भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित
रुपन्देही । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भैरहवा भन्सारमा कार्यरत भन्सार एजेन्टका कर्मचारीहरू आन्दोलित भएका छन् ।
उनीहरूको आकस्मिक आन्दोलनका कारण आज भैरहवा भन्सारबाट राजस्व असुली हुन सकेन । जसले दैनिक करोडौँको राजस्व लक्ष्यमा गम्भीर असर पारेको छ ।
आन्दोलित भन्सार एजेन्टका कर्मचारीहरूले विशेष गरी भन्सार ऐन, २०८२ को दफा ७१ को उपदफा (झ) को व्यवस्थाको विरोध गरेका छन् । उक्त दफामा गरिएको व्यवस्थाअनुसार ‘(झ) घोषणाकर्ताले दफा २० को उपदफा (३) बमोजिम विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नुपर्ने कागजात फरक रूपमा संलग्न गरेमा त्यस्तो घोषणाकर्तालाई सो घोषणा बमोजिम लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँचपास गर्नु” भन्ने उल्लेख छ ।
भन्सार एजेन्टहरूका अनुसार यो व्यवस्था अव्यावहारिक छ । कागजात संलग्न गर्ने प्रक्रियामा सामान्य त्रुटि वा मानवीय भूल भएमा पनि लाग्ने महसुलको दश प्रतिशत (१० प्रतिशत) जरिवाना तिर्नुपर्ने भएकाले यसले काम गर्न असहज बनाएको र अनावश्यक आर्थिक भार थोपरेको उनीहरूको तर्क छ ।
आन्दोलनकर्ता राजु बस्नेतले पहिला सहज रुपमा भइरहेको कामलाई पनि यो ऐनले बल्झाएको बताए । “काम गर्दा त्यहाँ मानवीय त्रुटि हुन सक्छ त्यसमा ठूलो जरिवाना लगाउँदा हामी बेरोजगार हुने अवस्था आउँछ”, बस्नेतले भने “त्यो रकम व्यापारी र भन्सार एजेण्टले तिर्दैन त्यो हामी कर्मचारीको तलबबाट काटिने हो ।” आन्दोलित पक्षले यसको निकास ननिस्के सम्म काम नगर्ने जनाएका छन् ।
यस विषयमा नेपाल भन्सार एजेन्ट सङ्घले भने आधिकारीकता जनाएको छैन । सङ्घका रुपन्देही अध्यक्ष मधु पन्थीले यो भन्सार एजेन्ट सङ्घको आन्दोलन नभई एजेन्टहरुसँग काम गर्ने कर्मचारीको मात्र रहेको बताए । तर कर्मचारीहरुको माग जायज रहेकाले अब यस विषयमा कसरी अगाडि बढ्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलका अनुसार भैरहवा भन्सारले यो महिनाको लक्ष्य ८५९ करोड प्राप्त गरेको छ । यस हिसाबले दैनिक रु ३३ करोड राजस्व असुली गर्ने लक्ष्य भन्सारको छ । तर भन्सार एजेन्टको कर्मचारीको आन्दोलनका कारण भन्सार जाँचपास अवरुद्ध हुँदा सम्पूर्ण राजस्व सङ्कलन ठप्प भएको छ ।
भन्सार प्रशासनले हरेक मामिलामा बदनियतको अवस्था हेरेर जरिवाना लगाउने वा नलगाउने निर्णय गर्नसक्छ । तर ऐनमा कडा व्यवस्था राख्नुले भविष्यमा हुने छल्ने प्रयासलाई निरुत्साहित गर्ने प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण