तीन दशकदेखि अलपत्र खानेपानी योजनाको काम पुनः सुरु
सारांश
- जीतपुर सिमरा उपमहानगरको बकुलियामा खानेपानी योजनाको काम पुनः सुरु भएको छ, जुन ३ दशकदेखि अलपत्र थियो।
- २०५४ सालमा सुरु भएको योजना उपभोक्ता समिति गठनको विवादका कारण रोकिएको थियो, तर अहिले पुनः शिलान्यास गरिएको छ।
- उपमहानगरले २ करोड ५७ लाखको लागतमा पुरानो ट्याङ्की मर्मत, नयाँ पाइपलाइन विस्तार गर्ने जनाएको छ, जसले घरघरमा खानेपानी पुर्याउनेछ।
बारा । जीतपुर सिमरा उपमहानगरको बकुलिया स्थित खानेपानी योजनाको काम तीन दशकपछि पुनः सुरु भएको छ । २०५४ सालमा निर्माण सुरु भएर अलपत्र अवस्थामा रहेको यो योजनाको काम पुनः सुरु भएको हो ।
२७ वर्षअघि तत्कालीन भवानीपुर–जितपुर गाविस हुँदा १० लाख लागतबाट सुरु भएको योजनामा पानी ट्याङ्की, कार्यालय भवन र पम्प हाउस निर्माण भएको थियो ।
तर अन्तिममा पाइप बिछ्याउने र उपभोक्ता समिति गठन विषयमा विवाद हुँदा निर्माण भएका संरचनाहरू अलपत्र अवस्थामा पुगेको तत्कालीन गाविस अध्यक्ष देवनारायण चौधरीले बताएका छन् । ‘२०५४ सालमा १० लाखको लागतमा काम सुरु भएर बहुवर्षिय योजनाअन्तर्गत अधिकांश काम सम्पन्न भएको हो तर, पछि उपभोक्ता समिति गठनमा विवाद भएपछि बाँकी काम हुन सकेन’ तत्कालीन गाविस अध्यक्ष तथा प्रदेश सभा सदस्य चौधरीले भने ‘अहिले वडा र उपमहानगरको पहलमा उपभोक्ता समिति गठन भएर पुनः निर्माणको काम सुरु भएको छ हामी खुसी छौ’
प्रदेश सभा सदस्य समेत रहेका चौधरीले सोमवार सो योजनाको पुनः शिलान्यास गरेका छन् ।
जीतपुर सिमरा उपमहानगरले पालिका भित्र रहेका राजनीतिक दलका नेता तथा कार्यकर्ता र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको रोहवरमा खानेपानी योजनाको पुनः शिलान्यास गरेको हो ।
उपमहानगरले ठेक्का प्रकियामार्फत २ करोड ५७ लाख लागतमा पुरानो ट्याङ्की, खानेपानी कार्यालय भवनको मर्मत तथा नयाँ पाइपलाइन विस्तार गरिने जनाएको छ ।
स्थानीयबासी मिरा पुरीले धेरै वर्षदेखि अलपत्र अवस्थामा रहेको योजना पुनः सुरु हुनु खुसीको कुरा भएको बताइन् । ‘२७ वर्षअघि यहाँ पानीको मूल ठुलो थियो, अहिले सुकेर सानो भइसक्यो, ढिलै भएपनि जनताको घरघरमा स्वास्थ्य खानेपानी पुग्नु खुसीको कुरा हो, हामी धेरै खुसी छौ’ पुरीले भनिन् ‘काम समयमै सम्पन्न होस्, हामीले घरघरमा पानी पाउ भन्ने हाम्रो आशा छ ।’
उपमहानगरका इन्जिनियर सञ्जीव रुपाखेतीले २ करोड ५७ लाख लागतमा खानेपानीको कार्यालय भवन, पम्प घर, जीर्ण पानी ट्याङ्की मर्मतसम्भार र पाइप बिछ्याउने काम गरिने बताए ।

‘यो योजना अन्तर्गत पाइपलाइन विस्तार गरेर उपमहानगरभित्रका हजारौँ नागरिकलाई घरघरमा खानेपानी उपलब्ध गराउने उद्देश्य हो’ इन्जिनियर रुपाखेतीले भने ‘सबैतिर वातावरण बन्यो भने समयभन्दा अगावै योजना सम्पन्न हुन्छ ।’
उपमहानगरले असार मसान्तभित्र योजना सम्पन्न गर्ने जनाएको छ ।
योजना पिआर थापा ब्रोदर्स जेभीले निर्माण ठेक्का सकार गरेको हो । सो ठेक्का कम्पनीका प्रमुख सुरेन्द्र थापाले भइरहेको संरचनालाई मर्मतसम्भार तथा घेराबारा गरेर जनतालाई पिउन योग्य पानी वितरण गर्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण