विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न संयुक्त नागरिक पार्टीको माग
सारांश
- संयुक्त नागरिक पार्टी (सनपा) ले चुनाव निर्धारित समयमा नगरे देश दुर्घटनामा जाने चेतावनी दिएको छ।
- पार्टीका अध्यक्ष दलमर्दन कामीले जेनजी विद्रोहबाट बनेको सरकारले समयमै चुनाव गराउनुपर्नेमा जोड दिए।
- सनपाले विदेशमा रहेका नागरिकको मताधिकार सुनिश्चित गर्न र दलहरुको सस्तो लोकप्रियताको चिन्ता व्यक्त गरेको छ।
काठमाडौँ । संयुक्त नागरिक पार्टी (सनपा) ले पूर्वनिर्धारित समयमा चुनाव सम्पन्न नभए देश दुर्घटनामा जाने चेतावनी दिँदै सरकार र दलहरूलाई चुनावी प्रक्रियाप्रति जिम्मेवार हुन आग्रह गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले यो माग अघि सारेको हो।
पार्टीका अध्यक्ष दलमर्दन कामीले जेनजी विद्रोहबाट बनेको सरकारले निर्धारित समयसीमाभित्रै चुनाव गराउनुपर्नेमा जोड दिए। उनले जेनजी आन्दोलनमा दमन र घुसपैठ गर्ने दुवै पक्षलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै दमनकारीहरू पुनः टाउको उठाउन खोजेको र घुसपैठ गर्ने तत्त्वहरूले राज्यलाई चुनौती दिनु दुःखद विषय बनेको बताए।
सनपाका महासचिव डा. तेज बहादुर रोक्काले लाखौँ नेपाली नागरिकहरू विदेशमा रहेकाले उनीहरूको मताधिकार सुरक्षित गर्न माग गरे। उनले 'एक पटकको नेपाली सदाका लागि नेपाली' भन्ने मान्यताअनुसार विदेशबाटै मताधिकार प्रयोग गर्न पाउनुपर्ने तर्क राखे।
उपाध्यक्ष डा. शिवहरि भट्टराईले पछिल्लो समय दल र नेताहरू सस्तो लोकप्रियताका लागि समाज भड्काउने दिशातर्फ अग्रसर भइरहेकोमा चिन्ता व्यक्त गरे।
पार्टीका सह-महासचिव तथा प्रवक्ता विदुर अधिकारीले जेनजी पुस्ताको बलिदानको स्मरण गर्दै सम्पूर्ण अग्रगामी दल, बल र शक्तिहरूलाई कार्यनीतिक एकता गर्दै चुनावी रणमैदानमा एकसाथ होमिएर 'पुरातन दलतन्त्रलाई परास्त गर्नुपर्नेमा' जोड दिए।
अध्यक्ष कामीले आफ्नो दल गितार चिन्ह लिएर मैदानमा उत्रिएकोले समस्त मतदातालाई गितार चुनाव चिन्हमा मतदान गरिदिन अपिलसमेत गरेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण