शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

भारतको स्पष्ट सन्देश : नेपालमा तोकिएकै समयमा चुनाव होस्

बुधबार, २४ मङ्सिर २०८२, १२ : ३५
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले नेपालमा तोकिएको समयमै चुनाव गराउन जोड दिए।
  • उनले प्रधानमन्त्री र गृहमन्त्री लगायतसँगको भेटमा चुनावका लागि भारतको सहयोग रहने प्रतिबद्धता जनाए।
  • महावरले भूकम्पपछिको पुनर्निर्माण र सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ । चारदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्क हेर्ने अतिरिक्त सचिव मुनु महावरले नेपाल सरकारले तोकेकै समयमा चुनाव गराउनुपर्नेमा जोड दिएका छन्। उनले मंगलबार दिनभर गरेको उच्चस्तरीय भेटघाटमा सरकारलाई यही सन्देश दिएका हुन्। 

महावरले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, कानुन, भूमि, उद्योग तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालगायत परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेका छन्।

G7ulAUNbYAAYDat

सबै भेटमा भारतीय अतिरिक्त सचिव महावरले देशले हासिल गरेको परिवर्तनको चर्चा गर्दै जेनजी आन्दोलनपछि नेपालले जुन कठिन अवस्थाको सामना गर्नुपर्‍यो, त्यसलाई सफलतापूर्वक व्यवस्थापन गर्न सकेकोमा खुसी व्यक्त गरेका परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

ती अधिकारीका अनुसार भारतको अर्को महत्त्वपूर्ण चासोको विषय आसन्न चुनाव हो। भारतले समयमा चुनाव सम्पन्न भएको हेर्न चाहेको र त्यसका लागि हर प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता महावरले हरेक भेटमा जनाएका छन्। उनले तोकिएको समयमै नेपालले चुनाव सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नेपाल–भारतबिचको सदियौँदेखिको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशले भूमिका खेल्नुपर्ने धारणा पनि राखेका थिए।

munu mahawar (1)

  • प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट

प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा सचिव महावरले तोकिएको समयमा चुनाव होस् भनी कामना गर्दै भारत सरकार चुनावका लागि हर प्रकारको सहयोग गर्न तयार रहेको दोहोर्‍याए। प्रधानमन्त्री कार्कीले चुनावको तयारी भइरहेको र तोकिएको समयमै चुनाव सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै भारतको सहयोगको प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गरिन्।

munu mahawar (4)

गृहमन्त्री ओमप्रकाश अर्यालसँगको भेटमा सचिव महावरले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाए। भारतले चुनावका लागि सहयोग गर्ने प्रतिबद्धता छिट्टै पूरा गर्ने र थप सहयोगको आवश्यकता परेमा पनि तयार रहेको उनले बताए।

गृहमन्त्री अर्यालले चुनावको तयारी अन्तिम चरणमा रहेको र तोकिएकै समयमा चुनाव गराउन सरकार तयार रहेको जानकारी गराउँदै यसमा भारतको साथ र सहयोगको आवश्यकता रहेको बताए। उनले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन पनि सचिव महावरलाई आग्रह गरे। 

महावरले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए।

munu mahawar (6)

  • अन्य भेटघाट

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा पनि सचिव महावरले चुनावमा भारतले यातायात, सुरक्षा बन्दोबस्तीका सामग्रीसहित अन्य प्राविधिक सहयोग गर्ने र आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको र नेपालले तय गरेका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको धारणा राखेका थिए।

मन्त्री खरेलले सरकार तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष चुनाव गराउन सक्षम रहेको बताउँदै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए। उनले सरकारले चुनावका साथै भ्रष्टाचार नियन्त्रण गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए। मन्त्री खरेलले सो भेटमा नेपाल र भारतबिचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा भारत सरकारले गरिरहेको सहयोगका लागि धन्यवाद व्यक्त गरे।

munu mahawar (2)

अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा विगतमा दुई देशबिच भएका सम्झौता कार्यान्वयनमा चासो व्यक्त भएको थियो। विकास निर्माणमा भारतले गरेको सहयोग तथा प्रतिबद्धताका विषयमा छलफल भएको बताइएको छ। 

munu mahawar (3)

सिँचाइमन्त्री कुलमान घिसिङसँग पनि जलविद्युत्को क्षेत्रमा दुई देशले गरेका सम्झौता तथा भइरहेका कामको बारेमा चर्चा भएको थियो।

आइतबार नेपाल आइपुगेका अतिरिक्त सचिव महावर सोमबार लुम्बिनीमा आयोजित तेस्रो सांस्कृतिक महोत्सवमा सहभागी भएका थिए। उनी आज केही भेटघाट र केही क्षेत्रको अवलोकनपछि भारत फर्किने कार्यक्रम रहेको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप