा को-को भन्ने कुरा उहाँले एकैपटक बन्दसत्रमा मात्रै घोषणा गर्ने बुझिन्छ ।’

त्यसो त महाधिवेशन मिति नजिकिएसँगै गुण्डुमा ओलीलाई भेट्न जानेहरुले ‘आफ्नो पद के हुन्छ’ भनेर चासो राख्ने गरेको बुझिएको छ । चासो राख्नेहरुको जवाफमा ओलीले उनीहरुसँग मुख्य तीनवटा प्रश्न गर्ने गरेका छन् ।

स्रोतका अनुसार गुण्डुमा ओलीसँग पद माग्न जानेहरुलाई ओलीले सोध्ने पहिलो प्रश्न हो– तपाईंहरुले मलाई नेता मान्ने हो कि अरु कसैलाई ?, मप्रति विश्वास छ कि छैन ?, कुनै डाउट छ ? ओलीका यी प्रश्नमा प्रायः पद माग्न जानेहरुले ‘तपाईंलाई नै नेता मान्ने हो, तपाईंप्रति विश्वास छ र कुनै डाउट छैन’ भन्ने जवाफ दिएपछि अन्तिममा ओलीले भन्ने गरेका छन्,  ‘त्यसो भए खुरुक्क अहिले जाने, मैले जे भन्छु त्यही गर्ने’ भनेर पठाइदिने गरेका छन् ।

विधान संशोधनको प्रस्ताव ल्याउने मुडमा ओली

दोस्रो विधान महाधिवेशनले गरेको व्यवस्था अनुसार नेताहरुको व्यवस्थापन गर्न कठिन हुने भएकाले विधान संशोधन प्रस्ताव लैजाने मुडमा ओली पुगेका छन् । गत भदौ २२ गते सम्पन्न एमाले विधान महाधिवेशनले केन्द्रीय कमिटीको संख्या घटाएर २५५ बनाएको थियो भने स्थायी कमिटी नै खारेज गरेको थियो । त्यस्तै केन्द्रीय पदाधिकारीको संख्या १९ बाट घटाएर १५ बनाएको थियो । तर यसमा ओली संशोधन प्रस्ताव लैजाने मुडमा छन् ।

‘दबाब पनि छ, अध्यक्ष आफैं पनि केही परिवर्तन गर्नुपर्छ कि भन्ने मुडमा देखिनुहुन्छ’, ओली निकट एक पदाधिकारी भन्छन्, ‘महाधिवेशनपछि नेताहरुको व्यवस्थापन गर्न कठिन हुने देखिएको छ । त्यसैले संशोधन गर्नुपर्छ कि भन्ने छ, तर छलफल चलाउनुभएको छैन ।’

ती नेताका अनुसार अबको केही दिनभित्र बस्ने सचिवालय बैठकमा उक्त प्रस्ताव लैजाने ओलीको तयारी छ । महाधिवेशन उद्घाटन सकिएपछि केन्द्रीय कमिटी एक पटक राखेर अध्यक्षमण्डल घोषणा गर्ने ओलीको तयारी रहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप