‘वामपन्थी र गैरवामपन्थीबारे चीनको अलग-अलग धारणा रहेको पाइनँ’
काठमाडौं । २०६२ सालमा माओवादी आन्दोलनमा सक्रिय रहेका संघर्ष दाहाल राजनीतिमा लामो समय निष्क्रिय रहे । शनिबार नेपाली कम्युनिस्ट पार्टीले जनकपुरमा गरेको सन्देशसभा मार्फत् उनी पार्टी प्रवेश गरे । महोत्तरीको भङ्गाहा नगरपालिका–४ निवासी दाहालले २०६९ सालमा माओवादी विभाजन भएपछि निष्क्रिय भएका थिए । तर त्यसैबेलादेखि उनले सामाजिक सक्रियताको ग्राफ ह्वात्तै बढाए । उखु किसान, भूमिहीन थारु मुसहर समुदायको जमिन फिर्ता, त्रिभुवन विश्वविद्यालय सुधारदेखि मिटरब्याजी पीडितको पक्षमा दाहालले नेतृत्वदायी भूमिका खेले ।
मिटरब्याजी पीडितहरूको काठमाडौँ केन्द्रित आन्दोलनका कारण तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले अध्यादेश मार्फत कानुन संशोधन गरी माग सम्बोधन गरेको थियो । अहिले चीनको सियान जिओतोङ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका दाहालसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश :
तपाईंले राजनीति र सामाजिक क्षेत्रमा के–के काम गर्नुभयो ?
म लामो समयदेखि राजनीतिक काममै संलग्न भइराखेको हो । विद्यार्थी आन्दोलनमा लगभग झन्डै एक दशक रहेँ । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दाखेरि एमफिल/मास्टर्स गर्दाखेरि विश्वविद्यालयलाई सुधार गर्ने भनेर हामीले अभियान नै चलायौँ । त्यो अभियानको दौरानमा २९ दिनसम्म धर्नामा बस्या थियौँ उपकुलपतिको गेटमा । छात्रवासमा १० औँ वर्षदेखि विद्यार्थी नेताहरू बसिराखेका थिए । उनीहरूलाई निकाल्ने विषयमा हामीले ठुलो संघर्ष गर्यौं ।
त्यसपछि एमफिल–पीएचडीलाई निःशुल्क गर्नुपर्छ, निःशुल्क गर्न सकिँदैन भने कम्तीमा पनि निश्चित छात्रवृत्ति प्रदान गर्नुपर्छ । एमफिल–पीएचडी गर्ने भनेको रिसर्चर (अनुसन्धानकर्ता) हरू उत्पादन गर्ने हो । भोलिको दिनमा फरक–फरक डिसिप्लिनको पोलिटिकल साइन्स, इन्टरनेसनल रिलेसन, सोसियोलोजी, इकोनोमिक्स लगायत विभिन्न क्षेत्रको फरक–फरक डिसिप्लिनको विद्यार्थीहरू रिसर्चरहरू उत्पादन गर्नुपर्छ । त्यसका लागि राज्यले लगानी गर्नुपर्छ भनेर हामीले लामो आन्दोलन पनि गर्यौं । निश्चित छात्रवृत्ति कोटा दिने भनेर एउटा सम्झौता पनि भयो । तर त्यो कार्यान्वयन भएन ।
यस लगायत विभिन्न सामाजिक आन्दोलनहरू ५–७ वर्ष अगाडि उखु किसानको आन्दोलनमा पनि म नेतृत्वदायी भूमिकामै थिएँ । बाँदरमुडे (चितवन) घटनाका ४० जना पीडितहरूलाई हामी साथीहरू गएर काठमाडौँमा ल्याएर आन्दोलन गर्यौं । त्यतिखेर भूमिसुधार मन्त्री शशी श्रेष्ठ हुनुहुन्थ्यो । बाँदरमुडेमा बिजुलीहरू केही पनि पुगेको थिएन । त्यतिबेला सशस्त्र क्याम्पमा मात्रै बिजुली थियो । अरू सबै अँध्यारो थियो । त्यो माग सम्बोधनका लागि हामीले त्यहाँबाट पीडित ल्यायौँ । जमिनहरू ट्याक्टर ल्याएर जोत्न पाइँदैनथ्यो । ३०–३५ दिनमा आर्मीले ‘बस्ती खाली गर्’ भन्थ्यो, त्यो सबै बन्द भयो । सबै माग अझै पूरा भएको छैन तर आंशिक कुरा पूरा भयो ।
२०५५ सालतिर मेरै नगरपालिकामा थारु टोल बनरा भन्ने डेढ सय भन्दा बढी बिघाको एउटा गाउँ छ । त्यो गाउँ नै सुकुमबासी आयोगले अरूको नाममा पास गरेको रहेछ । थारु, मुसहर समुदायको बस्ती छ । तर जमिन कुनै वीरगन्जका मान्छेको नाममा छ, कोही विराटनगरको मान्छे, कोही महोत्तरीको दक्षिण क्षेत्रका मान्छेको नाममा छ । पीडितको नाममा फिर्ता ल्याउनुपर्छ भनेर उहाँहरूलाई काठमाडौँ पटक–पटक ल्यायौँ । माइतीघर मण्डलामा प्रदर्शन गर्यौं । बर्दिबासमा प्रदर्शन गर्यौं । हाम्रै नगरपालिका भङ्गाहामा प्रदर्शन गर्यौं । जलेश्वरमा प्रदर्शन गर्यौं । नेपाल सरकारसँग त्यतिखेर छानबिन आयोग गठन गर्ने एउटा सहमति पनि भयो । त्यसपछि म पीएचडीको लागि चाइनातिर गएँ । त्यसमा अगाडि बढाउन सकिन । अहिले फेरि त्यो काम सुरु गर्दैछु ।
हामीले मधेस दौडाहाको समयमा म, एकजना कैलालीका मेरो साथी गोविन्द भण्डारा, अर्को महोत्तरीकै नवीन भाइ र बाराका रामनरेश यादव भन्ने मेरो एकजना साथी मधेस यात्रामा थियौँ । पर्साको ठोरीबाट पैदलै हामी हुलाकी सडक हुँदै सप्तरीसम्म पुग्यौँ । त्यो बिचमा हामीले मुसहर समुदायलाई भेटेर उनीहरूको आन्दोलन उठान गर्यौं । किनभने मुसहर समुदाय आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रूपमा नेपालमा असाध्यै बहिष्करणमा परेका छन् । नेपाल सरकारको तथ्यांक अनुसार लगभग झन्डै ९७ प्रतिशत मुसहर समुदायका मान्छेहरू भूमिहीन छन् । उनीहरूको औसत आयु ४२–४३ वर्ष हो । जुन कि नेपालमा आज भन्दा ५०–५५ वर्ष अगाडि समग्र नेपालीको जति औसत आयु थियो ।
४३ वर्ष औसत आयु भएको मुसहर समुदायका मान्छेहरूलाई नेपाल सरकारले ५८ वर्षमा वृद्ध भत्ता दिन्छ । यो कानुन पनि त्यति न्यायोचित छैन भन्ने हिसाबले हामी एउटा मुभमेन्ट उठाउनुपर्यो भनेर हिँड्यौं ।
संयोग कस्तो भयो भने सिरहामा पुगेपछि एकजना रामबालक यादव ’सर’ भन्नेसँग भेट भयो । उहाँले पहिला कैलाली र रामेछापमा पढाउनुभएको रहेछ । उहाँ आफैं मिटरब्याजबाट ठगिनु भएको रहेछ, त्यत्रो शिक्षक जस्तो मान्छे । उहाँले दुई कुरा भन्नुभएको थियो– मधेस ‘दहेज’ र ‘भोज’ले भित्रभित्रै खोक्रो भएको छ । दहेजका लागि पनि मिटरब्याजमा पैसा लिने, अनि भोजका लागि पनि मिटरब्याजमा पैसा लिने । त्यसले खत्तम गर्दो रहेछ ।
काठमाडौँ फर्के पछाडि म त्यसमा लागेँ । सिराहाकै एकजना साथीलाई, उहाँलाई नै अध्यक्ष बनाएर हामीले पीडितहरू खोजेर ’मिटर ब्याज विरुद्धको सङ्घर्ष समिति नेपाल’ संगठन बनायौँ । त्यस पछाडि जिल्ला प्रशासन कार्यालयहरूमा हामीले ज्ञापनपत्र दियौँ, प्रदर्शन गर्यौं । मुख्यमन्त्री कार्यालयलाई पनि हामीले दुई पटक दियौँ । उहाँबाट पनि सुनुवाइ भएन । अन्तिममा हामीले विकल्प नदेखेपछि ७३ जना पीडितहरू सहित हामी बर्दिबासबाट मार्च पास गरेर, हेटौँडा हुँदै काठमाडौँ पुग्यौँ । १२–१३ दिन लाग्यो । एकजना ६ महिनाको शिशु लिएर समेत जानु भएको थियो।

काठमाडौँ पुगिसकेपछि तत्कालीन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट गर्यौं । सरकारले अध्यादेश आयो । अध्यादेशले धेरै काम भयो । त्यो बेलामा सरकारले धेरै नै मद्दत गर्यो । विशेषगरी प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो विषयलाई एकदम गम्भीरतापूर्वक हेर्नुभयो, लिनुभयो । आयोग पनि बन्यो ।
त्यतिबेला हजार–१२ सय मात्रै उजुरी परेको थियो । त्यसपछि आयोगले उजुरी खोल्यो, हजारौँ उजुरी परे । लगभग ५ हजार पीडितले न्याय पाए । त्यसमा मुख्यगरी सरकारको तर्फबाट प्रचण्ड र नारायणकाजीको महत्त्वपूर्ण भूमिका छ । तलबाट हामीहरू आन्दोलनमै थियौँ ।
जाजरकोटको घटनामा पनि हामीले काम गर्यौं । के कति काम भयो, के कति भएन, कति सफल भयो भएन, अर्को पाटो भयो । तर सामाजिक राजनीतिक क्षेत्रमा काम गरिराखेको हो । तर पछिल्लो समयमा राजनीतिक सङ्गठनमै जोडिएर आफूले कति योगदान दिन सकिन्छ भने म अहिले नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएको छु ।
अहिले देश एकातिर अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको खेल मैदान भइराखेको छ, अर्कोतर्फ नेपालकै राजनीतिक दलहरूले जनतामा आएको फ्रस्ट्रेसनलाई सम्बोधन गर्न नसकिरहेको अवस्था देखिन्छ । यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा फेरि ’रेडीमेड एन्सर’ (तयारी जवाफ) त छैन, तर युवाहरू विचार सहितको एउटा राजनीतिक सङ्गठनमा आबद्ध हुने र आएको समस्याहरूलाई हल गर्दै अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
तपाईं सुरुमा माओवादी आन्दोलनमा किन लाग्नुभयो ? बिचमा किन निष्क्रिय हुनुभयो ? अहिले फेरि किन जोडिनुभयो ?
मेरो पारिवारिक पृष्ठभूमि जनयुद्धमा होमिएको हो । मेरो ठुलो बुबा, काकाहरु सबैले जेलनेल पनि भोग्नुभएको हो । काका जनमुक्ति सेनामा हुनुहुन्थ्यो । म २०६२ सालतिर जोडिएको हुँ । माओवादी शान्तिपूर्ण राजनीतिमा आउनु भन्दा केही समय अगाडि त्यतिखेर रामसागर बुहमुखी क्याम्पस जनकपुरमा म इन्टर मिडियट (प्रमाणपत्र तह) मा पढ्थेँ ।
मैले महोत्तरीमा वाईसीएलको रूपमा पनि काम गरेको हो । म २०६६ सालको अन्तिमतिर सुनसरी गएँ । त्यहाँ पूर्णकालीनको रूपमा २०६८ सालसम्म अखिल क्रान्तिकारीमा जोडिएर काम गरेँ । त्यो बिचमा टुटफुट, विभाजन भइसकेपछि अलिकति नैराश्यता आयो । बिचमा म राजनीतिक रुपमा निष्क्रिय बसेँ । तर सामाजिक, गैरसांगठनिक रूपमा म सक्रिय नै थिएँ । त्यो बिचमा पत्रकारिता पनि केही समय गरेँ । त्यहाँबाट पनि अलग रहेर फेरि मास्टर्स गर्न कीर्तिपुर गएपछि विद्यार्थी आन्दोलनमा अलि बढी नै म होमिएँ ।
समय अनुसार विचारहरू केही परिवर्तन पनि हुँदै जाने रहेछ । आजभन्दा १० वर्ष अगाडिको विचार र अहिलेको विचारमा केही असमानता देखिन्छ आफ्नै बिचमा पनि ।
अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा पीएचडी गर्न चीन जानुभएको थियो होइन ?
हो, अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी अहिले पनि पीएचडी गर्दैछु, सकिइसकेको छैन ।
कुन युनिभर्सिटी ?
सियान जिओतोङ युनिभर्सिटीमा हो ।
यतैबाट कम्प्लिट गर्न मिल्छ कि उतै जानुपर्छ ?
यतैबाट हुन्छ । बाँकी मेरो नेपालकै रिसर्च भएको हुनाले यतै बसेर कम्प्लिट गर्छु । प्रोफेसरसँग त्यही कुराकानी भएर म फर्किएको हुँ ।
माओवादी घटकहरू विभिन्न छन् । तत्कालीन माओवादी केन्द्रका असन्तुष्ट समूह जनार्दन शर्मा लगायत नेताहरूले अलग पार्टी गठन गर्नुभएको छ । तपाईंले किन नेकपा नै रोज्नुभयो ?
यसमा मैले नेताहरूलाई कमेन्ट गर्ने खास हैसियत राख्दिनँ । जनयुद्धमा लागेका हरेक नेताहरूको आफ्नो-आफ्नो योगदान छ । मलाई लाग्छ आजको जुन परिवर्तन छ, यसमा उहाँहरूको योगदान छ, त्यसलाई हामी सबैले स्वीकार गर्नुपर्छ । रह्यो कुरा आजको विषयमा, किन कसरी को कता हुनुहुन्छ भन्ने विषयमा मैले धेरै कमेन्ट गर्न चाहिनँ ।
तर मलाई के लाग्छ भने हामीले आन्दोलनलाई फेरि पनि एकताबद्ध बनाएर नै अगाडि जानुपर्छ । नेपालको वामपन्थी आन्दोलन अहिले एकदम निराशावादी अवस्थामा र डिफेन्सिभ (रक्षात्मक) अवस्थामा रहेको हुँदा पहिलो चरणमा माओवादीहरू सबै एक हुनुपर्छ र समग्र कम्युनिस्टहरू नै एक भएर जानुपर्छ जस्तो मलाई लाग्छ ।
तपाईंले चीनको युनिभर्सिटीमा पढ्दै गर्दा अढाई वर्षको अवधिमा त्यहाँ पक्कै पनि प्रोफेसरहरू, त्यहाँका साथीहरूसँग नेपालबारे जानकारी लिनुभयो होला । दृष्टिकोण के पाउनुभयो ?
मैले त्यस्तो खास स्पेसिफिक पोलिटिकल पार्टीलाई कसरी हेर्छन् भन्ने विषय अलग धारणा पाइनँ । उहाँहरूको चिन्ता र चासो दुईवटा चीजमा पाएँ । पहिलो, उहाँहरूको आफ्नो सुरक्षा । चीनले आफ्नो सुरक्षालाई हेर्दो रहेछ ।

त्यस हिसाबमा अरू देशबाट, उसको छिमेकीहरूबाट उसको सुरक्षामा कुनै खतरा हुन्छ कि भन्ने उसको एकदम बढी कन्सर्न (चासो) मैले पाएँ । त्यस हिसाबमा नेपालमा शान्ति होस्, स्थिरता होस् र विकास होस्, समृद्धि होस् भन्ने उसको चाहना पाएँ । त्यसका लागि जुनसुकै पार्टी पनि सरकारमा रहन्छ, उनीहरूसँग सहकार्य गर्न चीन तयार रहेको पाएँ । तर वामपन्थी वा गैरवामपन्थीबिच चीनको अलग–अलग धारणा छ जस्तो मैले बुझिनँ ।
जेनजी विद्रोहपछिको राजनीतिक उथलपुथलको कारण सबै पार्टीमा एकता, ध्रुवीकरण र रुपान्तरणको लहर चलेको छ । कतिपयले जेनजी उमेर समूहबाट वा युवाले मात्र सत्ता सञ्चालन गर्नुपर्छ भन्ने धारणा आइराखेका छन्, त्यसमा तपाईंको मत के हो ?
यसमा मैले अगाडिदेखि नै स्पष्ट रूपमा धारणा राखेको छु । राजनीतिमा दुवै चीजको आवश्यकता हुन्छ– अनुभव र ऊर्जा । दुवैको मिश्रणबाट नै देश अगाडि बढ्न सक्छ । जेनजी विद्रोह एक किसिमको लामो फ्रस्ट्रेसनको विस्फोटन थियो । १८-२० वर्षदेखि जसरी राजनीति घुमिरहेको थियो, त्यसले युवाहरूमा फ्रस्ट्रेसन ल्याएको थियो । पछिल्लो समयमा नेपालबाट वैदेशिक रोजगारमा जाने क्रम पनि व्यापक भयो । एउटा क्लासका युवाहरू खाडीमा जाने, अर्को क्लासका युरोप-अमेरिका जाने । तथापि जता गएपनि त्यहाँको विकासले नेपालमा केही नभएको जस्तो, उहाँहरूले कम्पेयर गर्दा विदेशमा विकास भएको यहाँ विकास नभएको देखियो । विभिन्न सामाजिक, आर्थिक, राजनीतिक फरक–फरक आयामहरूले नेपाली समाजमा देखिएको फ्रस्ट्रेसनको विस्फोटन थियो ।
त्यसकारण हामीले जेनजी आन्दोलनलाई सकारात्मक रूपमा नै लिएर अगाडि बढ्नुपर्छ । किनभने एक किसिमको अहिले पोलिटिकल डिस्कोर्स (बहस) पनि चेन्ज भएको छ । युथहरू आउनुपर्छ भन्ने पनि छ, त्यो राम्रो कुरा हो । त्यो आन्दोलन भन्दा अगाडि युवाहरू राजनीतिमा निष्क्रिय रहेको जस्तो, राजनीतिप्रति चासो नभएको जस्तो, ‘आई हेट पोलिटिक्स’ भन्ने खालको एउटा जेनेरेसन थियो, त्यो जेनेरेसन पोलिटिक्समा आउनु नेपालको आगामी दिनका लागि राम्रो कुरा हो । हामीले अनुभव र ऊर्जा दुवैलाई मिश्रण गरेर नै अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण